कर्मचारीमा काम गर्ने जाँगर खस्कनुको ७ कारण, कसरी गर्ने त समाधान ?

काठमाडाैं । आवश्यक मार्गनिर्देशनको अभाव होस् वा कार्यक्षेत्रको अनुचित वातावरण । सुपरिवेक्षकबाट चाहेको ध्यानाकर्षण तथा प्रशंसाको कमी होस् वा कम्तिमा वर्षको एक पटक अपेक्षा गरेको तलब सुविधा वृद्धिमा गरिएकोे बेवास्ता । कारण सानादेखि ठूला जस्तोसुकै पनि हुनसक्छ, एक इमान्दार, मिहेनती तथा स्वउत्प्रेरित कर्मचारीको कार्यसम्पादन गर्ने उमंग र जाँगरलाई क्षय गर्ने । हामीले देख्ने गरेका छाैं कि कुनै पनि कम्पनी वा कार्यालयमा जागिर शुरु गर्दाको अवस्थामा जो कोहि पनि नयाँ हौसला, अपेक्षा तथा जोशसहित उपस्थित हुने गर्दछन् । जसका कारण सुरुका दिनहरुमा उनीहरुको कार्यसम्पादन तीव्र, चुस्तदुरुस्त एवं प्रभावकारी हुने गर्दछ । तथापी, समय बित्दै जाँदा सोहि कर्मचारीको कार्यक्षमतामा बिस्तारै ह्रास आउने गर्दछ । जबसम्म व्यवसायका मालिक, कम्पनी व्यवस्थापक वा निकटतम सुपरिवेक्षकले आफ्नो कर्मचारीमा निभ्दै गएको उत्साह र कामप्रतिको उदासिनतालाई पहिचान गरी तत्कालै कुनै प्रभावकारी कदम चाल्दैनन्, तबसम्म सो कम्पनीमा कर्मचारीको आउने र जाने क्रम (जसलाई इम्प्लोइज टर्नओभर रेट भनिन्छ) मा वृद्धि हुन थाल्दछ । नयाँ कर्मचारीको भर्ना प्रकृया झञ्झटिलो र महंगो हुने मात्रै नभइ कम्पनीका लागि उपयुक्त सम्भाब्य कर्मचारीको चयन, नियुक्त तथा आवश्यक अभिमुखिकरण लगायतको कार्यले सो कम्पनीको अनावश्यक समय तथा श्रोतको क्षति समेत गराउँदछ । अर्कातर्फ, नयाँ आउने कर्मचारीलाई रिक्त पदमा भर्ती गराउँदा अघिल्लो कर्मचारीलाई भन्दा बढी तलब सुविधा प्रदान गर्नुपर्ने सम्भावना रहन्छ भने कर्मचारीहरुको निरन्तरको परिवर्तनले समग्र कम्पनीकै छविलाई धमिल्याउँदछ । त्यसैले पनि आफ्नो कर्मचारीको मनोभाव बुझेर उनीहरुभित्र नविन उर्जाको संचार गरी दिर्घकालसम्म कायम राख्न सक्नु कुनै पनि व्यस्थापकको सफलता मानिन्छ । केकस्ता कारणहरुले कर्मचारीमा काम गर्ने जाँगर खस्कँदै जान्छ र सोलाई पुर्नताजकिकरण गर्ने केहि सरल समाधनबारे चर्चा गरिनेछ । १. न्यून कार्यबोझ आवश्यकताभन्दा कम कामको बोझले कर्मचारीहरुलाई आफ्नो कामप्रति बलियोसँग बाँधी नराख्न सक्दछ । न्यून कार्यबोझले एकातर्फ उनीहरुमा ‘यति जाबो काम त छ, पछि गराैंला नि’ भन्ने मनोभावको विकास गर्न सक्दछ भने अर्कातर्फ कार्य सम्पादन गरिसकेपश्चात उनीहरुले आफूलाई ब्यस्त राख्न गर्ने अन्य विभिन्न क्रियाकलाप जस्तै नजिकैको क्याफेमा गएर कफी पिउने, सहकर्मी साथीसँग बात मार्ने वा विभिन्न डेटिङ्ग साइट सर्भ गर्ने लगायतको काम भविष्यमा बानीको रुपमा विकसित भइ सो कर्मचारीको कार्यक्षमतालाई निरन्तर खस्काउन सक्दछ । समाधानः – कार्यालय