सरकार ! भोको पेट बस्न नपरे हुन्थ्यो..

काठमाडौं । काठमाडौँको जोरपाटीस्थित चामुन्डा माध्यामिक विद्यालय अगाडिको सडकमा शुक्रबार बिहान ११ बजे मजदुरहरुको लामो लाइन थियो । स्वयंसेवकहरु एक मिटरको दूरी कायम गराएर लाइन मिलाउँदै थिए । कोही मजदुरका व्यक्तिगत विवरण भर्दै त कोही ज्वरो नाप्नमा व्यस्त । स्कूल परिसरमा रहेका अन्य युवा खाना खुवाउने काममा सक्रिय थिए । नारायणटार युवा क्लबको अगुवाइमा यहाँ झण्डै एक हजार मजदुरका लागि सामूहिक भोजन (मेस) चलाएको १९ दिन भयो । स्थानीय गोकर्णेश्वर नगरपालिकाको निर्देशनपछि उक्त मेस भोलिदेखि बन्द हुँदैछ । अनि यहाँका मजदुरले पेट भर्न फेरि कतै अन्तै भौतारिनुपर्ने अबस्था आउने त होइन ? भन्ने चिन्ता बढेको छ । कोभिड–१९ को जोखिम हुन नदिन सरकारले गत चैत ११ गतेबाट शुरु गरेको लकडाउन आगामी जेठ ५ गतेसम्म जारी छ । जसका कारण मजदुर समस्यामा परेका हुन् । असङ्गठित क्षेत्रका मजदुरलाई रोजगारी दिने निर्णय यही बैशाख १४ गतेको मन्त्रिपरिषद्ले गरेको थियो । कलकारखाना तथा उद्योगधन्दा चलाउन दिने सरकारको वैशाख २४ को निर्णय छ । त्यसैलाई आधार मानेर नगरपालिकाले मेस बन्द गर्ने निर्णय गरेको हो । तर मजदुरलाई रोजगारी दिने विषयमा नगरपालिकाले आवश्यक तयारी गर्न सकेको छैन । मेस बन्द भएपछि भोलिदेखि दैनिकीमा समस्या पर्ने एक मजदुर रञ्जित रायले बताP । युवाले मेस बन्द हुने खबर सुनाएपछि लाइनमा बस्ने मजदुर निरास भएका थिए आजसम्म त बिहान बेलुकाको छाक टार्न समस्या थिएन, भोलिदेखि मेस नचले पेट कसरी भर्ने भन्नेमा उनीहरुको चिन्ता छ । मजदुर रायले गुनासो गर्दै भने, “जे हुन्छ हामी काम गर्छाैँ, तर सरकारलाई अनुरोध ! भोको पेट बस्नु नपरे हुन्थ्यो ।” बालुवा, मसला (सिमेन्ट) घोलेर जीवन गुजारा गर्ने अर्जुन तामाङ लकडाउनपछि बेकामे भएका छन् । उनले यहाँ १९ दिनदेखि नै खाना खाँदै आएका छन् । सरकारले काम दिने भन्दा उनी अच्चम्म मान्छन् । “खै हामी जस्तो गरिबलाई कसले काम देला”, उनले थपे, “मेस चलेन भने हामी भोकभोकै बस्नुपर्ने हो कि ।” उदयपुरकी दीना चन्द जोरपाटीमा मकै पोलेर आएको कमाइले तीन जनाको परिवारको गुजारा चलाउँथिन् । मकै पोल्ने काम ठप्प भएको डेढ महिना नाघ्यो । मेसकै कारण आफू र बालबालिकालाई खाना खुवाउन उहाँलाई समस्या थिएन । मेस बन्द हुने थाहा पाएपछि भने उनी पनि चिन्तित छिन् । स्थानीय गोकर्णेश्वर नगरपालिकाले मेस बन्द गर्न भनेपछि यहाँका युवाहरु भोलिदेखि मेस बन्द गर्दैछन् । उक्त खबरले मजदुर खिन्न छन् । स्थानीय नारायणटार युवा क्लबको नेतृत्वमा लकडाउनका कारण कुनै पेशा अपनाउन नसकेपछि भोकभोकै सडकमा पुगेका ती मानिसलाई खाना खुवाउन थालिएको थियो । यसमा झण्डै ८० युवा सक्रिय छन् । अझै लकडाउन लम्ब्याउँदा पनि खाना खुवाउन सहयोगीको साथ पाएकाले समस्या थिएन । तर