नयाँ वर्षमा खुकुरी रमले अनलाइन कन्सर्ट गर्दै, डिसहोमबाटै पनि हेर्न सकिने

काठमाडौं । खुकुरी रमले नयाँ वर्ष २०२१ को शुरुवात गर्न २०२१ को पहिलो दिन जनवरी १ तारिखमा वृहत्तर अनलाइन् कन्सर्टको आयोजना गर्दैछ । नेपाली संगीतको प्रवद्र्धन गर्ने र संगीत प्रेमीहरुमाझ लय तथा सूरहरु पेश गर्ने प्रबल उद्देश्यका साथ खुकुरी रमले उक्त कन्सर्टको आयोजना गर्न लागेको हो । कार्यक्रम नयाँ वर्ष, नवीन शुरुवात् प्रति समर्पित रहनेछ । कन्सर्टमा चर्चित एवं लोकप्रिय नेपाली कलाकारहरु समृद्धि राई, सबिन राई एण्ड दि फरौ, दि इलिमेन्ट्स, कबवेब, दि एक्स् ब्याण्ड, विपुल क्षेत्री र दि ट्राभलिङ्ग ब्याण्डको प्रस्तुति रहनेछ । नेपाली संगीतका पारखीहरुले यो कन्सर्टलाई खुकुरी युट्युब च्यानल र डिसहोमबाट हेर्न सक्नेछन् । कार्यक्रम साँझ ६ बजेपछि खुकुरी युट्युब च्यानल र डिस होममा शुरु हुनेछ । साथै कन्सर्टमा नयाँ नेपाली सांगीतिक स्टारको खोजमा आयोजित खुकुरी म्युजिक नेशन प्रतियोगिताका शीर्ष १६ प्रतियोगीहरुलाई पनि प्रस्तुत गरिनेछ । शीर्ष १६ प्रतियोगीहरुको चयन विपुल क्षेत्री, समृद्धि राई र सबिन राईसहितको निर्णायक मण्डलले गर्नेछ । प्रतियोगितामा सहभागी हुन इच्छुक आवेदकहरुले उनीहरुको आफ्नो सांगीतिक कभर भिडियो प्रतियोगिताको लागि आधिकारिक वेबसाइट खुकुरीम्युजिकडटकम मा अपलोड/सम्मिलित गराएका थिए । यस प्रतियोगिताको अर्को चरणमा श्रोताहरुले आफ्नो मनपर्ने कलाकारको लागि भोट गर्न सक्ने प्रावधान राखिएको छ । यो प्रतियोगिता नेपाल भित्र र विदेशमा रहेका सबै नेपालीहरुका लागि खुल्ला गरिएको थियो ।

अन्शिका शर्मा बनिन् मिस यूनिभर्स नेपाल २०२०

काठमाडौं । अष्ट्रेलिया निवासी २४ वर्षकी अन्शिका शर्माले मिस यूनिभर्स नेपाल २०२० को उपाधी जितेकी छिन् । शर्माले मिस यूनिभर्स नेपाल २०२० को उपाधीसँगैं १० लाख पुरस्कार पनि जितेकी छिन् । शर्माले अपला ज्वेल्सको तर्फबाट १५ लाख बराबारको क्राउन पाएकी छिन् । उनले २०२१ मा हुने मिस युनिभर्स वर्ल्डको मन्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियाेगितामा सुजिता बस्नेत फर्स्ट रनर अप, नीना कान्त मण्डल सेकेण्ड रनर अप, दिक्ता थापा फोर्थे रनर अप र न्यान्सी खड्का फिफ्थ रनर अप भएकी छिन् । नीना कान्त मण्डलले मिस ब्रेभ बोल्ड ब्यूटिफूल, सुजिता बस्नेतले व्यञ्जन मिस लाइफस्टाइल, अन्शिका शर्माले मिस फियर्स र न्यान्सी खड्काले मिस फ्याबुलसका टाइटल हासिल गरेकी छिन ।

१० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्छौं: मन्त्री रावल

कर्णाली । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता कर्णालीमै गर्ने बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा बुधबार आयोजित कर्णाली प्रदेश खेलकूद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यको ‘पद तथा गोपनीयताको शपथ ग्रहण’ कार्यक्रममा मन्त्री रावलले १० औँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालनको लागि अब संरचना निर्माणमा प्रदेश सरकार लाग्ने बताए । “प्रदेश सरकार अब उक्त खेलकूद प्रतियोगिता सम्पन्न गर्नका लागि पूर्वाधार विकासमा लाग्छ”, मन्त्री रावलले भने, “हाम्रासामु निकै महत्वपूर्ण भूमिका र चुनौती दुवै छन् ।” खेल क्षेत्रमा कार्यरत व्यावसायिक जनशक्ति राम्रो र प्रभावशाली टोली भएकाले यसले खेल क्षेत्रमा केही गर्छ भन्ने पूर्ण अपेक्षा गरेको उनले जिकिर गरे । उनले भने, “बुधबारदेखि पूर्णता प्राप्त गरेको परिषद्ले खेलकूद संरचना निर्माण गर्दै जाने र कुन जिल्लामा कुन खेल खेलाउन सकिन्छ भन्ने कुराको नक्साङ्कन गर्नुपर्दछ ।” लामो प्रयास र छलफलपछि खेल क्षेत्रमा कार्यरत व्यावसायिक जनशक्ति समावेश गरी प्रदेश परिषद् गठन गरेर प्रदेश सरकारले परिषद्को पदाधिकारी तथा सदस्य नियुक्त गरिसकेकाले १०औँ राष्ट्रिय खेलकूद प्रतियोगिता भव्यरूपमा सम्पन्न हुने आशा गरिएको उनको भनाइ थियो । उनले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा १० हजार मान्छे अट्ने प्रदेशस्तरको रङ्गशाला निर्माण गर्ने लक्ष्य लिएको भन्दै प्रतियोगिता सञ्चालन र संरचना निर्माणका विषयमा राष्ट्रिय खेलकूद परिषद्सँग पनि छलफल भएको जनाए । मन्त्री रावलले नवनियुक्त पदाधिकारी तथा सदस्यको कार्यकाल पूर्ण सफलताको शुभकामना प्रदान गरेका थिए ।