दिव्य सेवा निकेतन र आशिर्वाद सेवा समाज नेपाललाई आरएमडीसीको सहयोग
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले दिव्य सेवा निकेतनलाई सहयोग गरेको छ । संस्थाले आज (फागुन १६ गते) आईतवारका दिन काठमाडौंको गोल्फुटार स्थित असहाय बृद्वा आमाहरुलाई आश्रय दिएको दिव्य सेवा निकेतनलाई खाद्यान्न सामाग्री, लत्ता कपडा तथा नगद सहयोग प्रदान गरेको हो । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले दिव्य सेवा निकेतनकी संथापक प्रविण दीदीलाई ७० हजार रुपैयाँ बराबरको खाद्य सामाग्री तथा लत्ता कपडा र उक्त संस्थाको नाममा ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा आरएमडीसीका वरिष्ठ प्रवन्धक अन्नपूर्ण श्रेष्ठ, प्रवन्धक ज्ञानु माया भण्डारी र उक्त संस्थाका सचिव दिपक प्रसाद शर्मा लगायत सोही संस्थाका बृद्वा आमाहरुको उपस्थिति रहेको थियो । त्यस्तै, सोहि दिन संस्थाले काठमाडौंको बुढानिलकण्ठ स्थित असहाय वृद्वा आमा तथा वृद्ध बुवाहरुलाई आश्रय दिएको आशिर्वाद सेवा समाज नेपाललाई पनि संस्थागत सामाजिक उत्तरदायित्व कोष अन्तर्गत खाद्यान्न सामाग्री, लत्ता कपडा तथा नगद रकम सहयोग प्रदान गरेको छ । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले आशिर्वाद सेवा समाज नेपालकी अध्यक्ष लिला गुरुङ्गलाई २० हजार रुपैयाँ बराबरको खाद्य सामाग्री तथा लत्ता कपडा र उक्त संस्थाको नाममा १० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । यो संस्था नेपालका लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाहरुलाई थोक कर्जा प्रदान गर्नुको साथै संस्थागत क्षमता विकासको लागि आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । यस संस्थाले साझेदार संस्थाहरु मार्फत पिछडिएका वर्गका महिलाहरुलाई केन्द्रित गरी लघुवित्त क्षेत्रको प्रवद्र्धन तथा विकासका लागि संस्थागत आधारशिला निर्माण तथा जनशक्ति विकासमा विशेष योजना पुर्याउँदै आईरहेकोे छ ।
फागुन १८ गतेदेखि ‘अर्को अर्थ नलागेमा’ मण्डला थिएटरमा
काठमाडौं । यही फागुन १८ गतेदेखि नाटक ‘अर्को अर्थ नलागेमा’ मण्डला नाटक घरमा मञ्चन हुने भएको छ । नाटक यही फागुन १८ गते, मंगलबारदेखि चैत ७ गतेसम्म मञ्चन हुने भएकाे हाे । उक्त नाटक हरेक शनिबार कान्तिपुर पत्रिकामा छापिँदै आएका लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्को अर्थ नलागेमा’का स्तम्भमध्ये १० र ११ वटा स्तम्भहरुलाई जोडेर रुपान्तरण गरिएको नाटकका एक निर्देशक नवीनचन्द्र अर्यालले जानकारी बताए । अर्यालको अनुसार नाटक आफुसहित थप ९ जना नयाँ युवन निर्देशक निता राई, सुरज तमू, चन्द्र नेपाली, राज न्यौपाने, जयराम ढकाल, अकिल बजगाईं, आर्जेश रेग्मी, सञ्जीप योगी, निशांश पोखरेलले निर्दशन गरेका हुन् । नाटकको संयोजना तथा परिकल्पना लामो समयदेखि रंगकर्म क्षेत्रमा लागेका सुनिल पोख्रेलले गरेका हुन् । नाटकमा संगीत सापकोटा, सब्बु गुरुङ, देविशा लामिछाने, उत्तमराज पाण्डेय, आनन्द महत, मौसम खड्का, विशाल देवकोटा लगायतका ‘ज्ञ’ थिएटरका कलाकारको अभिनय रहने छ । नाटक हरेक दिन साँझ ५:३० बजे र शनिबार भने दिउँसो १ बजेपनि मञ्चन हुने आर्यलले जानकारी दिए ।