स्थानीय तहको निर्देशनपछि मेस बन्द गर्न लागिएको युवाहरुले बताए । शुरुमा स्थानीय तहबाट राहत बाँडिएको थियो । त्यो राहत वास्तविक मजदुर र सडकमा पुगेकाले नपाएपछि युवाले तत्कालै खाना खुवाउने निर्णय गरेका थिए । होटल तथा चिया पसलमा काम गर्नेदेखि सङ्गठित र असङ्गठित मजदुर, शिक्षक, विद्यार्थीसमेत मेसमा खान आएका छन् । “यो अवधिमा हामीले झण्डै २६ हजारलाई खाना खुवाइसकेका छौँ”, नारायणटार युवा क्लबका अध्यक्ष धर्म थिङ लामाले भने, “मेस नचल्ने भएपछि भोलिदेखि असङ्गठित मजदुर छनोट गरेर उनीहरुलाई आयआर्जनमा कसरी सहयोग गर्न सक्छौँ, त्यो अभियानमा लाग्छौँ ।” शुरुमा ५०÷६० जनालाई खाना खुवाए पुग्छ भन्ने युवा क्लबलाई लागेको थियो । बैठकमा त्यही निर्णय गरेर काम थालिएको थियो । तर मानिसको भीड अप्रत्यासित बढ्दा दैनिक झण्डै एक हजारलाई खाना खुवाउनु परे पनि वडा कार्यालय, स्थानीय संस्था र व्यवसायीले सहयोग गर्दा युवाहरु सफल भएका थिए । क्लबका सल्लाहकार तथा नयाँ जीवन नेपालका अध्यक्ष राजन खनाल यसरी मेस चलाएका संस्थासँग छलफल गरेर मजदुरको समस्या समाधानमा सरकार तथा स्थानीय तहले ध्यान दिनुपर्ने सुझाव दिन्छन् । “मेस बन्द भएपछि भोलिबाटै पेट भर्ने समस्या हुन्छ, अनि मजदुर कहाँ जाने”, प्रतिप्रश्न गर्दै उनले भने, “यो अवस्थामा सरकारसँग पनि काम छैन, मजदुर अलपत्र हुनुपर्छ ।” मजदुरको समस्यातर्फ बेलैमा ध्यान दिन जरुरी रहेको उनले बताए । सरकारले कलकारखाना, उद्योगधन्दा सञ्चालनमा ल्याइ श्रम क्षेत्रलाई खुकुलो पार्दै लैजाने निर्णय गरेको भन्दै गोकर्णेश्वर नगरपालिकाले यही २७ गतेदेखि निःशुल्क खाना सेवा बन्द गर्ने सार्वजनिक सूचना नै निकालेको छ । नगरप्रमुख सन्तोष चालिसे नगरपालिकाको विकास निर्माणका काममा मजदुरलाई प्राथमिकता दिएर काममा लगाइने प्रतिबद्धता जनाए । उनका अनुसार नगरपालिका क्षेत्रमा दिनको १४ हजार बढीलाई खाना खुवाउनुपरेको छ । अब सरकारले निर्णय नै गरिसकेकाले कामतर्फ जोड दिन लागिएको उनले बताए । तर स्थानीय तहको भने काम लगाउनेबारे खासै तयारी देखिँदैन । यसरी मेस बन्द भए भोलिदेखि नै पेट भर्ने समस्या शुरु हुन्छ । मुलुकका अन्य स्थानीय तहमा पनि सामाजिक संस्था तथा स्थानीय तहले नै खाना खुवाउने गरेका थिए । यसले देशभर नै समस्या निम्तिने खतरा छ । पेशा नपाएर दैनिकीको जोहो गर्न नसकेका मजदुरलाई राहत दिने निर्णय गरेकामा त्यसलाई स्वरुप बदलेर सरकारले वैशाख १४ गतेको निर्णयअनुसार काममा लगाउने तयारी छ । तीनै तहका सरकारी कार्यालयबाट सम्पादन हुने सार्वजनिक निर्माणका काममा उनीहरुलाई लगाउने उल्लेख छ । काममा नजानेलाई त्यसको २५ प्रतिशत हुन आउने रकम बराबरको खाद्यान्न दिइने छ । तर राहत वितरणमा सकस भएको स्थानीय तहलाई यसरी असङ्गठित क्षेत्रका मजदुरलाई काम दिने कुरा चुनौतीपूर्ण छ । रासस