समयभित्र सो कर्मचारी पूर्णरुपमा आबद्ध हुनसक्ने गरी काम दिने । – कार्य सम्पादन गरेर बाँकी रहेको समयमा भविष्यको असाइन्मेटको लागि तयारी गर्न लगाउने । – कर्मचारीको मुख्य काम वा जिम्मेवारीसम्बन्धी आवश्यक अध्ययनमा समयको सदुपयोग गर्न प्रोत्साहित गर्ने । २. अत्याधिक कार्यबोझ जसरी न्यून कार्यबोझले कर्मचारीहरुलाई आफ्नो कामप्रति बलियोसँग बाँधी नराख्न सक्दछ, त्यसैगरी अत्याधिक कार्यबोझले उनीहरुमा आफ्नो कामप्रति बितृष्णा श्रृजना गर्न वा जिम्मेवारीबाट बिमुख गराउन मद्धत गर्दछ । ‘कति गर्नु, जति गरेपनि सकिने हैन’ भन्ने खालको मनोविज्ञानको श्रृजना हुँदा कर्मचारीले कतै आफू आफू कार्यरत कम्पनी वा संस्थाद्धाराशोषित भइरहेको त छैन भन्नेसम्मको शंका उब्जाउँदछ भने आफ्ना सहकर्मीहरुले खाली समयका रमाइलो गरिरहेको तर आफू भने चाहिनेभन्दा बढी काममा खटिन परेको देखेर उनीहरुमा आफ्नो सहकर्मीप्रति द्धेषभाव समेत पलाउँदछ, जुन स्वस्थ कार्यालय वातावरणको लागि जहिले पनि एक खतराको रुपमा स्थापित हुन्छ । समाधानः – कर्मचारीको क्षमता, विज्ञता एवं समयलार्ई ध्यानमा राखी काम खटाउने । – खाली समय भएको कर्मचारीलाई बढी कार्य बोझ आइपरेको आफ्नो सहकर्मीलाई सघाउन लगाउने । – विशेष खालको तथा बढी समय र श्रम लाग्ने असाइनमेन्ट छ भने एकजनालाई भन्दा पनि कर्मचारीको एक समूह बनाइ काममा खटाउने जसले उनीहरुमा ‘समूह-कार्य’को स्वभाव तथा एकअर्काप्रतिको सहयोग र सद्भावको भावको विकास गर्दछ । – यदि कुनै त्यस्तो विशेष कार्य छ जसलाई सम्पादन गर्ने क्षमता कम्पनीभित्र कुनै एक कर्मचारीसँग मात्र छ भने उसलाई पर्न गएको अतिरिक्त बोझको लागि अतिरिक्त बोनस वा सट्टा बिदाको व्यवस्था गरिदिने । ३. चरम आलोचना एवं हौसलाको अभाव जब कुनै कर्मचारीले केहि गल्ति गर्दा वा भनेको समयमा कुनै कार्यसम्पादन गर्न नसक्दा सोको पछाडीको कारण पहिल्याएर उसलाई सहजीकरण गर्नुको साटो उल्टै चरम आलोचना गरिन्छ, तब कर्मचारीहरुमा कामप्रतिको जोशजाँगरमा कमी आउन थाल्छ भने उच्च कार्यसम्पादन गर्दा वा सहकर्मीको भन्दा राम्रो प्रतिफल दिँदा उसको योगदानको कदर हुँदैन, तब कर्मचारीले राम्रो गर्नु वा नराम्रो गर्नुमा कुनै फरक पाउन सक्दैनन् । यस अवस्थामा उनीहरु अधिक वा थप कार्यक्षमता प्रदर्शन गर्न इच्छुक हुँदैनन् । समाधानः – कर्मचारीले गल्ती गरेको वा अपेक्षितरुपमा कार्यसम्पादन गर्न चुकेमा गाली वा आलोचना गर्नुको साटो के कुराले उसलाई सो अवस्थासम्म पुर्यायो, सोको पहिचान गरी सहजिकरण गर्ने । – कुनै पनि कार्यसम्पादन गर्न वा तोकिएको समयमा कार्य सम्पन्न गर्न कर्मचारीलाई केहि बाधा वा समस्या छन् कि सो बुझेर पहिला त्यो बाधा वा समस्याको निराकण गर्ने । – आवश्यकताअनुसार