दमकका वडाध्यक्ष र जनप्रतिनिधिले निजी खर्चमा बनाइदिए पक्की घर

दमक । झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आउनुभएकी ९४ वर्षीया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर बुधबार हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष बरालले स्थानीयवासी र वडाका अन्य जनप्रतिनिधिहरुको रोहबरमा लामिछानेको परिवारलाई घरको साँचो प्रदान गरी घर हस्तान्तरण गरे । उनले पीडित लामिछानेको परिवारमा रहेका अन्य सदस्यसमेत शारीरिकरूपमा अशक्त रहेकाले सहाराविहीन अवस्था महसुस गर्न नपरोस् भन्ने उद्देश्यले नगरपालिकाको ‘कोही एक्लो छैन’ भन्ने अभियानलाई सार्थक बनाउन आफूहरुले सो घर निर्माण गरिदिएको बताए । लामिछाने परिवारको आफनै स्वामित्वमा रहेको करिब १०/११ धुर जमिनमा जनप्रतिनिधिहरुको चार लाख १५ हजारको लागतमा घर निर्माण सामग्री जुटाएको र निर्माण व्यवसायी सुमन काफलेले रु ६५ हजारभन्दा बढी मूल्य बराबरको प्राविधिक खर्च उपलब्ध गराएपछि २० दिन लगाएर घर निर्माण सम्पन्न गरिएको वडा सदस्य सुकदेव लुइँटेलले जानकारी दिए । पाँचथर पुख्र्यौली घर भएका लामिछानेको परिवार करिब ४० वर्षदेखि दमकमा बसोबास गर्दै आएको हो । वृद्धाका पति भीमनारायण स–साना छोराछोरी काखमा हुँदै बितेका थिए । तीन छोरामध्ये जेठो छोरा अघनबहादुर लामो समयदेखि रोजगारीका लागि भारततिर घर छोडेर हिँडे । बुबाको निधनपछि दुःखमा परेको परिवारको भविष्यका लागि भनेर भारततिर पस्नुभएका उनी अहिलेसम्म घर फर्किएका छैन । “मर्यो, बाँच्यो, कहाँ, छ, छैन अहिलेसम्म खोजखबर आएको छैन । देख्ने सुन्नेहरु पनि कोही छैनन्”, विलौना गर्दै वृद्धा धनमायाले भनिन् । उनका अनुसार माइलो छोरा हरिकृष्णको सात वर्षअघिनै मृत्यु भयो । कान्छो छोरा अभिचन्द्र पनि शारीरिक अशक्तताले अहिले आफन्तको शरणमा छन् । माइली बुहारी इन्दिरा र शारीरिक रूपमा अशक्त एक छोरीका साथमा छिन् उनी । अरु तीन सबल छोरीहरु भने घरजममा छन् । सरकारले दिने सामाजिक सुरक्षा भत्ताको माध्यमबाट नै छ जनाको परिवारको गुजारा चलाउनु पर्ने बाध्यता रहेको पीडित परिवारको दुःखेसो छ । कुनै आयस्रोत नभएका लामिछानेको परिवारको विपन्नता देखेर नै जनप्रतिनिधिहरुले स्वेच्छिकरूपमा गर्नुभएको कार्य अत्यन्तै प्रंशसनीय भएको नगर प्रमुख रोमनाथ ओलीले बताए । रासस

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडाैं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महङ्गो श्रेणी हो । प्लाटिनम श्रेणीमा पर्ने खेलाडीको पारिश्रमिक न्यूनतम एक लाख ४७ हजार अमेरिकी डलर (एक करोड ७२ लाख) देखि अधिकतम दुई लाख १८ हजार अमेरिकी डलर (दुई करोड ५५ लाख) तोकिएको छ । पिएसएलको ड्राफ्टको प्लाटिनम श्रेणीमा नेपालका लामिछानेसँगै रासिद खान, डेभिड मिल्लर, क्रिस गेल, लेन्डन सिमन्स, कार्लोस ब्रेथवेट, डेविड मलान, मुजिब उर रहमानलगायत विश्वकै चर्चित खेलाडी परेका छन् । एउटा टोलीले तीन खेलाडी प्लाटिनम श्रेणीबाट लिन पाउने व्यवस्था गरिएको छ । यस्तै डाइमण्ड श्रेणीबाट तीन, गोल्डनबाट तीन, सिल्भरबाट पाँच र इमर्जिङबाट दुई खेलाडी राख्न पाउने प्रावधान छ । पिएसएलका लागि खेलाडी छनोट यही पुस २६ गते गरिनेछ । ड्राफ्टमार्फत प्रतियोगितामा सहभागिता जनाउने छ टोलीले खेलाडीको चयन गर्नेछन् । यस वर्षको पिएसएल आगामी मार्चमा हुनेछ । लामिछानेले सन् २०१९ मा लाहोर टोलीमा अनुबन्ध भई पिएसएल खेल्नुभएको थियो । उहाँ हाल बिगबास लिग खेल्ने क्रममा अष्ट्रेलियामा छन् ।

‘टारगेट नं. वान’ फिल्म पुस २१ गतेदेखि डिशहोमबाटै हेर्न पाइने, कति बजे ?

काठमाडौं । डिशहोमको सिनेमाघर ईन्रनेशनलमा हलिवुड चलचित्र “टारगेट नं. वान” रिलिज हुने भएको छ । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघरमा पुस २१ गतेदेखि उक्त फिल्म रिलिज हुने भएको हो । दर्शकहरुले यो चलचित्र पुस २१ गतेदेखि दैनिक ६ शो, बिहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न सक्नेछन् ।साथै, सिनेमाघर ईन्टरनेशनल च्यानलमा नंं ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ । दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिउड चलचित्र “टारगेट नं. वान” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो क्यासआईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।