दलितले छोएको खाएको निहुँमा बहिष्कृतमा परेकालाई न्याय दिन आयोगको आग्रह
खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहुँमा अघोषितरूपमा सामाजिक बहिष्करणमा पारिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ७७ वर्षीय टङ्कप्रसाद आचार्यलाई न्याय र सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासन तथा स्थानीय सरकारलाई आग्रह गरेको छ । छुवाछूतमुक्त समाज निर्माणका लागि प्रदेश नं १ को अभियानअन्तर्गत जिल्ला समन्वय समितिले विसं २०७६ जेठ १८ गते आयोजना गरेको सहभोजमा सहभागी हुने क्रममा दलित युवतीको हातबाट दही खाएको निहुँमा सामाजिक बहिष्करणमा परेका आचार्यलाई मानसिक पीडाबाट मुक्ति दिन र आवश्यक सुरक्षाको प्रत्याभूति गराउन आयोगको प्रदेश शाखा कार्यालय खोटाङले जिल्ला प्रशासन कार्यालय र नगरपालिकालाई पत्राचार गरेको हो । दलितले छोएको खाएको निहुँमा आफन्तबाटै अघोषितरूपमा बहिस्कार गरिएको घटनाका विषयमा सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन प्रशासन र नगरपालिकालाई भनिएको आयोगको प्रदेश शाखा कार्यालयका प्रमुख उपसचिव श्यामबाबु काफ्लेले बताए । आयोगका सचिव वेद भट्टराई तथा अधिकृत संलग्न उच्चस्तरीय टोलीले घरैमा पुगेर अनुगमन गरेलगत्तै आयोगको प्रदेश शाखा कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै पीडित आचार्य परिवारले न्याय पाउनुपर्ने पक्षमा धारणा सार्वजनिक गरेको हो । जातीय भेदभावविरुद्धको सहभोजमा सहभागी भएको अवस्थामा दलितले छोएको दही खाएको आरोपमा आचार्यलाई आफन्त तथा छिमेकीबाट निरन्तर सामाजिक बहिष्करण हुँदै आएको प्रारम्भिक अनुगमनबाट देखिएको आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ । आयोगले सामाजिक कुरीति तथा विभेदविरुद्धको अभियानमा लागेका ज्येष्ठ नागरिकमाथि कानूनद्वारा दण्डनीय हुनसक्ने कुनै पनि कार्य नगर्न/नगराउन स्थानीयवासी एवं राजनीतिक दललाई समेत आग्रह गरेको छ । घटनाको केही समयपछि बाबुको श्राद्धका लागि बोलाइएको आफ्नो पुरोहित नआएपछि आचार्यले अर्कै पुरोहित बोलाएर श्राद्ध गरेका थिए । घरमा कुशेऔँशीका दिन पनि पुरोहितले कुश नल्याएको आचार्यको गुनासो छ । समाजमै अघोषित बहिस्कारको शिकार बनाइएको भन्दै आचार्य न्यायको याचनासहित विसं २०७६ भदौ ३ गते प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई गुहार्न पुगेका थिए । सामाजिक बहिस्कारमा परेको भन्दै आचार्यले ‘न्याय दिन वा फाँसीको सजाय दिन’ भनेपछि मुख्यमन्त्री राईले तत्काल प्रमुख जिल्ला अधिकारीलाई फोन गरेर सहज वातावरण बनाउन निर्देशन दिए पनि कारवाही भएको छैन । रासस