दण्ड तथा इनामको योजना लागू गर्ने । – इम्प्लोइ अफ द मन्थ वा इयर योजना लागू गरी उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने । – कमजोर कार्यक्षमता प्रदर्शन गर्ने कर्मचारीलाई उत्कृष्ट कार्यप्रदर्शन गर्ने कर्मचारीद्धारा प्रशिक्षित वा सहकार्य गर्न लगाउने । ४. समान कामका लागि असमान पारिश्रमिक त्यसो त परिणाममा आधारित पारिश्रमिक भुक्तानी राम्रो उपाय हुनसक्छ । तर पनि जब कुनै कर्मचारीलाई आफूले झैँ अर्को सहकर्मीले पनि समान कार्यसम्पादन गरेको तर सो सहकर्मीले आफूले भन्दा अधिक तलबसुविधा पाएको भन्ने भान हुन्छ तब त्यस कर्मचारीको कामप्रतिको रुचीमा कमी आउन थाल्छ । समाधानः – स्पष्ट सूचकहरुको विकास गरी परिणाममा आधारित पारिश्रमिको अवधारणालाई अंगिकार गर्ने । – समान कामका लागि समान तलबको ब्यवस्था गर्ने । – यदि समान कार्य सम्पादन गरिराख्दा पनि दुईमध्ये एक जना कर्मचारीको मात्र सेवासुविधामा बृद्धि हुन्छ भने सोको कारण पारदर्शीरुपमा खुलाउने । ५. आवश्यक सहयोग र समन्वयको अभाव कुनै सामान्य वा विशेष कार्य सम्पन्न गर्नका लागि कर्मचारीलाई आवश्यक सहयोग वा समन्वयको प्राप्ति हुँदैन वा सो कार्य सम्पन्न गर्ने दिशामा देखापरेका बाधाअड्चन फुकाउन उसको निकटतम सुपरिवेक्षक इच्छुक देखिँदैनन्, तब सो कर्मचारीमा स्वभाविकरुपमा काम गर्ने जाँगर घटेर जान थाल्दछ । समाधानः – कुनै पनि कार्यसम्पादन गर्न वा तोकिएको समयमा कार्य सम्पन्न गर्न कर्मचारीलाई केहि बाधा वा समस्या छन् कि सो बुझेर पहिला त्यो बाधा वा समस्याको निराकण गर्ने । – कुनै पनि कार्यसम्पादन गर्नका लागि कर्मचारीलाई आवश्यक सहयोग, समन्वय तथा मागदर्शन प्रदान गर्ने । ६. दोहोरोपना स्वभावैले मानिस नयाँ-नयाँ काम गर्न वा नयाँ-नयाँ चिजको अन्वेषण गर्न चाहन्छ । मानिसको यहि स्वभाव तथा चाहना उसको कार्यक्षेत्र वा कामको जिम्मेवारीमा पनि प्रतिबिम्वित हुन्छ । कुनै पनि कर्मचारीले वर्षौंदेखि एउटै वा एकै प्रकृतीको काम गरिरहँदा उसलाई सो कामप्रति कुनै चाख नहुन सक्दछ जसले गर्दा उसको कार्यक्षमतामा ह्रास आउँदछ । अर्कोतर्फ, आफूले गरेको काममा वा आफू आबद्ध क्षेत्र वा पेशामा कुनै नयाँपन नरहेको वा नयाँ कुरा सिक्ने सम्भावना नभएको अवस्थामा कर्मचारीले सो कामलाई सम्मान गर्न छाड्दछ । समाधानः – सम्भव भएसम्म कार्यालयभित्र छोटै समयका लागि भएता पनि विभिन्न विभागहरुमा कर्मचारीहरुको हेरफेर गर्ने जसको कारण उनीहरुले केहि समय नयाँ काम गर्दा रमाइलो मान्दछन् भने विभिन्न विभागअन्तर्गत गरिने कामको अनुभव हासिल गरी भविष्यमा सो कम्पनी वा कार्यालयलाई नेतृत्व गर्ने अवस्थासम्ममा उनीहरु पुग्दछन् । – कर्मचारीलाई विभिन्न तालिम तथा क्षमता अभिबृद्धि