हात्तीको आक्रमणबाट ५३ जनाको मृत्यु

झापा । यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच गरी जम्मा ५३ जनाको मृत्यु भएको छ भने १५ हात्तीको मृत्युु भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख जीवन पाठकले जानकारी दिएका छन्। आर्थिक वर्ष २०७८/७९ मा मात्र छ जनाको हात्तीको आक्रमणबाट मृत्युभएको छ । अर्जुनधारामा एउटा र बुद्धशान्तिमा दुई हात्ती मृत भेटिएको पाठकले जानकारी दिए । आठ व्यक्ति हात्तीको आक्रमणबाट घाइते भएका छन् । वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ को दोस्रो संशोधन २०७० का अनुसार कुनै व्यक्तिलाई सामुदायिक वन, डिभिजन वनका कर्मचारीबाहेक अन्य सर्वसाधारण व्यक्तिलाई जङ्गलको क्षेत्रभन्दा बाहिर हात्तीले आक्रमण गरी मारेमा १० लाख रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था रहेको छ । घाइतेको हकमा सम्पूर्ण खर्च सरकारले बेहेर्ने व्यवस्था रहेको छ । घर भत्काएको, बालीनाली क्षति र भण्डारण अन्नमा क्षति पु¥याएमा १० हजार देखि रु ३० हजार रुपैयाँ सम्मको क्षतिपूर्ति पाउने व्यवस्था ऐनले गरेको छ तर सो क्षतिपूर्ति पाउनका लागि घटना भएको ३५ दिनभित्रमा निवेदन दिइसक्नुपर्ने व्यवस्था रहेको छ । यसै आव २०७८/७९ मा मात्रै छ जना मृतकका परिवारसहित चारसय ८५ जनालाई एक करोड १० लाख ७२ हजार एकसय ९३ रुपैयाँ क्षतिपूर्ति दिइएको पाठक बताउँछन्। यस आर्थिक वर्षमा ३७७ निवेदन परेका र ती निवेदन कार्यान्वयनको प्रक्रियामा रहेको उनले बताए। हात्तीपीडित मेचिनगर–१ बाहुनडाँगीका केशव न्यौपानेले क्षतिपूर्तिका लागि कानुनी व्यवस्था अलिक झन्झटिलो र ढिलो भएको गुनासो गरे । जङ्गली हात्तीकै कारण झापाका मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, बिर्तामोड ,भद्रपुर, कचनकवल, कमल र हल्दिबारीमा बर्सेनि लगाएको बाली भित्र्याउन पाउँदैनन् । धानको सिजनमा धान, मकैको सिजनमा मकै, गहुँलगायत बाली थन्क्याउने बेलामा हात्तीसहित अन्य जङ्गली जनावरले खाएर सखाप बनाउने गरेको हल्दिवारी–३ का यामलाल अधिकारीले बताए। सरकारले भारतबाट आउने जङ्गली हात्तीको नियन्त्रणका लागि बर्सेनि करोडौँ रुपैयाँ खर्चिए पनि समस्या दिनप्रतिदिन उस्तै रहेको छ । रासस

