चितवनका पुष्पाञ्जली अस्पतालद्वारा कोरोना उपचार शुरु
चितवन । जिल्लामा कोरोना सङ्क्रमितको उपचार थाल्ने निजी क्षेत्रमा पुष्पाञ्जली अस्पताल पहिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना गरेको जनाएको छ । रत्ननगर नगरपालिका–९ टिकौलीका ६१ वर्षीय पुरुषलाई श्वासप्रश्वासमा गम्भीर समस्या भई सो अस्पतालमा उपचार गराइरहेको अवस्थामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका व्यवस्थापक सुजन अधिकारीका अनुसार यही साउन २७ गते उपचारका लागि आएका उनको सघन उपचार कक्षमा उपचारका क्रममा स्वाब परीक्षण गर्दा साउन ३० गते कोभिड–१९ पोजिटिभ देखिएको थियो । अस्पतालका डा सन्दीप पाण्डेका अनुसार निजको हाल सघन उपचार कक्षमा नै स्थिर र गम्भीर अवस्थामा उपचार भइरहेको छ । मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन र हव अस्पताल भरतपुर अस्पतालसँग समन्वय गरी अस्पतालको सघन उपचार कक्षमा नै राखेर उपचारलाई निरन्तरता दिइएको उनले जानकारी दिए । यसका लागि सघन कक्षको व्यवस्थापन, चिकित्सकलगायत स्वास्थ्यकर्मीको क्वारेन्टिन र स्वास्थ्य सामग्रीको व्यवस्थापन अस्पतालले गरिसकेको समेत उनले जानकारी दिए । सघन कक्ष भिन्न भवनमा रहेकाले सोलाई सिल गरी अर्को भवनबाट अन्य सेवा उच्च सावधानीका साथ निरन्तरता दिइएको अस्पतालले जनाएको छ । अस्पतालमा अन्य सेवा लिन आउने बिरामीका लागि जोखिम नरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । जिल्लामा अन्य अस्पतालमा कोरोना सङ्क्रमण देखिएमा हव अस्पतालका रुपमा रहेको भरतपुर अस्पताल पठाइँदै आएको थियो । जटिल बिरामीलाई हतारमा सार्दा दुई जनाको मृत्युसमेत भएको थियो ।
पहिराका कारण अवरुद्ध त्रिभुवन राजपथ पुन: सञ्चालनमा
टिस्टुङ । पहिराका कारण अवरुद्ध त्रिभुवन राजपथ शुक्रबार साँझबाट पुनः सञ्चालनमा आएको छ । सडक विभागको डोजरले पहिरो हटाएपछि राजमार्ग पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए । सडक पुनः सञ्चालन भएपछि राजपथमा अलपत्र भएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित ढुङ्गाखानीमा पहिरो खसेपछि एक जनाको मृत्यु हुनुको साथै एक्साभेटरसहित चार गाडी पुरिएका थिए । पहिरोले सडक अवरुद्ध भएको थियो ।
काठमाडौंमा थप कडाई: खुला स्थानमा भेला, भीडभाड गरे कारवाही हुने
काठमाडाैं । उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी विभिन्न गतिविधिमा निषेध गरेको छ । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रयोग गरी प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निश्चित गतिविधि निषेधको आदेश जारी गरेका हुन् । आदेश विपरीतका काम भएमा ऐन बमोजिम कारवाही गरिने जनाइएको छ । खुला स्थानमा भेला, भीडभाड र जुलुस, भीडभाड हुने गतिविधि, जात्रा महोत्सव, पूजा तथा धार्मिक कार्यक्रम, उद्योग व्यापार व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप, चाडपर्व तथा धार्मिक कार्यका लागि हुने जमघट गर्न निषेध गरिएको आदेशमा जनाइएको छ । यस्तै शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस, मनोरञ्जनस्थल, शैलुन, व्यूटी पार्लर, स्पा, स्वीमिङ पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहायल, चिडियाखाना सञ्चालन गर्न निषेध गरिएको छ । फुटपाथ, खुला ठाउँ, ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय तथा कवाड सङ्कलन, उद्योग व्यवसायका लागि स्वास्थ्य मापदण्ड विपरीत कामदार ओसारपसार गर्न, टेक वे बाहेकका होटल रेष्टुराँ सञ्चालन गर्न निषेध गरिएको प्रजिअ दाहालद्वारा जारी आदेशमा उल्लेख छ । आज बिहानदेखि लागू भएको उक्त आदेश आगामी भदौ १५ गतेसम्म जारी रहने जनाइएको छ । रासस