निषेधाज्ञामा मनोरञ्जन क्षेत्रमा काम गर्ने मारमा, डेढ महिनामै २५ जनाले गरे आत्महत्या
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन सरकारले गरेको निषेधाज्ञाका कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू आर्थिक समस्यामा परेको पाइएको छ । मनोरञ्जन क्षेत्र (होटेल/रेष्टुरेन्ट/क्लब/दोहोरी साँझ लगायत)मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा कारोना महामारीको दोस्रो चरणमा उक्त क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक समस्या भएको पाइएको हो । उक्त संस्थाको तथ्याङ्कानुसार निषेधाज्ञामा २५ श्रमिकले रोजगारी गुमाएर खाने, बस्ने, स्वास्थ्य तथा मानसिक समस्याका कारण आत्महत्या गरेको उल्लेख छ । यस क्षेत्रमा आठ लाखले रोजगारी गर्छन् । कोरोनाको पहिलो चरणदेखि नै यस क्षेत्रको व्यवसाय प्रायः ठप्प छ । साथै यसमा संलग्न सबै रोजगारी पनि बन्द भएका छन् । विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले एक व्यक्तिको रोजगारीले कम्तीमा पाँच जनाको परिवार चलेको हुनाले करिब दुई वर्षदेखि नै रोजगारीको अवस्था नाजुक भएको कारण पछिल्लो डेढ महिनाको निषेधाज्ञाको अवधिमा २५ जना श्रमिकले आत्महत्या गरेको बताए । गत वर्ष कोरोना महामारीमा रोजगारी गुम्दा मनोरञ्जन क्षेत्रका २९९ जनाले आत्महत्या गरेका थिए । विश्वास नेपालले ‘हाम्रो सम्मान’ परियोजनाअन्तर्गत यस क्षेत्रका श्रमिकका हक, अधिकार, काम कर्तव्यका बारेमा जानकारी दिनुका साथै समस्यामा परेका श्रमिकलाई विविध सहयोग गर्दै आएको छ । कार्यक्रममा परियोजना संयोजक विवेक शर्माले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकलाई समाजले हेर्ने दृष्टिकोण, उनीहरुको समस्या, श्रम ऐनले गरेका व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गरे । उनले यस क्षेत्रमा रोजगारी गुमाउँदा श्रमिकले बस्ने कोठाबाट निकालिनुपर्ने, खाद्यान्न अभावलगायतका समस्याले मानसिक समस्या झेलिरहेको बताए । त्यसैगरी संस्थाका पैरवीकर्ता रसना ढकालले जुनसुकै क्षेत्रको रोजगारी आफैँमा राम्रो हुने भए पनि मनोरञ्जनको क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण राम्रो नभएकाले यस क्षेत्रमा काम गर्ने श्रमिकले आत्मसम्मान गुमाएर काम गर्नुपर्ने बताए । रोजगारी, व्यवसायमा स्वस्थ प्रतिस्पर्धा, श्रमिकको हक अधिकार तथा जिम्मेवारीपूर्ण सेवा प्रवद्र्धनका लागि सञ्चार क्षेत्र, नियम कानुनको कार्यान्वयनका लागि सहकार्य हुनुपर्ने उनको भनाइ थियो । विश्वास नेपालले यस क्षेत्रमा काम गर्ने श्रमिकले हाल रोजगारी गुम्दा मनोसामाजिक समस्या, आर्थिक अभावका कारण पारिवारिक कलहजस्ता समस्याले आत्महत्याको बाटो रोज्ने गरेको पाइएको बताएको छ । संस्थाले श्रमिकहरुलाई मनोसामाजिक परामर्श, खाद्यान्नलगायतका सहयोग उपब्ध गराउँदै आएको छ भने आर्थिक उपार्जनको वैकल्पिक स्रोतका लागि क्रिष्टलका माला, झुम्का, चुरा, पोते बनाउनेलगायतका सामग्री बनाउने तालिम प्रदान गर्दै आएको छ । रासस
