कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय ५० पुग्यो

सुर्खेत । कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आएको छैन । दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन । यसले गर्दा पनि कोरोना सङ्क्रमण हुने सङ्ख्या नियन्त्रण हुनसकेको छैन । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको गरेको पिसीआर परीक्षणमा सुर्खेतका १३, दैलेख र मुगुका दुई÷दुई जनामा कोराना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको पिसीआर परीक्षणमा दैलेखका तीन जनामा सङ्क्रमण देखिएको छ । विभिन्न जिल्ला गरेर बुधबार २० नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै कर्णालीमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ५ सय ५० पुगेको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यद्यपि सङ्क्रमित सबैको अवस्थामा भने सामान्य भएको महाशाखा प्रमुख डा तिवारीले बताए । त्यसैगरी कोरोना सङ्क्रमण निको भएर घर फर्कने सङ्ख्या पनि कर्णालीमा दिनहुँ बढिरहेको उनले जनाए । उनका अनुसार बुधबार चौरजहारी अस्पताल रुकुपश्चिमबाट दुई, सल्यान अस्पतालबाट पाँच, सालकोट आइसोलेसन सुर्खेतबाट एक र चौकुने आइसोलेसन सुर्खेतबाट चार महिलासहित आठ गरी १६ जना कोरोना मुक्त भएका छन् । यो सँगै कर्णालीमा कोरोना निको भएर घर फर्कनेको सङ्ख्या १ हजार २ सय ९१ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । प्रदेश अस्पतालका चिकित्सकमा सङ्क्रमण प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा कार्यरत दुई चिकित्सकसहित चार स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ । आइसोलेसनमा ड्युटी सकेर क्वारेन्टिनमा बसेका दुई मेडिकल अधिकृतको स्वाब परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको अस्पतालले जनाएको छ । यसअघि असार ११ गते त्यहाँ कार्यरत विशेषज्ञ चिकित्सकसहित नौ स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको थियो । अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार अन्य दुई स्वास्थ्यकर्मी स्टाफ नर्स र सिनियर अहेब हुन् । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले आइसोलेसनमा २५३ जनाको उपचार भइरहेको जानकारी दिए  ।    रासस

सिराहामा मास्क नलगाउने ६४ पक्राउ

सिराहा । मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही शुरु गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उनले भने ।  रासस

बुधबार सारिएकाे नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

काठमाडौं । बुधबार लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक पुनः दुई दिनपछि सरेको छ । बैठक यही असार २६ गते बिहान ११ बजेका लागि राखिएको नेकपाका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुको छलफल चलिरहेकाले बैठक पुनः सरेको हो । पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ¬‘प्रचण्ड’ बीच पछिल्ला दिनमा दैनिकजसो छलफल भइरहेको छ । पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दवाव पनि दिँदै आएका छन् । पैँतालीस सदस्यीय स्थायी कमिटीको बैठक यही असार १० गतेदेखि शुरु भएको थियो । रासस