७ वटै प्रदेशकाले राहत नपाए यी नम्बरमा फोन गर्नुस्

काठमाडौं । सरकारले राहत पाउन नसकेका नागरिकहरुका लागि ७ वटै प्रदेशमा फोकल अधिकारी तोकेको छ । लकडाउनको समयमा राहत प्राप्त गर्न नसकेकाहरुलाई स्थानीय तहहरूसँग समन्वय र सहजीकरण गर्नका लागि ७ वटै प्रदेशमा फोकल अधिकारी तोकेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सूचना जारी गर्दै सबै प्रदेशमा फोकल अधिकारी तोकिएको जानकारी दिएको हो । ‘राहत पाउन नसकेका व्यक्तिहरूले सम्पर्क गर्न तथा आ–आफ्नो टोल, छिमेकमा सम्पर्क गराई सहयोग गर्न मन्त्रालयले नगरिक समाज, बुद्धिजीवी, राजनीतिकर्मी, सञ्चारकर्मीलगायत सम्पूर्णलाई अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ । फेकल अधिकारीका रूपमा प्रदेश–१ मा प्रह्लाद कार्की, प्रदेश– २ मा ऋषिराज आचार्य, बागमती प्रदेशमा अच्युत रेग्मी, गण्डकी प्रदेशमा बाबुराम भुसाल, प्रदेश– ५ मा डिलाराम पन्थी, कर्णाली प्रदेशमा रामप्रसाद वाग्ले तथा सुदूरपश्चिम प्रदेशमा रेशमलाल कँडेल तोकिएका छन् ।

गाउँ प्रवेश गरे ३० हजार रूपैयाँ जरिवाना, अपरिचित व्यक्तिलाई राेक्न पुल बन्द

चंखेली । हुम्ला जिल्लाको तल्लो क्षेत्रमा रहेको चंखेली गाउँपालिका वडा ५ नेप्का गाउँमा अनुमतिविना गाउँ प्रवेश गर्ने जो कोहीलाई रु ३० हजार जरिवाना तोकिएको छ । गाउँमा कोभिड–१९ को संक्रमण फैलिन नदिन वडा नं ५ कार्यालयले यस्तो निर्णय गरेको हो । छपन्न घरधुरी रहेको सो वडाले मुगु र हुम्ला जिल्लाको चंखेली सीमाबाट दैनिक हुम्ला प्रवेश गर्न थालेपछि नेप्का गाउँमा अनुमतिविना प्रवेश गर्नेलाई जरिवाना गर्ने निर्णय भएको वडाध्यक्ष भैरव तामाङले जानकारी दिए । सूचनाको पहुँच नभएकाले युवकलाई दैनिक पालो लगाएर बाटामै राख्ने गरिएको वडाध्यक्ष तामाङले बताए । लकडाउनको अवधिभर आआफ्नो घरमा सामाजिक दूरी कायम गरी सुरक्षित रुपमा बस्नसमेत निर्देशन दिइएको जनाइएको छ । संक्रमण डरले पुल नै बन्द उत्तरी नाम्खा गाउँपालिका वडा नं ३ मा कोरोना भाइरसको संक्रमणको जोखिमबाट जोगिन स्थानीयवासीले टुक्सोखोल्मु पुल नै बन्द गरेका छन् ।अपरिचित व्यक्तिलाई गाउँमा छिर्न नदिन पुल बन्द गरिएको हो । कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भएकाले स्थानीय युवा पालो मिलाएर पुलमा २४ सै घण्टा खटिने गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए  । वडा नं ३ को खगालगाउँ नजीकै टुक्सोखोल्मु पुल र लामाखोल्सीमा गाउँका युवा पालो मिलाएर खटिन्छन् । कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन गाउँपालिकाले आवतजावत रोक्नाका साथै लकडाउनको उल्लंघन गरी गाउँ प्रवेश गरे जरिवाना तिराउनेसमेत निर्णय गरेको छ । महिला खटिए जिल्ला सदरमुकाम सिमकोट वडा नं ५ र ६ का महिला गाउँमा जो कोहीलाई प्रवेश गर्न नदिन खटिएका छन् । कोरोना संक्रमण डरले सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँ भित्रने मुख्य नाकामा पालो हालेर बिहान ६ देखि राति १० बजेसम्म खटिने गरेको वडा नं ६ का कलशुरा रोकायाले बताए । रासस