कार्यक्रममा संलग्न गराउने जसको कारण उनीहरुले आफू संलग्न क्षेत्र तथा काममा आएको परिबर्तनबारे जानकारी तथा नयाँ ज्ञान हासिल गर्नसक्दछन् । ७. अविश्वास, स्वतन्त्रता र चुनौतीको अभाव कुनै पनि कर्मचारीले आफूलाई हरपल आफ्नो निकटतम सुपरिवेक्षक, बरिष्ठ कर्मचारीहरु तथा कम्पनी मालिकको विश्वासको केन्द्रमा स्थापित गर्न चाहन्छ । तथापी, उसले सम्पादन गरेको कार्य, उसको आचरण अथवा उसको क्षमतामाथि शंका श्रृजना हुँदा सो कर्मचारीमा आफ्नो काम, सहकर्मी तथा समग्र कार्यालयप्रति नै घृणा जाग्न थाल्दछ । अर्कातर्फ, कुनै पनि प्रोफेसनल तथा स्वउत्प्रेरित कर्मचारीले जहिले पनि नयाँनयाँ चुनौतीको सामना गरी आफ्नो क्षमता प्रमाणित गर्न चाहन्छ । तथापी, कार्यालय वा कम्पनीले उभित्रको क्षमता सुहाउँदो परिक्षा लिन वा चुनौती दिन नसकेको अवस्थामा उसले आफ्नो कामलाई अर्थपूर्ण देख्न छाड्दछ । समाधानः – कर्मचारीको क्षमतालाई नजिकबाट अवलोकन गरी उसप्रति विश्वास गर्ने । – हरेक व्यक्तिको कार्य सम्पादन गर्ने आ-आफ्नो तरिका वा पद्धति हुने हुनाले सो तरिका वा पद्धतिको अवलम्बन गर्ने स्वतन्त्रता दिने । – कर्मचारीको क्षमतालाई चुनौती दिने र सो चुनौतीको सामना गर्न आवश्यक समय, अवसर तथा वातावरण प्रदान गर्ने । यसका अलवा, कर्मचारीहरुबीचको सामाजिक अन्तरक्रियालाई प्रोत्साहन, श्रृजनशीलताको प्रदर्शनीका लागि उचित वातावरण प्रदान, सफलताको सेलिब्रेसन तथा सबैको विचार तथा आवाजको सम्मान लगायतले कर्मचारीहरुको नैराश्यतालाई हटाई उनीहरु पुन काम तथा जिम्मेवारीप्रतिको अभिरुचीलाई पुर्नजागृत गराउन सकिन्छ ।

काभ्रेमा चार हजार भूकम्पपीडितको नाम सूचीबाट हटाइँदै

काभ्रेपलाञ्चोक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय धुलिखेलले जिल्लाका चार हजारभन्दा बढी भूकम्पपीडितको नाम आवास पुनःनिर्माण लाभग्राही सूचीबाट हटाउन सिफारिस गर्ने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत पुस मसान्तभित्र सम्झौता गर्न नआएका भूकम्पपीडितको नाम एक हप्ताभित्र पठाउन पत्राचार गरेको थियो । जिल्लास्थित कार्यालयले उक्त सूची पठाउन नसकेपछि प्राधिकरणले केही दिनदेखि ताकेता गर्दै ‘२४ घण्टे अल्टिमेटम’ दिन थालेको छ । पूर्वाधार कार्यालयले भने भूकम्पपीडितमा सूचीकृत भई सम्झौता गर्न नआएका चार हजार ३६६ जनाको नाम सिफारिस गर्न सूची तयार गरिसके पनि पुनःनिर्माण प्राधिकरण केन्द्रीय कार्यालयमा भने पठाएको छैन । ‘प्राधिकरणबाट आवास पुनःनिर्माण सम्झौता नगर्नेको नाम पठाउन दैनिकजसो २४ घण्टे अल्टिमेटम आइरहेको छ, सोहीअनुसार सूची तयार गरिसकेका छौँ’, कार्यालयका सूचना अधिकृत गणेश घिमिरेले भने । उनका अनुसार जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र