गायिका आस्था राउत प्रहरीमा हाजिर

काठमाडाैं । गायिका आस्था राउत प्रहरी समक्ष उपस्थित भएकी छन् । उनी नातेदारसहित साेमबार टेकुस्थित महानगरीय प्रहरी परिसरको कार्यालयमा उपस्थित भएकी हुन् । अभद्र व्यवहारसम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । परिवारको समन्वयमा उनलाई सोमबार प्रहरीसमक्ष आत्मसमर्पण गराइएको हो । राउतलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा लगेको छ । उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चल्नेछ । प्रहरीले उनी आफै‌ं‌ उपस्थित भएर कमजोरी स्वीकाररेमा मुद्दा नचलाउने संकेत गरेको थियो ।

स्पर्स लघुवित्तको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/२०७७ को अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । माघ १० गते सम्पन्न भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका थिए । कार्यक्रममा शाखा प्रवन्धकहरुले यस आ.व को दोस्रो त्रैमाससम्म कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावि रणनीतिहरु तथा शाखाको योजना प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु सहित २६ जना कर्मचारीहरुको सहभागीता रहेको थियो । त्यसैगरी, लघुवित्तको थर्पु शाखाले सदस्यहरुको लागि आधारभुत तीन दिने डल तथा कुशन बनाउने तालिम सम्पन्न गरेको छ । तनँहुको म्याग्दे गा.पा- ४ घुम्तीमा माघ ७ गते देखि शुरु भई ९ गते समापन भएको भएको उक्त कार्यक्रममा वित्तीय संस्थाको २५ वटा केन्द्रका २५ जना सदस्यहरु सहभागी भएका थिए । तालिममा डल/कुशन लगायतका सामग्रीहरु बनाउन सिकाइएको थियो । कार्यक्रममा रविना रिजालले प्रशिक्षकको भुमिका निर्वाह गरेकी थिइन् ।

बल्ने ढुङ्गाको आशले गुमेको त्यो ५० लाख रुपैयाँ, जुन रुपैयाँले ६ जनालाई प्रहरी खोरमा पुर्यायो

काठमाडाैं । गत बिहिबार एउटा समूहले काठमाडौं महानगरपालिका वडा न. १५ भगवानपाउँका ६३ वर्षीय बच्चुराम गुरूङलाई अनेकन प्रलोभन देखाएर उनीबाट ५० लाख रुपैयाँ लुटे । लुटपाटमा संलग्न मध्येका एक हुन् भीमबहादुर घर्तीमगर । उनले गुरुङलाई ‘मेरो बाजेसँग बल्ने ढुङ्गा छ’ भन्दै प्रलोभनमा पारे ।  त्यही प्रलोभनमा परेर गुरुङले पनि ५० लाख रुपैयाँ ल्याएर त्यहीँ पुगे । उनको हातमा त्यो पैसा देख्ने बित्तिकै उनीहरुले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरी त्यहाँबाट भागे । गुरूङले उनीहरु विरुद्ध उजुरी गरेसँगै लुटपाटमा संलग्न ६ जनाको समूहलाई आइतबार प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा न. ६ कटजुनका ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङ्मो गाउँपालिका वडा न. ५, गोलजुङका ३८ वर्षीय दावाछिरिङ तामाङ, रामेछापको मन्थली नगरपालिका–९, पुरानागाउँका ३६ वर्षीय कुमारबहादुर बुढाथोकी, रसुवाको उत्तरगया गाउँपालिका–२ खड्कुका ३६ वर्षीय तेञ्जिङबहादुर तामाङ र सोही ठाउँका २८ वर्षीय सञ्जित वाईबा रहेका छन्। महानगरीय अपराध अनुसन्धान टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले लुटेराहरूले काठमाडौं उपत्यकाभित्र अलौकिक वस्तुहरू बल्ने ढुङ्गा, वन झाँक्रीको हड्डी, गौलोचन, एक मुखे रुद्राक्ष, दाहिने शंख, नक्कली सुन, नक्कली डलर, पुरातात्विक सामान आफूसँग छ भनेर खरिदका लागि एकान्तमा बोलाई मिलेर लुटपाट तथा डकैती गर्ने गरेको अनुसन्धानबाट देखिएको बताए । सिंहले लुटपाटमा संलग्नहरूलाई उपत्यकाको विभिन्न स्थानदेखि पक्राउ गरिएको बताए । लुटपाटमा संलग्नमध्येका मगरले गुरूङले उक्त रकम आफ्नै घर बैंकमा धरौटी राखेर लगेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सञ्जितको साथबाट २३ हजार ५ o रूपैयाँ, तेञ्जिङको साथबाट ५ लाख ८० हजार रूपैयाँ, भीमबहादुरको साथबाट ३ लाख ५ हजार रूपैयाँ, नकुरको साथबाट ४ लाख ३१ हजार रूपैयाँ, कुमारको साथबाट २ लाख २ हजार रूपैयाँ र दावाछिरिङको साथबाट ३ लाख ३१ हजार रूपैयाँ बरामद गरिएको छ। लुटपाटपछि पाएको ५ लाखमध्ये सञ्जितले २ लाख ११ हजार सानिमा विकास बैंकमा बचत गरेको, ७७ हजारमा सुनको औंठी बनाएको, ओप्पो मोबाइल १९ हजारमा खरिद गरेको र घर बनाएको ऋण तिर्न दिदीलाई १ लाख रूपैयाँ पठाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए। भीमबहादुरले भने लुटपाटपछि पाएको ७ लाखमध्ये लु ५९ प २१३५ न. को २२० सिसीको पल्सर मोटरसाइकल ३ लाख ३० हजार रूपैयाँमा किनेको र नगरकोटमा एकरात बसी होटलमा खर्च गरेको पाइएको छ। दावाछिरिङले भने पाएको ५ लाखमध्ये १ लाख ५० हजार रूपैयाँ ऋण तिरेको, कुमारले पाएको ४ लाख ५० हजारमध्ये ७५ हजार रूपैयाँ घरभाडा तिरेको, १ लाख २५ हजार ठेकेदारको ऋण तिरेको र नकुरले भने पाएको ५ लाखमध्ये ३० हजार फाइनान्समा किस्ता तिरेको र अन्य खाएर मासेको सिंहले बताए। उनीहरूबाट १८ लाख ७५ हजार ५ सय रूपैयाँ, लुटपाटमा प्रयोग गरिएका ३ थान मोटरसाइकल, लुटिएको पैसाले किनेको १ थान मोटरसाइकल, लुटिएकै पैसाले किनेको सुनको औंठी १ थान, नागरिकता, मोबाइल, खुकुरी, फोल्डिङ हुने रड पनि बरामद गरिएको बताए ।