बैंकर केटोकाे त्याे रात
हेर्दा हेर्दै छोरो जागिर खाने भैसकेछ । बा-आमा दंग थिए । छोराले स्नातक सकाउने बितिक्कै बैंकमा नाम निकालेको थियो । पढाइमा ठीकठाक, बोल्नमा ठिक्क पार्ने, घरमा खाना खान पनि दस चोटी बोलाउनुपर्ने, मोबाइलमा चौबिसै घण्टा घोप्टि रहने, बिहान ८/९ नबजेसम्म नउठ्ने, खाएको थाल सम्म पर नसार्ने, लुगा धुने कुरै भएन, छोराको चाला र लेदरको छाला उस्तै चाम्रो । बा-आमालाई लाग्यो, छोरो अब आफ्नै खुट्टामा उभिने भयो, जिम्मेवारीको भारी हलुका हुने भयो । छोरा झोला झिम्टो बोकेर जागिर खान हिंड्यो। भोलि अफिसको पहिलो दिन थियो । रातभरी राम्रोसँग निन्द्रै परेन, छटपटी भयो उसलाई । राती राम्रोसँग नसुतेर पनि आज भने पाँच नबज्दै उठ्यो, फ्रेस भयो । ९ बजे बल्ल उठ्ने मान्छेले ९ बजे सम्म खाना बनाएर, खाईवरी भाडा मस्काएर भित्तामा झुण्ड्याएको ऐना दश चोटीसम्म हेर्नस भ्याईसकेको थियो । खुट्टामा कालो जुत्ता, चट्ट परेको ड्रेस, निलो कोट, ओहो केटो आफैंलाई हेरेर दङ्ग पर्थ्यो । दिन बित्दै गए , बिहान ९ बजे हिंडेको मान्छे बेलुका कति खेर कोठामा आइपुग्ने हो थाहै हुन्थेन । जागिर खाएको एक महिना पुगिसकेछ । पलंगमा गर्लम्म ढल्यो । सोच्यो ओहो ! जागिर त गार्हो पो हुँदो रहेछ । घडीको सुइले बेलुकाको ९ बजाई सकेको थियो । भोक लागे पनि खाना पकाएर खान अल्छि लागेको थियो । दुई दिन अगाडि किनेको ब्रेड चपायो, भुसुक्कै निदायो । अफिसमा हाकिमको आदेश, महिनै पिच्छे आउने टार्गेट, दिउँसै अँध्यारो देख्थ्यो कहिलेकाहीँ । दिन बित्त्दै गए । घरको याद आउँदै गयो । आमाको याद आयो । आमाको हातको खानाको याद आयो । दश चोटी बोलाउँदा पनि खान नजाँदा आमाले कराएको याद आयो ।ओइ केटा ! बानी सुधार, यस्तै हो भने दुख पाउँछस्, बाले कराएको याद आयो । दिनभरी गाउँ डुलेको, रातभरी मोबाइलमा भुलेको याद आयो । आँसुले सिरानी भिजेछ । दिनभरीको थकान र तनावले सोच्दा सोच्दै कुन बेला निदाएछ, थाहै पाएन । झुल लगाउन बिर्सेछ, आधा भोको पेट सुतेको उसलाई लामखुट्टेले भने भरी पेट हुने गरी टोकेछ। दोस्रो दिन बिहानै उठ्यो , रिङ्गटा लागे जस्तो भयो । टाउको दुखे जस्तो, ओइलिएको फूल जस्तो, एक दिन दुई दिन हप्ताभरी यस्तै भयो । ज्यान बिसन्चो भयो। घर जान मन लाग्यो उसलाई । यता अफिसलाई असार लाग्न सुरु भैसकेको थियो । बिदा पाइने कुरै भएन । बल्ल बल्ल बिरामी नै भनेपछि बिदा मिल्यो चार दिनको लागि । जान एक दिन आउन एक दिन घर मा बस्ने हिसाब गर्दा जम्मा जम्मी ढाई दिन हुने भयो । तैपनि केटो खुशी थियो, दिनभरी काम गर्यो । आज ५ बजे नै अफिसबाट निस्क्यो । झोला बोक्यो । रात्री बस समात्यो । कानमा एअरफोन लगायो । अनि, गीत बजायो-‘उकाली ओराली गर्दै आँखा भरी रहर भर्दै आंधी भेरीसंगै लड्दै खोला नदि सागर तर्दै दुख: पिडा बिर्सदै म आएँ परदेश बाट म आएँ आफ्नै गाउ फर्की आएँ ।’ उसलाई परदेशबाट फर्किए जस्तो, जिन्दगीमा कहिले नभएको अलग्गै किसिमको महशुस, मनमा छटपटी, भोक लागे पनि भोक हराए जस्तो, हिजो सम्मको बिसन्चो ठिक भए जस्तो लागि रहेको थियो । घर पुग्यो । आमाको हातको खाना खायो । रिंगटा लागेको, सन्चो नभएको चैट भयो। उसले बुझ्यो त्यो बिरामी कम भोक रहेछ, शाेक ज्यादा रहेछ । स्कूलमा कहिले नपढेको कुरा पढ्दै थियो । फेसबुकमा कहिले नदेखेको कुरा बल्ल देख्दै थियो। उसले बुझ्दै थियो स्कुलमा जोड घटाउ गरेर हिसाब मिलाए जस्तो सजिलो रहेनछ जिन्दगीको हिसाब किताब मिलाउन । उसले बुझ्दै थियो फेसबुकको भित्तामा सुन्दर तस्बिर टाँसे जस्तो रहेनछ जिन्दगीको भित्ता सुन्दर बनाउन । उसले बल्ल बुझ्दै थियो भोक, शाेक, रोग, र जिन्दगी के हो भनेर ।
विश्वकप फुटबल छनोट: नेपाल जोर्डनसँग पराजित, बिहीबार अस्ट्रेलियासँग खेल्दै
काठमाडाैं । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एशिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । गए राति भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलअन्तरले पराजित भएको हो । नेपाली खेलाडीमाथि शुरुआतदेखि नै जोर्डनको टोली हावी भएको थियो । जोर्डनले पहिलो हाफमा एक गोल तथा दोस्रो हाफमा दुई गोल गर्न पुग्यो । जोर्डनका लागि बहा फैजलले दुई तथा यजान अल अरबीले एक गोल गरे । जितसँगै जोर्डन समूह बीको दोस्रो स्थानमा उक्लिएको छ । उसको १३ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको कुवेतको १० अङ्क छ । कुवेत सिटी रङ्गशालामा जोर्डनले खेलको १६औँ मिनेटमा गोलको अवसर पाएको थियो । यस्तै खेलको २३औँ मिनेटमा रोहित चन्दले डी बक्समा फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । जोर्डनका बाहा फैजल सेइफले पेनाल्टीमार्फत गोल गरे । नेपाली टिममा युवा खेलाडीको बाहुल्य रहेको थियो । इराक र चाइनिज ताइपेईविरुद्धको खेलमा बेञ्चमै रहेका विकास खवास जोर्डनविरुद्धको शुरुवाती ११ खेलाडीमै परेका थिए । खेलको २९औँ मिनेटमा घाइते भएपछि उनी मैदानबाट बाहिरिए । उहाँको स्थानमा सुनिल बल मैदान प्रवेश गरे । कुवेतमा खेल सञ्चालन हुँदा अधिकतम तापक्रम ४० डिग्री सेल्सीयसभन्दा बढी रहेको थियो । दोस्रो हाफमा जोर्डनले खेलको ४८औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनायो । खेलको ५८औँ मिनेटमा मनीष डाँगीले मौका पाए पनि गोल गर्न सक्नुभएन । खेलको ६७औँ मिनेटमा अल अरबीले गोल गर्दै नेपाललाई ३–० ले पछि पारे । नेपालले अब बिहीबार अस्ट्रेलियासँग खेल्नेछ ।