अनि महानगरसँग मात्रै होइन, कोरोनासँग पनि लुक्दै भाग्नुपर्यो करनले
काठमाडौं । एकातिर कमजोर आर्थिक अवस्था, अर्काेतिर स्तरीय उच्च शिक्षाको अभिलाषा । यी दुबै आवश्यकता र चाहना पूरा गर्न एक वर्षअघि बैतडीबाट काठमाडौं छिरेका थिए करन बहादुर कुँवर । काठमाडौं आउन सजिलो छ अहिले । केही दशक अघिको जस्तो हप्तौं पैदल हिडेर गाडी भेट्नु पर्दैन । दुरदराजका ग्रामीण बस्तीहरुसम्म सडक संजाल पुगेको छ । गाडी चल्न थालेका छन् । भलै, ती सडकको अवस्था दयनीय र हिउँदमा मात्रै गाडी चल्ने किन नहोस् । काठमाडौं आएपछि उनलाई दैनिकी चलाउन गाह्रो भयो । यस्तै समस्याको बीचमा कसैले सुनाइदियो-फुटपाथमा व्यापार गर्ने विकल्प । अनि आजभन्दा एक वर्ष अघिदेखि लागे काठमाडौंको रत्नपार्कमा रहेको आकासे पुलमाथि छालाको पेटी बेच्न । ‘काठमाडौं त आइयो, खान बस्नको लागि पैसाको आवश्यकता पूरा गर्न सक्ने आर्थिक अवस्था घरपरिवारको थिएन, अनि जागिर खोज्न थालें, जागिर पाइएन, अनि फुटपाथमा पेटी बेच्न लागेको हुँ,’ करनले भने । नभन्दै उनको कमाई राम्रो हुन थाल्यो । व्यापारबाट आएको पैसाले कलेजको फी र कोठाभाडा तिर्न पुग्ने हुन थाल्यो । ‘अलि अलि पैसा त घर पनि पठाउँथें,’ करनले सम्झिए । उनको दैनिकी ठिकै चलिरहेको थियो । कक्षा १२ मा पढ्दै थिए । विहान पढ्न जाने, दिउँसोदेखि रत्नपार्कमा छालाको पेटी बेच्ने । रमाइलै थियो उनको दैनिकी । यही बीचमा विश्वलाई त्राहिमाम बनाउँदै कोरोना भाइरस महामारी आयो । स्कूल कलेज बन्द भए । कलकारखनामा ताला लगाइयो । सरकारले देशव्यापी लकडाउन घोषणा गर्यो । कोरोना भाइरस संक्रमणको डरले सर्वसाधारण भित्रबाट चुकुल लगाएर कोठामै कोच्चिएर बसे । उनको पेशा नै फुटपाथको व्यापार । त्यस्तो त्रासदीको समयमा उनी आफै बाहिर निस्कने आँट गर्न सक्ने अवस्थामा थिएनन् । निस्के पनि प्रहरीले कारबाही गरिहाल्थ्यो । सकडमा मान्छे हिड्दैनथे । व्यापार हुने सम्भावना थिएन । झन् कीर्तिपुर बस्ने करनलाई रत्नपार्क आएर व्यापार गर्न सम्भव छदै थिएन । गाडी पनि कहाँ चलेका थिए र त्यो बेला ! अनि अरु नेपालीले जस्तै, दुःखको बेला फेरि घर सम्झिए करनले । कोरोना महामारीको समयमा उनी ७ महिना घर बसे । अलि पछि त अनलाइन कक्षा पनि सुरु भयो । अध्ययनको सँगै उनी घरायसी काम र खेतीपातीमा लागे । यही बीचमा कक्षा १२ को परीक्षा भयो । परीक्षा दिए । घरमा ७ महिना बसेपछि उनी फेरि काठमाडौं आएर आफ्नो व्यापार सुरु गरेका छन् । तर, कोरोना महामारी अघिको जस्तो व्यापार अहिले नभएको उनको अनुभव छ । ‘दिनको ७÷८ सय त कमाई भैहाल्छ नि, महिनामा १५ देखि २० हजार रुपैयाँ बचाउँछु, महानगर आएर बेलाबेलामा हामीलाई लखेट्छ, त्यसरी लखेटेपछि अर्काे ठाउँमा गएर फेरि व्यापार गर्ने हो, यसपाली त महानगरले मात्रै होइन, कोरोनाले पनि लखेट्यो काठमाडौंबाटै, तरपनि डराएर मात्रै हुँदैन, बाँच्नको लागि पनि केही न केही गर्नै पर्यो नि,’ करनले हाँस्दै भने ।
लोपोन्मुख भाषाको व्याकरण बनाउँदै भाषा आयोग
काठमाडाैं । मुलुकका विभिन्न लोपोन्मुख भाषाको अभिलेखीकरण र तिनको व्याकरण निर्माणका काममा भाषा आयोग अग्रसर भएको छ । आयोगले वाम्बुले, राजी, डोट्याली र डोटेली, दुरा, स्युवा (कागते), मेचे आदि भाषाको व्याकरण निर्माण गरिसकेको छ भने दनुवारलगायत केही भाषाको व्याकरण निर्माण यही आर्थिक वर्षभित्र गर्ने भएको छ । नेपालका भाषाको संरक्षण, संवद्र्धन र विकासका लागि अवलम्बन गर्नुपर्ने उपायको समेत सिफारिस गर्ने संवैधानिक जिम्मेवारी पाएको आयोगले स्थलगतरूपमा विज्ञ र सरोकार भएकालाई परिचालन गरी मरणोन्मुख विभिन्न ३१ भाषाको पाठ र शब्द सङ्कलन, शब्दकोष निर्माण, भाषिक इतिहास लेखनका काम पनि गर्दै आएको छ । आयोगले गत आर्थिक वर्षमा