बलात्कारको आरोपमा पक्राउ
स्याङ्जा । एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनचौपारी गाउँपालिकाका एक पुरुषलाई मङ्गलबार पक्राउ गरेको छ । १९ वर्षीया युवतीले ४० वर्षीय पुरुषले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यायलमा उजुरी दिएपछि आरोपित पुरुषलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक विमलराज कँडेलले युवतीले लामो समयसम्म महिनावारी नभएको र पेट बढ्दै गएपछि गर्भ रहेको थाहा पाएको भन्दै प्रहरीमा उजुरी दिएको बताए । बलात्कारको आरोप लागेका पुरुष र युवती नाता सम्बन्धले दाजु बहिनी पर्ने र आरोपित पुरुषलाई जिल्ला अदलातबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । रासस
सुसाइड नोट लेखेर बालकले गरे आत्महत्या
काठमाडौं । शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको हो । आफ्नै घरमा आत्महत्या गरेका तामाङको शव सोमबार राति गुपचुपरूपमा जलाउन लाग्दा महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी चौकी नाङ्लेभारेको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने, “जलाउनै लाग्दा शव हामीले नियन्त्रणमा लिएर परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएका छौं । घटनाको थप अनुसन्धान हुँदैछ ।” मृतक तामाङ उनका आफ्नै जेठो भिनाजुको स्काभेटरको सहयोगीका रूपमा काम गर्ने गरेका थिए । परिवारमा चार भाइ छोरामध्ये उनी कान्छो हुन् । आत्महत्या गर्नुअघि उनले सोही कोठाको पलङमा सुसाइड नोट राखेको भेटिएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान गर्दै गरेको प्रहरीले शव परीक्षणको रिपोर्ट आएपछि घटनाको थप विवरण प्राप्त हुने जानकारी दिएको छ । रासस
होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु
सप्तरी । होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । गर्भवती महिलालाई १००.२ डिग्री ज्वरो आएपछि गत बिहीबार राजविराजस्थित डा विनिता यादवको क्लिनिकमा उपचारका लागि लगिएको थियो । चिकित्सकले ५ दिनपछि पुनः परीक्षणका लागि बोलाएका थिए । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार महिलालाई पिसाबको सङ्क्रमण (युटीआइ) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए । अठार साताकी गर्भवतीलाई १० दिनदेखि ज्वरो आएको थियो । कोरोना सङ्क्रमणसित मिल्ने लक्षण देखिएको र होम क्वारेन्टाइनमा रहेकीले मृतकको स्वाब लिने तयारी भइरहेको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव डम्बर महतोले जानकारी दिए । मृतकको स्वाब सङ्कलनको रिपोर्ट नआउञ्जेल दाहसंस्कारका लागि प्रतिक्षा गर्न उपयुक्त हुने महतोले बताए । मृतकको साढे ५ वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् । रासस