तिमी शितल दिने छायाँ, ओइलायो मेरो मया (गीत)
तिमी शितल दिने छायाँ, ओईलायो मेरो मया जुन ढलेको रातमा खोज्छु, छैनौ दाँयाबाया आगो लागेछ मनमा रहर जलेर गयो खरानी भो सपना, हुरीले उडाई लग्यो म तिम्रो मनको पुजारी भेटी चढाएँ माया आफ्नै मुटु छामी हेर्छु छैनौ दाँयाबाया तिमी शितल दिने छायाँ, ओईलायो मेरो मया जुन ढलेको रातमा खोज्छु, छैनौ दाँयाबाया गल्ती हजार हुन्छन्, होस हराएको बेला अमृत नै विष बन्छ, खोट भाग्यको खेला बेहोसिमै पनि झस्काउने तिम्रो माया चिच्याउँदै खोज्छु, छैनौ दाँयाबाया तिमी शितल दिने छायाँ, ओईलायो मेरो मया जुन ढलेको रातमा खोज्छु, छैनौ दाँयाबाया बाँध फुटेछ मायाको विश्वास टुटेर गयो पत्थर बन्यो यो मुटु मर्म सुकेर गयो बगर झै जिन्दगीमा प्यारो तिम्रो माया भौतारीँदै खोजें तिम्लाई छैनौ दाँयाबाया तिमी शितल दिने छायाँ, ओईलायो मेरो मया जुन ढलेको रातमा खोज्छु, छैनौ दाँयाबाया
शहिदको चिहानमा मेरो भ्यालेन्टाइन डे
प्रेम गर्न सधैं छुट भएको यो देशमा बहाना खोज्दै उन्मक्त कैयौं जोडीहरु पर्खिरहेका हुन्छन् आज रोज डे आज प्रपोज डे आज चकलेट डे आज टेडी डे आज हग डे आज किस डे खै तिमिले सुन्यौ सुनेनौ तिम्रो पनि त मनमा रहरहरु थिए होलान् तिम्रो पनि त आँखामा सपनाहरु थिए होलान् प्रेमिकालाई झ्याम्म अँगालो हालेर तिमि पनि त कतै हराउन चाहन्थ्यौ होला तिमिलाई पनि त बैंसले पिरोल्थ्यो होला तर तिमि त न बाबाले रोक्दा रोकियौ न आमाले समाउँदा अडियौ न सानुको मधुर बोलिमा तानियौ बैंस बिसाउँदै एक मुट्ठि माटोको लेप छातिमा टाँसेर तिमिले ल्याएको स्वतन्त्रताका दिनहरु फगत आज रुपान्तरित हुँदैछ प्रेम गर्न सधैं छुट भएको यो देशमा आज रोज डे, आज प्रपोज डे, आज चकलेट डे… आज हग डे… किस डे… तर म … तिम्रो चिहान छेउ वसेर अझै पूरा नभएका तिम्रो सपनाहरु सम्झँदै आदर्शका तिम्रो सिद्वान्तहरु पढ्दै म संकल्प लिइरहेछु मेरो तर्फवाट भोलिको भ्यालेन्टाइन डे मा हुनेछ केवल नयाँ विहानी र परिवर्तनको रातो गुलाव मेरो तिमि (चार शहिद) लाई ह्याप्पी भ्यालेन्टाइन डे…
जीवनसाथी खोज्न सघाउने ‘म्यारिज स्टेशन’
काठमाडौं । वर, वधुको खोजीमा रहेकालाई लक्षित गर्दै म्यारिज स्टेशन खुलेको छ । यो सेवा अनलाइन तथा अफलाइन दुबै माध्यमबाट लिन सकिने छ । म्यारिज स्टेशनको वेवसाइट तथा फेसबुक पेजमार्फत इच्छुकहरुले आफ्नो विस्तृत विवरण भरेपछि यो सेवा लिन सक्नेछन्। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा दुई महिना अगाडि म्यारिज स्टेशन खुलेको हो । चार जना युवा प्रकाश मालाकार, उत्तम आचार्य, सुदिप कार्की र राजन न्यौपानेको संयुक्त लगानीमा यो कम्पनी खुलेको हो । म्यारिज स्टेशनले जीवनसाथीको खोजिमा व्यक्तिहरुबिच ‘लमी’ को काम गर्छ । यो एरेन्ज म्यारिज गराउने प्लेटफर्म जस्तै हो । सञ्चालक मध्येका एक दोलखा २ लामिडाँडाका राजनले भने । सुरुमा म्यारिज स्टेशनको फेसबुक पेज मात्र थियो । कागेश्वरी मनोहरा नगरपालिकामा दर्ता भएको म्यारिज स्टेशनको एउटा पोस्टर सामाजिक सञ्जालमा निकै भाईरल भयो । जसमा फोन नम्बर उल्लेख गरेर ‘हामी मिलाउँछौं तपाईंको जोडी’ लेखिएको थियो । राजधानीका ठाउ–ठाउमा टाँसिएको उक्त पोस्टरका ट्रोल बने । सञ्चालकहरुलाई यति फोन आयो कि उठाउनै भ्याएनन् । दैनिक तीन वटा नम्बरमा साढे २ सय फोनका घण्टिहरु बज्न थाले । हरेक मिनेटमा फेसबुकमा म्यासेजहरु ओइरिन थाले । कतिपय फोन साँच्चिकै जीवनसाथीकै खोजीका लागि आए, धेरैजसो रमाइलोका लागि । ‘ट्रोल बनाएर हामीलाई उडाए । तर, राम्रै प्रचार–प्रसार भयो ।’ सञ्चालक मध्येका एक उत्तमले भने ‘हामी काम गर्न सक्छौं भन्ने विश्वास बढ्यो ।’ म्यारिज स्टेशनका अनुसार अहिले अमेरिका, क्यानाडा, युरोप, जापान र खाडी मुलुकबाट अत्यधिक फोनहरु आउँछन् । ती मध्ये सबैभन्दा पिडीत खाडी मुलुकमा बस्ने नेपालीहरु छन् । उनीहरुसँँग न आफूले कमाएको पैसा छ, न साथमा पत्नि । ‘अहिले पनि विदेशबाट दैनिक आधा दर्जन फोनहरु आउँछन् ।’ म्यारिज स्टेशनका सुदीप भन्छन्, ‘उनीहरु दोस्रो विहेका लागि भरपर्दो जीवनसाथीको खोजीमा हुन्छन् ।’ म्यारिज स्टेशनमा अहिले २० देखि ६० वर्ष उमेर समुहका व्यक्ति र अभिभावक वर, बधुका लागि आउने गरेका छन् । तिनमा अविवाहित, विधवा, विधुर, डिभोर्स भईसकेका सबै खालका व्यक्तिहरु छन् । यस्तै म्यारिज स्टेशनले गरिव, दु:खी, अपांग, दलित, पिछडिएकाहरुलाई भने नि:शुल्क सेवा दिने गरेको छ । यसरी खोजिन्छ जीवनसाथी म्यारिज स्टेशनको वेवसाइटमा गएर तपाईले सुरुमा फर्म भर्न सक्नु हुन्छ । वा काँडाघारीस्थित कार्यालयमा पुगेर फर्म भर्न सकिन्छ । आफ्नो नाम, उमेरका साथै आफूले खोजेको जीवनसाथीको जात, कमाई, उचाई, पढाई लगायतका विवरण भर्नुपर्छ । फर्म भरिसकेकाहरुको फोटो, नाम, नम्बर, इमेल गोप्य राखिन्छ । तोकिएको शुल्क तिरेपछि वेवसाइटमै फर्म भरेका व्यक्तिहरुसँग च्याट गर्न सकिन्छ । आफूलाई मन परेको व्यक्तिको थप डिटेल चाहिएमा म्यारिज स्टेशनले उपलब्ध गराउँछ । केटा–केटीबिच कुरा गर्न दुई हप्ताको समय दिईन्छ । त्यो समयविच कुरा मिलेन भने अर्को व्यक्तिको नम्बर उपलब्ध गराईन्छ । शुल्क कति लाग्छ ? म्यारिज स्टेशनले २ हजार, ५ हजार र २० हजार रुपैयाँ गरेर तीन प्रकारका प्याकेज ल्याएको छ । यदि तपाईंले २ हजारको प्याकेज लिनुभयो भने तीन महिनासम्म वेवसाइटमा भरेको एकाउन्ट एक्टिभ हुनेछ । यो तीन महिनाको समयमा तपाईंलाई उपलब्ध गराएका विवरणबाट कोही व्यक्ति मन परेमा अघि बढ्न सक्नु हुनेछ । नत्र फेरी फर्म भर्नु पर्ने हुन्छ । त्यस्तै सुरुमै ५ हजार बुझाउनु भयो भने तीन महिनापछि ३५ सय फिर्ता हुनेछ । बाँकी सेवा शुल्क १ हजार ५ सय रुपैयाँ काटिनेछ । यदि २० हजार रुपैयाँ सुरुमै बुझाउँने हो भने तीन महिनापछि १९ हजार रुपैयाँ फिर्ता हुन्छ । १ हजार रुपैयाँ मात्र शुल्क लाग्छ । यदि विवाह भयो भने एक जनाको २० हजार रुपैयाँ शुल्क लाग्छ । ईसेवा वा सिधै अफिसमै गएर पैसा तिर्न सकिन्छ । म्यारिज स्टेशनले हालसम्म १३ जोडीको विवाह गराईसकेको छ । नेपालमा बस्ने ११ जोडी र अमेरिका, जापान बस्ने एक जोडीले सफल दाम्पत्य जीवन सुरु गरेका छन् । म्यारिज स्टेशनको वेवसाइटमा एक सय भन्दा बढीले आफ्नो विवरण रजिस्टर गरिसकेका छन् । हरेक दिन एक दर्जन भन्दा बढी मानिसहरु कार्यालयमै आउने गरेको सञ्चालक उत्तमले बताए । म्यारिज स्टेशनको दावी अनुसार आफूले चाहेको, अपेक्षा अनुसारको जीवनसाथी खोजिदिने यो उपयुक्त प्लेटफर्म हो । तर, कतिपयले भने नकारात्मक टिप्पणि गरेको सुन्दा नमज्जा लाग्ने गरेको सञ्चालक उत्तम बताउँछन् । ‘अन्य म्यारिज ब्युरोले पैसा खाएर ठगेको रिस यता पोख्नु हुन्छ ।’ उनले भने ‘कतिपले दलाल, चेली बेच्ने गरेको आरोप लगाउँछन् ।’ तर, धर्म गर्नुभयो भनेर हौसला दिनेहरु पनि उत्तिकै छन् । छिटै नै राजधानी र अन्य शहरमा म्यारिज स्टेशनले ब्राञ्च खोल्ने तयारी पनि गरिरहेको छ ।