लिङ्खिम, बज्जिका, छन्त्याल, सन्थाली, भोट, शेर्पा, थामी, स्युवा, राजवंशी, उराउ, लोहरुङ, सुनुवार, गोपाली, ताजपुरिया, याम्फु, सोनाह, जुम्ली, याक्खा, चाम्लिङ, सम्पाङ, बेलहरे, लाप्चा, आठपुरिया, वाम्बुले आदि भाषाको अभिलेखीकरण गरिसकेको छ । दश हजारदेखि एक लाखसम्म वक्ता सङ्ख्या भएका भाषालाई लोपोन्मुख मानिन्छ । नेपालमा विसं २०६८ को राष्ट्रिय जनगणनाअनुसार १२३ भाषा रहेकामा आयोगले थप आठ भाषाको पहिचान गरेको छ । आयोगका उपसचिव गेहनाथ गौतमका अनुसार मुलुकका एक लाखभन्दा बढी वक्ता र सङ्ख्या भएका भाषा १९ छन् । दश हजारदेखि एक लाखसम्म वक्ता सङ्ख्या भएका ३० भाषा छन् । दश हजारभन्दा कम वक्ता सङ्ख्या रहेका ३७ र एक हजारभन्दा कम वक्ता सङ्ख्या भएका ३७ भाषा छन् । दनुवार (डोने) भाषाको व्याकरण निर्माणका लागि आयोगले भाषाशास्त्रीहरु डा कर्णाखर खतिवडा र डा दुर्गाप्रसाद दाहाल तथा वक्ता संयोजकका रूपमा सूर्यमाष दनुवारलाई यसै साता स्थलमा खटाएको छ । सो टोली अहिले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ मा कार्यरत छ । उक्त पालिकाका उपप्रमुख निर्मला शाहीले मातृभाषाको संरक्षण र स्थानीय पाठ्यक्रम निर्माणका लागि आफूहरुले पनि काम आरम्भ गरेको बताए । वडा नं ८ का अध्यक्ष झलक पौडेलले सो वडामा ३२९ घरधुरी दनुवार जाति रहेकामा ढिलै भए पनि आयोगले व्याकरण निर्माणको काम थालेकामा खुशी व्यक्त गरे । काभ्रे, उदयपुर, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, ललितपुरलगायत जिल्लामा गरी करिब २१ हजार दनुवार भाषी छन् । तराई र पहाडी क्षेत्रका दनुवारको भाषिकासमेत भिन्नता पाइने विज्ञहरु बताउँछन् । भाषाशास्त्री डा खतिवडाले आफ्नो मातृभाषाको महत्व र बोध सम्बन्धित समुदायलाई नहुँदा ती भाषा उपेक्षामा पर्दै आएको बताए । दनुवार जागरण समिति काभ्रेका अध्यक्ष गोपालकृष्ण राईले विगतको जनगणनामा कतिपय दनुवारले थरमा राई राख्ने गरेको तथा हिन्दू संस्कृतिमा हेलमेलका कारण आफ्नो जातिको यकिन तथ्याङ्क सङ्कलनमा समस्या देखिएको बताए । नेपालको संविधानको धारा २८७ मा आयोगलाई नेपाल सरकारसमक्ष सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाउन पूरा गर्नुपर्ने आधार निर्धारण गरी सिफारिस गर्ने दायित्व प्रदान गरिएको छ । नेपाल सरकारले पूर्वसचिव डा लवदेव अवस्थीको अध्यक्षतामा २०७३ भदौ २३ मा आयोग गठन गरे पनि हालसम्म सदस्यहरु रिक्त छन् । आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउँदै आएको छ । नेपालको संविधानको धारा ७ मा नेपाली भाषाको संवैधानिक पहिचान कायम गर्दै देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने उल्लेख गरिएको छ । यसैगरी संविधानको धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषा राष्ट्रभाषा हुन् भनी नेपालमा बोलिने भाषालाई राष्ट्रभाषाका रूपमा संवैधानिक पहिचान प्रदान गरिएको छ । मुलुकमा नेपाली भाषा बोल्ने मातृभाषी सङ्ख्या ४४ दशमलव छ प्रतिशत छ । यो भाषा पहाडमा २७ दशमलव २९ प्रतिशत र तराईमा १३ दशमलव १९ प्रतिशत मानिसले बोल्ने गरेको राष्ट्रिय जनगणना, २०६८ मा जनाइएको छ । रासस
आज काठमाडौंमा यस वर्षकै बढी चिसो
काठमाडौं । उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो । अबको केही दिन देशभरको तापक्रम निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । “राति आकाश खुला भए बिहानको तापक्रम घट्ने र राति बदली भए तापक्रम बढ्ने हुन्छ”, उनले भने । यस वर्ष काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान रहेको छ । विभागले सूचना जारी गर्दै चिसो रहरिहने तथा तराई/पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु/कुहिरोका कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ । विभागको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री र सबैभन्दा धेरै धनकुटाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।