पूर्वाधार कार्यालयले आवास पुनःनिर्माण सम्झौता नगर्नेको सूचीकृत नाम निर्णय गरी प्राधिकरणको केन्द्रीय कार्यालय पठाउन मात्रै बाँकी छ । प्राधिकरणले यसअघि सम्झौता भएका भूकम्पपीडितले पुस मसान्तभित्र सम्झौता गरी आवास पुनःनिर्माणको प्रथम किस्ताबापतको रु ५० हजार लैजानुर्ने समयसीमा तोकेको थियो । हालसम्म आवास पुनःनिर्माणमा सूचीकृत जिल्लाको ८४ हजार ४७५ परिवारमध्ये चार हजार ३६६ परिवार सम्पर्कमा नआएको घिमिरेले बताए । उनका अनुसार भूकम्पले क्षति पुर्याएपछि प्रधिकरणमार्फत सर्भे भएका ९८ हजार १९ घरमध्ये ७६ हजार ६६१ परिवारले मात्रै आवास पुनःनिर्माण सम्झौता गरेका थिए । विभिन्न चरणको गुनासोपछि हालसम्म जिल्लाका एक हजार ७१ जनाको नाम लाभग्राहीमा सूचीकृत भएको पूर्वाधार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । प्रधिकरणको समयसीमापछि सम्झौता गर्न आएकालाई त्यत्तिकै फर्काइएको घिमिरेले बताए । उनका अनुसार समयसीमा नाघेका पीडित परिवारको विषयमा सुझाव मागेको अवस्थामा प्राधिकरणले सम्झौता नगर्नेको नामावली तत्कालै पठाउन निर्देशन दिएको हो । कार्यालयका अनुसार बनेपा नगरपालिकामा ५०५, मण्डनदेउपुर नपामा ४६३, धुलिखेल नपामा ४००, पाँचखाल नपामा ५७३, पनौती नपामा ५०९, नमोबुद्ध नपामा ५०१ तथा बेथानचोक गाउँपालिकामा १३२, भुम्लुमा २७१, चौँरी देउरालीमा ३९९, खानीखोलामा ६२, महाभारतमा ५२, तेमालमा २२५ र रोशी गाउँपालिकामा २७२ भूकम्पपीडित परिवारले आवास अनुदान रकम सम्झौता नगरेका हुन् । गत सोमबारसम्म ५९ हजार ९२० परिवारले दोस्रो किस्ता तथा ५० हजार ४१४ परिवारले तेस्रो किस्ताबापतको रकम बुझिसकेको कार्यालयले जनाएको छ । दोस्रो किस्ताबापत एक लाख ५० हजार तथा तेस्रो किस्ताबापतको एक लाख रकम आवास पुनःनिर्माण सकेपछि दिने नीति छ । कार्यालयले तेस्रो किस्ताबापतको रकम भूकम्पीडितले बुझेका आधारमा काभ्रेपलाञ्चोकमा ६० प्रतिशत आवास पुनःनिर्माणको काम सकिएको जनाएको छ । कार्यालयमा हालसम्म स्वेच्छिक रूपमा ५२ जनाले आवास पुनःनिर्माणको पहिलो किस्ताबापतको रकम फिर्ता गरेका छन् भने सङ्घसंस्थामार्फत आवास पुनःनिर्माण गरेका १६६ जनाको बैंक खाताबाट रकम फिर्ता गराइएको छ । सङ्घसंस्थाको सहयोगमा आवास पुनःनिर्माण गरेकालाई सरकारको आवास अनुदान नदिइने प्रावधान छ ।रासस

गायिका गरिमाको ‘खेतमा झुल्ने धान’ गीत सार्वजनिक

काठमाडौं । गायक राजु परियार र गायिका गरिमा बिरहीको स्वरमा ‘खेतमा झुल्ने धान’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द रहेको यो गीतका संगीतकार गणेश गुरुङ हुन् । म्युजिक भिडियोमा अमेश भण्डारी र आशिष्मा नकर्मीले अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन् ।