झापामा हतियार प्रहार गरी श्रीमतीको हत्या
फाइल फाेटाे झापा । झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
नवौँ राष्ट्रिय खेलको लागि ६० करोड बजेट
काठमाडौं । सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि ६० करोड बजेट छुट्याएको छ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि ६० करोड छुट्याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले बताए । उनले उक्त रकम तीन पटक गरेर लिनेसमेत जानकारी दिए । पहिलो चरणमा १० करोड, दोस्रो चरणमा २३ करोड र तेस्रो चरणमा २७ करोड लिने बताए । सरकारले पहिलो चरणको लागि १० करोड रकम भने विनियोजन गरिसकेको छ । उक्त रकम विभिन्न प्रदेशमा प्रतियोगिताको तयारीको लागि पठाइसकेको सदस्य सचिव घिसिङले जानकारी दिए । राखेपले उक्त प्रतियोगिताको काउन्टडाउनसमेत सुरु गरिसकेको छ । अब उक्त प्रतियोगिता सञ्चालन हुन ५० दिन बाँकी छ । प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गरिएको छ भने ११ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा तीन सय ९३ स्वर्ण तीन सय ९३ रजत र छ सय कास्य पदकको लागि प्रतिस्पर्धा हुनेछ । उक्त प्रतियोगिताको खेलस्थल भने यही भदौ १५ गतेसम्म टुङ्गो लाग्ने राखेप सदस्य सचिव घिसिङले बताए ।
तीजको दर खाएर बिरामी परेपछि…
फाइल फोटो गोरखा । गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका-७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् । वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् । ‘कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तिजको दर खाएका थिए । सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्,’ उनले भने, ‘बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।’ स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको श्रेष्ठले बताए । बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उनले बताए । बिरामी परेकाहरू अहिले विस्तारै निको हुँदै गएका छन् । केहीलाई अझै घरमै स्लाइनपानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिए । बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको उनले बताए । बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ । ‘केही आफैँ गोरखा अस्पताल पुगेर उपचार गराइरहेका छन्,’ उनले भने ।