असिनाले गहुँबालीमा क्षति, भोकमरीको चिन्ता

बैतडी । असिनापानीले बैतडीका विभिन्न स्थानमा लगाइएको गहुँबाली, तरकारीबाली, फलफूल र धानका बेर्नामा क्षति पुर्याएको छ । केही दिनदेखिको लगातार वर्षा र बुधबार साँझ परेको असिनापानीले गहुँबालीमा व्यापक क्षति पुर्याएको किसानले बताएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिकालगायत क्षेत्रमा गहुँबाली, तरकारीबाली र फलफूल खेतीमा व्यापक क्षति पुर्याएको दशरथचन्द नगरपालिका–२ देहीमाडौँका माया बोहराले बताए । “असिनाले खेतमा पाकेको गहुँ पूर्णरूपमा नष्ट गरेको छ । खेतमा पाकेको गहुँ नष्ट हुँदा भोकमरीको सम्भावना बढेको छ” उनले भने । पाटन क्षेत्रमा किसानले खेतमा राखेको धानको बेर्नासमेत नष्ट गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका पनि विभिन्न स्थानमा असिनाले बालीनाली व्यापक क्षति पुर्याएको किसानले बताएका छन् । बैतडीमा यो वर्ष गहुँ उत्पादनमा कमी आउने सङ्केत देखिएको छ । जिल्लाका धेरै ठाउँमा असिनापानीले गहुँबाली क्षति पुर्याएको तथा पहेँलो सिन्दुरे रोगले पनि गहुँबालीलाई क्षति पुर्याएकाले गहुँ उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए । जिल्लाको पुर्चौडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा असिनाले गहुँबाली व्यापक क्षति पुर्याएको हो । यस्तै असिनाले सुर्नया गाउँपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिकामा पनि पनि क्षति पुगेकाे छ । वर्षाले पाक्नै लागेको गहुँ भित्र्याउन सकिएको छैन भने धेरै ठाउँमा असिनाले क्षति पुर्याएको सुर्नया गाउँपालिका–८ का डम्मर बोहराले जानकारी दिए । असिना परेको ठाउँमा ७५ प्रतिशत गहुँबाली नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । असिनाले गहुँबाली नष्ट भएका कारण यो वर्ष गहुँको उत्पादन भारी गिरावट आउने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख चन्दको भनाइ छ । मुख्य खाद्यबालीका रूपमा रहेको गहुँबालीमा क्षति पु¥याएकाले भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन् । गत वर्ष २४ हजार ५ सय मेट्रिकटन गहुँ उत्पादन भएकामा यो वर्ष गहुँ उत्पादन घट्ने देखिएको छ । बैतडीमा १७ हजार ५ सय हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । लगातारको वर्षाले बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा अन्नबाली भित्र्याउन समस्या भएको छ । किसानले लगाएको गहुँलगायत अन्नबाली पाकिसकेको भए पनि वर्षाका कारण भित्र्याउन समस्या भएको हो । केही दिनदेखि पाकेको गहुँबाली काट्ने चटारो परेको भए पनि पानी पर्न थालेपछि अन्नबाली भित्र्याउन समस्या भएको दोगडाकेदार–६ का स्थानीय गजबहादुर गोयलाले बताए । केही दिनअगाडि परेको असिनापानीले गहुँबालीमा क्षति पुर्याएको भए पनि बाँकी रहेको गहुँसमेत भित्र्याउन नपाएको किसानले बताएका छन् । गएको दुई हप्तादेखि लगाताररूपमा पानी परिरहेकाले काटिसकेको गहुँसमेत थ्रेसिङ गर्न नपाएको दोगडाकेदार–१ रिमका नरेन्द्र विष्टले बताउनुभयो । उनले भने, “काटिसकेको गहुँसमेत कुहिने अवस्थामा रहेको छ ।” बैतडी, दार्चुला, बझाङलगायत पहाडी जिल्लाका किसानलाई खेतीपाती भित्र्याउन धौधौ परेको भए पनि वर्षा बाधक बनेको हो । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ देवथली, काडाँपारीलगायत क्षेत्रमा गहुँ काट्न चटारो परेको भए पनि लगातारको पानीले समस्या भएको स्थानीय गङ्गासागर जोशीले जानकारी दिए । रासस

कविताः ढुंगा र ईश्वर

भिर पाखा खोल्सी खोला ऐलानी जग्गाहरुमा ढुंगा राखे र मानिसहरुले मलाई ईश्वर भनिदिए बुद्ध भनिदिए अल्लाह भनिदिए क्राईस्ट …. भनिदिए मन्दिर बनाइदिए मस्जिद बनाइदिए चर्च बनाइदिए गुम्बा बनाइदिए कहिले परेवा उढाउन लगाए कहिले बोका काट्न लगाए अगरबत्ति, धुप…अक्षता… आशाहरु बेच्दै मेरो सम्मुख मेरै फोटो बेचिदिए आउन नभ्याउलान् भनेर चौबिसै घन्टा मन्दिरका ढोकाहरु खुल्लै राखे कहिल्लै ताला लगाएनन् मस्जिदमा बरु उल्टै प्रसाद सित्तै बाँडे बाइबल बाँडे कुरान बाँडे गिता बाँडे त्रिपिटक बाँडे तर खै के पढे कुन्नि ? पढ्नेहरु लडे बरु पुस्तक एक आपसमा कहिल्यै लडेनन् म कहिल्यै बोलिन उनिहरु मात्र बोलिरहे म त शान्त शालिन बुद्ध बनिरहेँ स्थिर ढुंगा बनिरहेँ कहिले विश्वासमा ठड्याए कहिले अविश्वासमा भत्काए तरपनि फगत् दिनहुँ खोल्सा दोभान भिर पाखा ऐलानी जग्गाहरुको ढुंगा छुँदै अहिले पनि मानिस खै किन हो मलाई ईश्वर मानेर कसम खान्छन् र आफ्नो निजी व्यवहार मिलाउँछन् ।                                                                                                                                  बिराटनगर–५                                                                                                                          हाल मेन्छयायेम्, तेह्रथुम