कोरोना भाइरस फैलिन नदिन तातोपानी नाकामा हेल्थ डेस्क स्थापना

चाैतारा । चीनमा फैलिएको नोवल कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन उत्तरी नाको तातोपानीमा हेल्थ डेस्क स्थापना गरिएको छ । भोटेकोशी गाउँपालिकासँग समन्वय गरी स्थानीयवासीमा जनचेतना जगाउने उद्देश्यले प्रचारप्रसार गर्नुका साथै हेल्थ डेस्क स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिए । डेस्कमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको र कोरोना भाइरसको लक्ष्यण देखिएमा बिरामीलाई तत्काल काठमाडौ अस्पतालमा पठाइने व्यवस्था मिलाइएको जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले बताएका छन् । तिब्बती भूभागमा हाल हिमपात भई सडक बन्द भएको र ल्होछार पर्वसमेत परेकाले एक सातादेखि चीनबाट सामान आयात बन्द गरिएको तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी केशव वलीले जानकारी दिए । अध्यागमन कार्यालयका अनुसार खासा क्षेत्रमा शुरुदेखि नै चिनियाँ चिकित्सकबाट स्वास्थ्य परीक्षण गरी सामान्य ज्वरो आएका व्यक्तिलाई पनि नेपाल प्रवेशमा रोक लगाउँदै आएको छ । विसं २०७२ को भूकम्पबाट बन्द रहेको नाका गत जेठ १५ गते पुनः सञ्चालनमा आएको थियो । एक दिने पासको व्यवस्था भए पनि नेपाली कामदालाई चिनियाँ पक्षले खासाभन्दा माथि प्रवेश निषेध गरेको छ । त्यहाँ जाँदा पनि बिहान गएर अपराह्न ३ बजे पुनः फर्कनुपर्ने बाध्यकारी नियम लागू गरेको अध्यागमन कार्यालयले जनाएको छ ।

आज श्रीपञ्चमीः देशभर सरस्वतीको पूजा आराधना गरी मनाइँदै

काठमाडाैं । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास छ । देशभरका सरस्वती मन्दिरमा पूजाआराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । ज्ञान, बुद्धि र विवेक प्राप्तिका लागि विद्याकी अधिष्ठात्री देवीका रुपमा सरस्वतीको पूजाआजा गरिन्छ । हिन्दूको धार्मिकग्रन्थ पुराणमा उल्लेख गरिएनुसार, माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित हुनुभएको विश्वास गरिन्छ । आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीले यस पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् । शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ । आजका दिनमा विवाह, नयाँ भवनमा बासलगायतका शुभकार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहेको छ । यस अवसरमा धार्मिक नगरी जनकपुरका विभिन्न शिक्षण संस्थाका साथै जनकपुरका टोलटोलमा देवी सरस्वतीको कलात्मक मूर्ति स्थापित गरी उल्लासमय वातावरणमा पूजापाठ भइरहेको छ । विद्यार्थी बिहानै स्नान गरी आ–आफ्ना पुस्तक, कापी र कलम माता सरस्वतीको तस्वीर नजिक राखेर पूजापाठ गर्ने गर्छन् । सरस्वतीको पूजाको लागि प्रसादमा बयर, केरा, सुन्तला र बेसनले बनाइएका बुनियाका साथै विभिन्न प्रकार फलफूल र मिठाई पनि चढाउने गरिन्छ ।

मेगा बैंकद्वारा धापासीमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । मेगा बैंक नेपालले काठमाडौंको धापासीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकिङ साक्षरता अभियान संचालन गर्ने क्रममा बैंकले माई युथ क्लवसँगको सहकार्यमा काठमाडौंको धापासीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा मेगा बैंककी दायित्व विभाग प्रमुख जेनु थापा, बचत निक्षेप विभागका इन्चार्ज सुजन पोखरेल, मोनिल थापा लगायतले वित्तीय साक्षरता सम्बन्धी कक्षा लिएका थिए । कार्यक्रममा मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क, वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण लगायतका विषयमा जानकारी गराइएको थियो ।