सामाजिक सञ्जालको सही प्रयोग गर्न नजान्दा साइबर शिकार हुने खतरा बढ्दै

काठमाडौं । केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्याे । पीडित महिलाले आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै उजुरी दर्ता गरेको थिइन् । सामाजिक सञ्जाल फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आयो । चिनजान नभएको व्यक्तिले पठाएको उक्त रिक्वेस्टलाई महिलाले सहजै स्वीकार गरिन् । उनीहरु फेसबुकमा साथी बने । कुरा हुँदै गएपछि उनीहरु नजिकिँदै गए । सबै कुराहरु एकअर्कालाई शेयर गर्न थाले । उनीहरु यतिसम्म नजिक भए कि आफ्नो निजी तस्बिर एकअर्कालाई पठाउनेसम्म गर्न थाले । योजनाबद्धरुपमा साथी बनेका ती युवकले महिलाको हरेक गतिविधिको ‘स्क्रिन रेकर्ड’ र ‘स्क्रिन सर्ट’ लिएर राखे । केही समयपछि युवकले ती महिलालाई उक्त सबै गतिविधिको आफूसँग रेकर्ड भएको र पैसा नदिए सामाजिक सञ्जालमा हालिदिने बताउँदै धम्काउन थाले । कहिले आफैँले धम्काउने गरे भने कहिले साथीबाट ती महिलालाई भिडियो पठाउँदै धम्काउन थाले । अश्लिल भिडिओको आडमा ती युवकले पीडित महिलालाई बारम्बर मानसिक यातना दिन थाले । यति गर्दासमेत आर्थिक लाभ लिन नसकेपछि अश्लिल भिडिओ महिलाका आफन्तलाई पठाएर यातनालाई पुनः निरन्तरता दिन थाले । उक्त घटनापछि पीडित महिलाले दिएको उजुरीमार्फत गत साउन २४ गते साइबर ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने २४ वर्षीय अमन राजथला पक्राउ ग¥यो । प्रहरीले उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा मुद्दा दायर गरेको छ । त्यस्तै गत भदौ १९ गते नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी तथा अपमान गर्ने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकुका २९ वर्षीय मोहन कुँवरलाई पक्राउ ग¥यो । नक्कली ‘फेक अकाउन्ट’ बनाएर ‘लाइभ स्ट्रिमिङ’मार्फत आपत्तिजनक अश्लिलता प्रदर्शन गरी महिलालाई मानसिक तनाव, दुःख र हैरानी दिएको आरोप उनी पक्राउ परेका हुन् । उनीलाई पनि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरीले मुद्दा चलाएको छ । माथिको उक्त घटना प्रतिनिधि पात्र मात्रै हुन् । सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी महिला र पुरुषमाथि हिंसा हुने क्रम भने रोकिएको छैन, झनै बढ्दै भएको छ । सामाजिक सञ्जालमार्फत गाली गर्ने, अश्लिलता प्रदर्शन गर्ने, ‘बेवसाइट ह्याक’ गर्ने, अनाधिकृतरुपमा नग्न तस्बिर पठाउने, विभिन्न प्रलोभनमा पारेर ‘ब्ल्याक मेल’ गर्ने गरेको जनाउँदै अहिले साइबर ब्यूरोमा उजुरी पर्ने सङ्ख्या बढ्दै गएको छ । फेसबुक, म्यासेन्जर, भाइबर, आइएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट साइबर अपराध बढेको ब्यूरोको तथ्याङ्कले देखाएको छ । साइबर ब्यूरोको तीन आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने साइबर अपराधमा चिन्ताजनक तस्बिर सामुन्ने आउँछ । आर्थिक वर्ष २०७८/७९ मा मात्रै साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा चार हजार छ सय ८६ उजुरी दर्ता भएका थिए । तीमध्ये सबैभन्दा बढी फेसबुक र म्यासेन्जरमार्फत पीडित बनेकाको छ । यो समस्या पीडित भएकाको सङ्ख्या तीन हजार नौ सय ५६ रहेको जानकारी साइबर ब्यूरोले उपलब्ध गराएको छ । यी दुईपछि सबैभन्दा बढी उजुरी टिकटकबाट पीडित हुनेले दिएका छन् । यसमा उजुरी दिने तीन सय सात छन् । यसैगरी बैंक तथा वित्तीय संस्थासँग सम्बद्ध उजुरीको सङ्ख्या एक सय २७ रहेको छ । गत आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या चार हजार छ सय ८६ रहेको तथ्याङ्क प्राप्त भएको छ । यसैगरी आव २०७७/७८ मा फेसबुक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको सङ्ख्या तीन हजार चार सय ५१ रहेको छ । त्यस्तै टिकटकमा ७०, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या ९६ रहेको छ । उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या तीन हजार नौ सय छ पुगेको देखियो । आव २०७६/७७ मा भने फेसबुक र म्यासेन्जरबाट पीडित भएर उजुरी दिनेको सङ्ख्या दुई हजार दुई सय ५० रहेको छ । त्यस्तै टिकटकमा चार, बैंक तथा वित्तीय संस्था सम्बद्ध उजुरी दिनेको सङ्ख्या १५ रहेको छ । उक्त आवमा सामाजिक सञ्जालबाट पीडित भएकाको सङ्ख्या दुई हजार तीन सय एक पुगेको साइबर ब्यूरोबाट उपलब्ध तथ्याङ्कले देखाएको छ । सामाजिक सञ्जालका विभिन्न माध्यमबाट पीडित भएको भन्दै उजुरी परेको आधारमा सो कार्यालयले तीन आवमा दुई सय ५८ मुद्दा दर्ता गरेको छ । फेसबुक, म्यासेन्जर, भाइबर, आइएमओ, टिकटकलगायतका थुप्रै सामाजिक सञ्जालका माध्यमबाट पीडित बनेको भन्दै प्रहरीमा परेको उजुरीको आधारमा साइबर ब्यूरोले आव २०७८/७९ मा एक सय ३२ मुद्दा दर्ता गरेको थियो । त्यस्तै आव २०७७/७८ मा ७६ र २०७६/७७ मा ५० वटा मुद्दा ब्यूरोले जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको हो । उक्त तीन आवमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ परेर मुद्दा चलाएको एक सय ८४ पुरुष र १६ जना महिला गरी दुई सय रहेका छन् । जसमा क्रमशः आव २०७८/७९ मा ९७ पुरुष र १५ महिला, आव २०७७/७८ मा ५० पुरुष र आर्थिक वर्ष २०७६/७७ मा ३७ पुरुष र एक महिला पक्राउ गरेका थिए । यसरी तुलनात्मकरुपमा बढेको विद्युतीय अपराधको विषयमा नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी पशुपतिकुमार रायले नागरिकमा साइबर अपराधसम्बन्धी चेतनाको स्तर बढ्दै भएकाले पनि उजुरी पर्नेको क्रम बढेको हो भने । उनका अनुसार–अहिले डिजिटल माध्यमको पहुँच हरेक नागरिकसम्म पुगेकाले अपराधको तथ्याङ्क पनि बढेको देखिन्छ । समयअनुसार हरेक नागरिक सामाजिक सञ्जालको पहुँचसँग ९फेसबुक, म्यासेन्जर, टिकटक, भाइबर आदि जोडिँदै गएका छन् । यसरी उक्त माध्यमबाट पीडित बन्नेको सङ्ख्यामा पनि वृद्धि भएको हो । उनले सामाजिक सञ्जालका विभिन्न माध्यमको दुरुपयोग गरी आर्थिक लाभ लिने मनसाय राखेर पनि अपराध गर्ने गरेको जानकारी दिए। सूचना अधिकारी रायले भने ‘ अपराधबाट बच्नका लागि नागरिक आफैँ सचेत र चनाखो हुनुपर्छ ।’ रासस ।