सरकार र निजी क्षेत्रबीच ३ बुँदे सहमति, लकडाउनमा घर बसेका श्रमिकले पनि पारिश्रमिक पाउने

काठमाडौं । काेराेना संकटले सरकार र निजी क्षेत्रबीच सहकार्य गर्न सकारात्मक दवाव दिएकाे छ । यहि क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अगुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघलगायतका प्रतिनिधिहरुबीच अाइतबार संयुक्त बैठक बसेकाे छ । उक्त बैठकमा रोजगारी गुमाएर स्वदेश फर्किएको नेपालीलाई उत्पादनशील उद्यमशिलतामा सहभागी गराउन विशेष योजना तयार  गर्ने विषयमा सहमति भएकाे छ । याेजना बनाउन सरकार, उद्योगी तथा व्यवसायीका प्रतिनिधि रहेकाे कार्यदल गठन गर्ने निर्णय भएकाे छ । कोभिड १९ का कारण विश्वभर राेजगारी गुमाएका नेपाली युवालाई उद्यमी बनाउन मद्दत गर्ने, लकडाउनमा घरमै बसेका श्रमिकको पारिश्रमिक दिन पहल गर्ने लगायत उद्देश्यले कार्यदल गठन भएको हो । वाणिज्य मन्त्रालयको औद्योगिक लगानी तथा प्रर्वद्धन महाशाखा प्रमुखको संयोजकत्वमा कृषि तथा पशुपंक्षी, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा उद्योगका छाता संगठनका प्रतिनिधि सहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ । नव गठित कार्यदललाई १५ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्न समय दिएको छ । बैठकले औद्योगिक प्रतिष्ठानमा कार्यरत श्रमिकहरुलाई लकडाउन अवधिको पारिश्रमिक दिने निर्णय गरेको छ । बैठकले लकडाउनका कारण बन्द भएका उद्योगहरु सञ्चालनका लागि सम्पूर्ण उद्योगहरुलाई ३ चरणमा वर्गीकरण गरि उद्योग सञ्चालन गर्न उच्च स्तरीय समितिमा प्रस्ताव लैजाने निर्णय समेत गरेको छ । मन्त्रालयको औद्योगिक लगानी तथा प्रवर्द्धन महाशाखा प्रमुखको संयोजकत्वमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा निजी क्षेत्रका छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिहरु सम्मिलित एक कार्यदल गरी समस्याको समाधान गर्ने बताइएको छ । उद्योग परिसंघका अध्यक्ष शतिस मोरले कार्यदल बनिसकेपछि समस्याहरु पहिचान गरेर समाधान तर्फ जान सजिलो हुने भएकोले यसको तयारी गरेको बताए । यस्ता छन् बैठकका निर्णयः १. विदेशबाट फर्केका युवाहरुलाई उत्पादनशील उद्यमशीलतामा सहभागी गराउन विशेष योजना तयार गर्ने । यसको लागि विषेश योजना कार्यान्वयन गर्न लगानी गर्नपर्ने श्रोत साधन परिचालनको प्रस्ताव गर्ने । प्रतिवेदन आगामी १५ (पन्ध्र) दिन भित्र यस मन्त्रालय समक्ष पेश गर्ने । २. उद्योग प्रतिष्ठानमा कार्यरत श्रमिकहरुलाई नेपाल सरकारको यस पूर्वको निर्णयानुसार लकडाउन अवधिभरको पारिश्रमिक भुक्तानी सम्बन्धित उद्योग प्रतिष्ठानहरुले अनिवार्य रुपमा गर्ने । ३. लकडाउनका कारण बन्द उद्योगहरु सञ्चालन गरी आपूर्ति सूचारु बनाउने सम्बन्धमा प्राप्त सुझावहरुका आधारमा ३ (तीन) चरणमा उद्योगहरु क्रमश संञ्चालन गर्ने प्रस्ताव यस मन्त्रालयले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा प्रस्तुत गर्ने ।