निर्मलकुमार थापाको नयाँ कृति ‘एकान्त’ बिमोचन
काठमाडौं । लेखक निर्मलकुमार थापाको नयाँ कृति ‘एकान्त’ बिमोचन भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी थापाको नयाँ कृति बिमोचन गरिएको हो । कलाकार निखिल उप्रेती, साहित्यकार कुमार नगरकोटी र कलाकार घिमिरे युवराजले एकसाथ रुपमा थापाको नयाँ कृति ‘एकान्त’को बिमोचन गरेका थिए । पुस्तकमा १९ वटा कथा संग्रह रहेको छ । लेखकले आफ्नो जीवनयात्रामा ठोक्किएका विषय, दृश्य र र अनुभवलाई गहिरोगरी कथाको रुपमा प्रस्तुत गरेका छन् । लेखकका अनुसार ‘एकान्त एकान्तमा चल्ने घडीले बताएको समय हो ।’ ‘एकान्त खासमा एउटा अन्त हो ।’
फागुन १९ मा ‘छक्का पञ्जा ४’ प्रदर्शन हुने
काठमाडौं । छक्का पञ्जा ४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिए । चलचित्रले समसामयिक विषयवस्तु नै उठान गरेको उनको भनाइ छ । ‘चलचित्र छायाङ्कनको बाँकी काम पूरा गर्दैछौँ’, उनले भने । हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्यलगायतको अभिनय हुनेछ । चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् । ‘वितरकसँगको सल्लाहमा प्रदर्शन मिति तय गरेका हौँ । यसअघि ‘सिरिज’ जस्तै गरी दर्शकको माया पाउनेमा विश्वस्त छौँ’, कार्यकारी निर्माता शर्माले भने ।
राजेशबाबु श्रेष्ठको नेतृत्वमा नेपाल शारीरिक सुगठन तथा फिट्नेश महासंघको तदर्थ समिति गठन
काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिट्नेश महासंघको तदर्थ समिति गठन भएको छ ।राजेशबाबु श्रेष्ठको नेतृत्वमा तदर्थ समिति गठन भएको हो । मनकामना केबलकारसँगै चितवन कोइ कन्स्ट्रक्सनमा आवद्ध श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन् । राष्ट्रिय खेलकुद परिषदले नेपलिज फेडेरेशन अफः विडविल्डिङ एण्ड फिटनेस संघको दर्ता खारेज गरी नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघको तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा नारायण प्रधान, दिनेश कुमार राजभण्डारी, दिनेश अमात्य, बिजय लाल कायस्थ, रण बहादुर थेबे नियुक्त भएका छन् भने महासचिवमा अजय बज्राचार्य, सचिव राजन श्रेष्ठ, कोषाध्यक्षमा राजेश उपाध्याय नियुक्त भएका छन् । यस्तै, सदस्यमा रुपेन्द्र गुरुङ्ग, पवन डंगोल, दिनेश श्रेष्ठ, चन्द्र बहादुर मगर, नविन मान उदास, रेणुका श्रेष्ठ, भारती घले, बाबुकाजी मानन्धर, सितु प्रसाद श्रेष्ठ, रत्न लाल मानन्धर, नरेश मल्ल, निर्मला मर्हजन, केशव नागा, रोशन मर्हजन, बलराम सुवेदी, वकिलमान उदास, सुजन लामा र विनिता राई चुनिएका छन् ।