तरकारी भान्सामा छैनः बारीको तरकारी गाईवस्तुलाई
रोल्पा । सदरमुकामदेखि करीब १० किलोमिटर टाढाको गाउँबाट डोकामा तरकारी बोकेर पैदल आउनुभएका रामकुमारी घर्तीले बजारभरि तरकारी डुलाउँदा पनि बिक्री भएन । अधिकांश तरकारी पसल बन्द भएका र सदरमुकाममा बसोबास गर्ने उपभोक्ता पनि गाउँ फर्किसकेकाले उनी त्यत्तिकै गाउँ फर्किए । पिँठ्यूमा डोकोभरिको तरकारी र घाँटीमा तराजु भिर्नुभएका उनले भने, “सस्तै मूल्यमा भए बिक्री गर्न खोज्दा पनि भएन, त्यति टाढाबाट थोरै भए पनि पैसा पर्छ कि भनेर बोकेर ल्याएँ, अब घर लगेर भैँसीलाई दाना बनाई दिनुपर्ला ।” रोल्पा नगरपालिका वडा नं ४ लिवाङ निवासी विष्णु बुढालाई साँझबिहान के तरकारी पकाऊँ भन्ने चिन्ताले दिनदिनै पिरोल्छ । बाहिर बजारमा सुनसान सडक, सबै पसल बन्द, एकाबिहानै उहाँले घरको छतबाट बाहिर सडकतिर कसैले तरकारी बेच्न ल्याउँछ कि भनेर हेर्दा पाएनन् । सदरमुकाम लिवाङमा तरकारी पसल गर्दै आउनुभएका गोमा पुन झण्डै दुई महिनादेखि पसल बन्द गरेर बसेका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले बजारमा चहलपहल नभएकाले व्यापार नभएपछि पसल बन्द गर्नुपरेको उनको भनाइ छ । पुनले भने, “तरकारी डोकोमा सस्तोमा त आउँछ, तर राखेर के गर्नू, बिक्री हुँदैन, यहाँ पनि कुहिएरै जाने हो ।” यस्तै सदरमुकाममा तरकारी तथा फलफूलको व्यापार गर्ने जुना पुनले पनि झण्डै दुई महिनादेखि पसल बन्द गरे । बाहिरबाट आउने तरकारी र फलफूल किन्दा कोरोना संक्रमणको जोखिम हुने त्रासले पसल बन्द गर्नुपरेको उनले बताए । उनले भने, “पसल खोलेर के गर्नू, व्यापार पनि छैन, आफू पनि सुरक्षित हुनुपर्याे।” सदरमुकाममा बसोबास गर्ने मानिसहरु बजार आसपासका किसानले डोकामा बोकेर ल्याएको तरकारी प्रयोग गर्छन् । बन्दाबन्दीले गर्दा जिल्ला सदरमुकाममा जिल्ला बाहिरबाट बेमौसमी तरकारी र फलफूल आउनेक्रम रोकिएपछि अहिले लिवाङ बजारका तरकारी पसल प्रायः बन्द छन् । बन्दाबन्दीअघि तरकारी व्यापारीहरु खरीद गर्नका लागि कृषककै बारीमा आउने गरेको नगरपलिका वडा नं २ का कृषक गौरी केसी बताए । उनले भने,, “पहिले थोक तथा फुटकरमै बारीमै बिक्री हुन्थ्यो, अहिले घरघरमा डुलाउँदा पनि बिक्री हुँदैन, मैले त अब बजारमा लैजान पनि छाडेँ ।” द्वन्द्वका बेला गाउँमा बस्ने वातावरण नभएपछि सदरमुकाममा आएर बजार नजीकैका बाँझो जमीन भाडामा लिई तरकारी खेती गर्नेको सङ्ख्या रोल्पामा धेरै छ । रसोलाबाङ, थलिबाङ, काभ्रेखर्क, धनमुडा, कालिबाटी, मूलपानी, देउराली, मेवाङ र माडीचौरलगायत स्थानमा किसानले मुख्य बालीका रुपमा तरकारी खेती गर्दै आएका छन् । बजार आसपासका कृषकले उत्पादन गरेको तरकारीले नै सदरमुकाम लिबाङमा माग धानेको छ । बन्दाबन्दीका कारण आफूले उत्पादन गरेको तरकारीले बजार नपाउँदा जीविकोपार्जनमा समस्या थपिएको किसानको गुनासो छ । किसानको खेतबारीमा अहिले प्याज, टमाटर, सिमी, लसुन, बन्दा, काउली, साग, आलुलगायत तरकारी उत्पादन हुने गरेका छन् । बारीमा उत्पादित तरकारीले बजार नपाउँदा किसानहरु घरपालुवा जनावरलाई खुवाउन बाध्य छन् । सदरमुकाम लिवाङ बजारबासी भने ताजा फलफूल र तरकारी नपाउँदा दिक्क बनेका छन् । रासस
