हुम्लामा दैनिक २० घण्टा विद्युत कटौती, सर्वसाधारणलाई सास्ती

हुम्ला । हुम्लामा पछिल्लो समय हिल्दुम साना जलविद्युत् आयोजना वितरण केन्द्रबाट वितरित विद्युत् नियमित रुपमा कटौती भएको भन्दै जिल्लाका मानव अधिकारकर्मीको टोलीद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको छ । विगतका वर्षभन्दा यो वर्ष अझ बढी विद्युत् आपूर्तिमा समस्या भएपछि मानवअधिकार रक्षक सञ्जालको टोलीद्वारा यही चैत १० गते जिल्ला प्रशासन कार्यालय हुम्लामा गएर प्रजिअको ध्यानार्कषण गराएको टोलीका संयोजक राजन रावतले बताए । मानवअधिकारका क्षेत्रमा आवाज उठाउनका लागि आज बिहान मानवअधिकार रक्षकको जिल्लास्तरीय सञ्जाल गठन भएको जानकारी गराउँदै ज्ञापनपत्र पेश गराइएको थियो । हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक २० घण्टासम्म विद्युत्भार कटौती गरिरहेको भन्दै सो समितिद्वारा आपत्ति जनाइएको थियो । विद्युत्भार कटौती हुँदा उद्योगी, व्यवसायीलाई नोक्सानी हुनुका साथै सीमकोट र खार्पुनाथ गाउँपालिकाका स्थानीयवासी प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । कार्यालयबाट सर्वपक्षीय बैठक बसालेर समस्याको चाँडोभन्दा चाँडो समाधान गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरिएको छ । समितिद्वारा बुझाएको ज्ञापनपत्रको सम्मान गर्दै विद्युत् समस्या समाधानको वैकल्पिक विकल्प रोज्नका लागि हिल्दुम साना जलविद्युत् आयोजनाका प्रमुखसँग समन्वय गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले दिए ।

काठमाडौंमा नेवारको विश्व सम्मेलन हुँदै

काठमाडाैं । नेवारहरुको विश्व सम्मेलन हुने भएको छ । चौथो विश्व नेवार दिवस चिल्लाथ्व चतुर्दशी (चैत १४ गते)को दिन काठमाडौंको बसन्तपुरमा नेवारहरुको विश्व सम्मेलन आयोजना गरिने भएको हो । चौथो विश्व नेवार दिवस आयोजक समितिले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कोभिड महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन यस वर्ष आयोजना गरिएको जानकारी गराएको छ । सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरुको सहभागिता रहने छ । सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने आठजना विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिने पनि आयोजक समितिले बताएको छ । यस्तै सम्मेलनमा नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्विर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम प्रस्तुति पनि हुने छ ।

धुर्मुस सुन्तली फाउण्डेसनको कुर्सी अभियानमा मेधावी कलेजकाे १ लाख सहयाेग

काठमाडाैं । धुर्मुस सुन्तली फाउण्डेसनले अपनाएको कुर्सी अवधारणामा मेधावी कलेजले आफ्नो कुर्सी सुरक्षित गरेको छ । काठमाडौंको शङ्खमूलमा रहेको सो कलेजले १ लाख रुपैयाँ सहयोग प्रदान गरी कुर्सीमा आफ्नो नाम सुरक्षित गर्ने पहिलो कलेज बनेको छ । कलेजले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उक्त सहयोग प्रदान गरेको हो । धुर्मुस सुन्तली फाउण्डेसनले आर्थिक सहयोग गरी रङ्गशाला निर्माण अभियानमा जोडिएकोमा मेधावी कलेज परिवारलाई धन्यवाद ज्ञापन गरेको छ । फाउण्डेसनले कुर्सी अभियानमार्फत जोडिन चाहनेले ३० हजार कुर्सीमा आफ्नो नाम लेख्न सक्ने बताएको छ । फाउण्डेसनकाे अनुसार कुर्सी अब आफ्नै नाममा, पितृको नाममा, आमा समूहको नाममा, महिला समूहको नाममा, टोल विकास संस्थाको नाममा, सहकारी संस्था, बैंक तथा वित्तीय संस्थाको नाममा, उद्योग, विद्यालय, क्याम्पसलगायत विभिन्न साथी समूहको नाममा समेत सुरक्षित गर्न सकिनेछ ।