छक्कापञ्जा-४ को कमाइ १० करोड नाघ्यो, छड्के-२ फ्लप

काठमाडौं । नेपाल फिल्म छक्कापञ्जा–४ को कमाइ १० करोड रुपैयाँ नाघेकोछ । बिहीबारसम्मको कमाई १० करोड रुपैयाँ  नाघेको बुझिएको छ । छक्कापञ्जा–४ ले घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ । हाल १४० हलमा प्रदर्शन भइरहेको फिल्मले राम्रो कमाइ गरिरहेको छ । वितरक कम्पनी ब्यांकटेसले बिहीबारसम्म १० करोड बढी कमाइ गरेको बताएको छ । शुक्रबारको भने कमाइ सार्वजनिक भइसकेको छैन । अझै पनि हलहरुमा यो फिल्म हेर्नेको भीड नै छ । दीपकराज गिरी र दीपाश्री निरौलाको शीर्ष भूमिका रहेको कमेडी तथा पोलिटिकल ड्रामा ‘छक्कापञ्जा ४’लाई हेमराज बीसीले निर्देशन गरेका हुन् । यस्तै, सँगै पदर्शनमा आएको छड्के–२ भने फ्लप भएको छ । यो फिल्मले ३० लाख रुपैयाँ मात्रै कमाएको बुझिएको छ । ‘छड्के २’ बक्स अफिसमा फ्लप भएपछि अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत शुक्रबार वक्तव्य जारी गर्दै दर्शकसँग माफी मागेका छन् । नवौं फिल्मसम्म आइपुग्दा आफू थप परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको भन्दै गल्ती स्वीकारेका छन् । आगामी दशौं फिल्म करिअरको पहिलो फिल्म हुने भन्दै उनले दोस्रो सत्रको सुरुवात अबको फिल्मबाट हुने समेत प्रतिबद्धता जनाएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर लोकप्रिय कमेडि सो मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ । मुन्द्रेको कमेडी क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ । सो कार्यक्रम यहि चैत्र २ गते देखि नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा र युट्युबमा वाेएसआर डिजिटलबाट प्रसारण हुनेछ । हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने यस कार्यक्रमका मुख्य पात्रको रुपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन् भने कलाकारहरु दमन रुपाखेति, राजेन्द्र नेपाली ’लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ । कार्यक्रमको निर्देशन दिनेश डि.सि.ले गर्ने भएका छन् ।  

रित्तिए गाउँ, भरिए बजार

ढोरपाटन । एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन् । अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे । उनीहरूमा बजारमोह त्यत्ति थिएन । बजार साना थिए । अहिलेका जस्ता ठूला-ठूला पक्की घर थिएनन् । बजारमा पनि माटो, ढुङ्गा र काठले बनेका घर बढी थिए । स्थानीय तह बनेसँगै गाउँ-गाउँमा मोटरबाटो पुग्न थाल्यो । साना बजार ठूला सहरमा परिणत हुँदै गए । बागलुङ, गलकोट र बुर्तिबाङलाई मुख्य बजारका रूपमा लिइन्थ्यो । पछिल्लो समय बुर्तिबाङ र गलकोट बजार घरैघरले भरिन थालेको छ । ग्रामीण भेगका बासिन्दा सेवा सुविधा खोज्दै तराइ तथा सहरमा बसाइँसराइ गर्ने चलन ह्वात्तै बढेको छ । अहिले दिनप्रतिदिन गाउँ छाडेर बजार झर्नेको लर्को लाग्न थालेको छ । गाउँको कुना कन्दरासम्म सडक पुगे पनि बजारमोह भने उस्तै छ । निसी, कानाबगर, झिवाखोला, जुग्गाखोला, काठेखोलाको भीमगिठे, खार, खौलारा, न्वारा, काठेखोलाको अक्षते, बरेङको बरेङडाँडा, जैमिनीको कुश्मिेरालागयत ठाउँ बजारमा परिणत हुँदै गएका छन् । गाउँमा विकासले गति लिए पनि सहर जाने क्रम रोकिएको छैन् । गाउँ रित्तिँदै तर बजार भरिँदै गएका तमानखोलाका अध्यक्ष जोकलाल बुढामगरले बताए । ‘अहिले विदेश जाने, पैसा कमाउने र बजार झर्ने लहर चलेको छ,’ उनले भने । तमानखोलाबाट बुर्तिबाङ झर्नेको सङ्ख्या बढी छ । योसँगै पोखरा, काठमाडौं, बुटवललगायत सहर बसाइँसराइ गर्ने अत्यधिक छन् । बसाइँसराइ रोक्न स्थानीयलाई आयआर्जनसँग जोड्नुपर्नेमा बुढामगर बताउँछन् । ‘बसाइँसराइको मुख्य कारण गाउँमा पर्याप्त विकास र सेवासुविधा नहुनु हो, हुनेखाने सब सहर बजार जान थालेका छन्,’ अध्यक्ष बुढामगरले भने । निसीखोलाको झिवाखोला, बडिगाडको खौलारा र गलकोटको हटिया बजार बसाइँसराइ गर्नेको सङ्ख्या बढेको छ । बागलुङमा सबैभन्दा बढी गलकोट बसाइँसराइ रहेका गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी बताउँछन् । उनी भन्छन्, ‘गाउँमा विकास भइरहेकै छ, तर पनि बसाइँसराइ कम भएको छैन् ।’ गाउँमा युवा भेट्टाउनै मुस्किल पर्छ । गाउँका घर जीर्ण बन्दै गएका छन् । घर र खेतीयोग्य जमिन प्रयोग गर्नेको सङ्ख्या घट्दै गएको गलकोट-७ का विष्णु थापाले बताए । बसाइँसराइले गाउँ रित्तिदा उत्पादनमा कमी आएको छ । धान, गहुँ, मकै र सागसब्जी फल्ने बारी बाँझिएका छन् । गाउँ उराठ बन्दै गएका छन् । रासस