सकियो यस वर्षको किम्फ
काठमाडौं । यही मङ्सिर २२ गतेदेखि काठमाडौंमा सञ्चालन भइरहेको काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) सोमबार सम्पन्न भएको छ । हिमाल एशोसिएशनको आयोजना र काठमाडौँ महानगरपालिकाको सहआयोजनामा भएको महोत्सवको बीसौँ संस्करणमा यसपटक ३० मुलुकका ६० फिल्म ‘स्क्रिनिङ’ भए ।पर्वत, पर्वतीय संस्कृति, वातावरण र मानवअधिकारको कथावस्तुमा बनेका फिल्म प्रदर्शन गरिएको किम्फको यसपटकको नारा ‘दिगो आरोहण’ थियो । महोत्सवमा क्यानडा र अमेरिकाका दुई फिल्म सर्वोत्कृष्ट भए । अन्तर्राष्ट्रिय खण्डतर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी: अ फादर्स ड्रिम’ले स्पेसल मेन्सन अवार्ड प्राप्त गरे । मौले प्लान्टी हुसारुक र म्याक्सिम लाकोस्टे लेबियस निर्देशित ‘बियोन्ड र पास्चरल्यान्ड’ले ललिता नामक पात्रको माध्यमबाट मालिकोट गाउँका बासिन्दा यार्सागुम्बा टिप्न अग्ला पहाडमा उक्लने कथालाई पूर्वाग्रहरहित ढङ्गले पेश गर्छ । अमेरिकी निर्देशक सीन ओ कनर निर्देशित ‘कुमारी अ फादर्स ड्रिम’ले पथप्रदर्शक जगत लामा र अन्यले भूकम्पले भत्काएको बस्तीलाई अझै सशक्त र बलियो बनाउन गरेको प्रयत्नको कथा भन्छ । अन्तर्राष्ट्रिय खण्डतर्फ बेलायती निर्देशित ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेण्ड समिट’ फस्ट च्वाइस, स्वीट्जरल्याण्डका निर्देशकद्धय लिजा रोसिल र क्यारेलिन फ्लिङ्क निर्देशित ‘सोफी लाभौड : लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए । नेपाल पानोरमा खण्डतर्फ सूर्य शाही निर्देशित ‘ह्विल्स अन द बस’ सर्वोत्कृष्ट फिक्सन घोषित भयो । अनिल बुढामगर निर्देशित ‘द आइरन डिगर’ सर्वोत्कृष्ट डकुमेन्ट्री घोषित भयो । नेपाल पानोरमातर्फ इङ्गी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिङ्की श्रीश रानाको ‘हजुर’ले संयुक्तरूपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरे । यसपटकको किम्फमा विद्या चापागाईँ र कमलकुमारको फिल्म ‘हेर्ने कथा’ शृङ्खलाअन्तर्गतको फिल्म ‘बाघको बङ्गारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त गर्न सफल रह्यो । महोत्सवमा यस वर्ष माइकल पज, जिन्ना ली र किरणभक्त जोशी निर्णायकको भूमिका निर्वाह गरेका थिए । पाँच दिनसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चलेको महोत्सवको अन्तिम फिल्म अष्ट्रेलियाली निर्देशक जोय कार्टरको ‘फलाइ फ्रम एभरेष्ट’ बन्यो । रासस
फिफा विश्वकप फुटबल : सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् । यी दुई टोली यसअघि फिफा विश्वकपमा दुईपटक आमनेसामने भएका छन् । सन् १९९८ मा अर्जेन्टिनाले १–० को जित हासिल गरेको थियो । त्यस्तै सन् २०१८ मा भएको विश्वकपको समूह चरणको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० गोलअन्तरले हराएको थियो । क्रोएसियाले हालसम्म दुईपटक विश्वकपको सेमिफाइनल यात्रामा प्रतिस्पर्धा गरेको थियो । सन् १९९८ मा फ्रान्ससँग पराजित भएको क्रोएसियाले सन् २०१८ मा भने इङ्ग्ल्याण्ड्सलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । यता अर्जेन्टिनाले भने हालसम्म सेमिफाइनलमा हार व्यहोरेको छैन । सन् १९३० मा अमेरिका, १९८६ मा बेल्जियम, १९९० मा इटाली र २०१४ मा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको इतिहास छ ।
फ्रान्स विश्वकपको सेमिफाइनलमा
काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २(१ गोल अन्तरले पराजित गर्यो । खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो । फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ । रासस