शौच गराउँदा एक किलो सुन निस्किएपछि…

फाइल फाेटाे । काठमाडौं । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यस्त थियो । यात्रुहरुको आवागन बढ्दै थियो । भरिभराउ विमानस्थलमा आवतजावत गर्ने यात्रुहरूकाे भीड बाक्लाे थियाे । प्रहरीहरु चेकिङमा व्यस्त थिए । सोही समयमा दुबईको उडानबाट नेपाल आएका भारतीय नागरिक पनि प्रहरीको चेकिङ मेसिनमा परे । उनी भारतीय राहदानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षका राहुल रेमानान थिए । उनी फ्लाई दुबईको उडानबाट दुबईबाट काठमाडौं आएका थिए । विमानस्थलको आगमन कक्षको एक्सरे मेसिनमा चेकजाँच गर्दा उनको पेट शंकास्पद देखियो । प्रहरीले उनलाई छेउमा लिएर थप चेकजाँच गर्यो । प्रहरीलाई उनको पेट अस्भाविक लाग्यो । अझै बढी शंका उत्पन्न भएपछि प्रहरीले काठमाडौं मेडिकल कलेजमा लगेर उनको एक्सरे गरायो । एक्सरे गर्दा पेटमा ठोस पदार्थ रहेको भेटिएपछि प्रहरी बृत्त गौशालामा लगेर शौच गराउँदा मलद्वारबाट बेलनाकार देखिने अर्धठोस सुनको ४ वटा डल्ला फेला परेको प्रहरीले जनाएको छ । एक्सरेमा केही वस्तु देखिएपछि प्रहरीले गौशालामा लगेर शौच गराउँदा मलद्वाराबाट बेलनाकारको सुनको चार वटा पोका फेला परेको प्रहरीले जनाएको छ । उनको विषयमा थप अनुसन्धान भइरहेको छ । पछिल्लो समय सुन तस्करी गरेर भित्र्याउनेहरुको संख्या बढेको छ । सुन तस्करीको आशंकामा विदेशबाट फर्किएका यात्रुहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने चेक जाँचमा कडाइ पनि गरिँदै आएको छ । पछिल्लो समय विदेशबाट विभिन्न तरिका अपनाएर नेपालमा सुन तस्करी पनि बढ्दै गएको देखिन्छ । तर, अधिकांश घटनामा प्रहरी र भन्सार विभागले सफलता पनि पाउने गरेको छ । केही महिना अगाडि एक जनाले लगाउने कपडाको बटममा सुन लुकाएर ल्याएको भेटिएको थियो ।