बजार घुम्ने बढेपछि जुम्ला बजारमा लकडाउनमा कडाइ
सिञ्जा । कोराना भाइरस रोकथामका लागि गरिएको लकडाउन उल्लङ्घन भएपछि स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ । बजारमा जथाभावी काम नभएका व्यक्ति हिँड्ने भएपछि प्रशासनले लकडाउन अवधिभर अत्यावश्यकबाहेकका काममा जुम्ला बजारमा प्रवेश निषेध गरे पनि उल्लङ्घन भएपछि जोखिम बढेको छ । बाहिरबाट आउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको र लकडाउनको समयमा भीडभाड बढेको भन्दै प्रशसानले बिहीबारबाट कडाइ गरेको हो । कोरोनाको जोखिम न्यूनीकरणका लागि जुम्लामा अत्यावश्यकबहेकका पसल खोलिएको र मानिसहरु आत्यावश्यक वस्तु किनमेल गर्ने बहानामा बढी भीडभाड हुने गरेका कारण थप कडाइ गर्न थालेको हो । लकडाउन पूर्ण कार्यान्वयन नभएपछि स्थानीय प्रशासनले थप सुरक्षा व्यवस्था कडा गर्ने भएको छ । जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले कोरोनाको रोकथामका लागि उच्च सतर्कता अपनाउन नागरिकको दायित्व भए पनि मास्कबिना नागरिक हिँडडुल गरिरहेकाले खाद्यान्नलगायतका अत्यावश्यकबाहेकका पसल खोलिएको पाइएमा प्रशासनले कारवाही गर्ने बताए । उनले नागरिकलाई लकडाउनको पूर्णपालना गर्न र कोरोनाबाट जोगिन अनुरोध गरे । बजारमा जथाभावी हिँड्नेलाई सचेत गर्नुका साथै केही मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । यस्तो अवस्थामा बाहिरबाट निकै ठूलो मेहनत गरेर क्वारेन्टाइनमा राखिएको छ । परीक्षण प्रक्रिया बढाइएको छ तर जथाभावी बजारमा हिँड्ने क्रम बढेको छ । जुम्लामा दैनिक उपभोग्य वस्तु खरिदका लागि बजार खुल्ने समय बिहान ७ देखि ९ बजे र बेलुका ४ देखि ६ बजेसम्म निर्धारण गरिएको छ तर नागरिकले अटेर गरी सबै पसल खोलेपछि बजारमा भीडभाड बढेको भन्दै प्रशासनले जुम्लामा कडाइ गरेको हो । प्रशासनले आम नागरिकलाई आत्यावश्यक वस्तु खरिदका लागि दूरी कायम गरी कोरोनाबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन सहयोग गर्न आग्रह गरेको छ । बाहिरबाट जिल्लामा भित्रिएका व्यक्तिलाई एकीकृत क्वारेन्टाइनमा सुरक्षाकर्मीको निगरानीमा राखिएको छ । हाल ४३ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । रासस
गाउँलेको कुटाइबाट एकको मृत्यु, ६ बेपत्ता
रूकुम । गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराज र सोतीस्थित सुष्मा मल्लबीच लामो समयदेखि प्रेम रहेको थियो । सुष्माकै आग्रहमा नवराजले १९ युवा जाजरकोटबाट शनिबार बेलुकी सोती लिएर गएका थिए । केटाहरु आएको खबर सुष्माकी आमाले थाहा पाएर हल्ला गरेपछि गाउँहरुले युवालाई कुटपिट गर्दा नवराजको मृत्यु भएको प्रनाउ श्रेष्ठले जानकारी दिए । गाउँहरुले लखेट्दा अन्य छ युवा बेपत्ता रहेको उनको भनाइ छ । सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएको श्रेष्ठले जानकारी दिए । उजुरी दिएपछि दुवै समूहबीच छलफलसमेत भएको थियो । जात नमिल्ने भन्दै चर्कोरूपमा यो प्रेमलाई अस्वीकार गरिएको केही तथ्यले थाहा हुन आएको प्रहरीको भनाइ छ । रासस