सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं । सानिमा बैंकले सामुदायिक सेवा केन्द्रको सहकार्यमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकको १५औं वार्षिकोत्सवको अवसरमा नक्सालमा आयोजित उक्त कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन् । सानिमा बैंकले स्थापनाकाल देखिनै सामाजिक उत्तरदायित्व अन्र्तगत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
महालक्ष्मी विकास बैंकद्वारा पानी ट्याङकी वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंकको निजगढ र बानेश्वर शाखाले शनिबार पानी ट्याङकी वितरण कार्यक्रम सम्पन्न गरेका छन् । उक्त शाखाले कार्यक्रमको आयोजना गरी दुई स्थानमा पानी ट्याङकी वितरण गरेको हो । निजगढ शाखाले निजगढ न.पा. वडा नं १० लालस्थित पल्युल साम्तेन्लिर्ङ गुम्बामा अध्ययनरत विद्यार्थीहरुका साथै आगन्तुकहरुलाई खानेपानीको सहज उपलब्धता होस् भन्ने उद्देश्यले गुम्वा व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर भोलनलाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेको हो । यस्तै, बानेश्वर शाखाले भने बानेश्वर स्थित कुशेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्ध पिउने पानी. उपलब्ध गराउने उद्देश्यले कुशेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका महासचिव सुदर्शन कोइरालालाई उक्त पानी ट्याङकी हस्तान्तरण गरेका हुन् ।
नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको कोलकतामा
काठमाडौं । नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको ‘कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा भएको छ । कोलकतास्थित भारत सरकारको इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा विभिन्न देशको बालबालिका लक्षित गरी बनाइएको नाटकसँगै नेपाली नाटक पनि मञ्चन भएको हो । राराहिल स्कूलको प्रस्तुति र थिएटर मल नेपालको थिएटर सेन्टर फर चिल्ड्रेनले संयोजन गरेको नाटकको लेखन, परिकल्पना तथा निर्देशन रंगकर्मी केदार श्रेष्ठले गरेका हुन् । ११ देशका १७ नाटकले सहभागिता जनाएको महोत्सवमा नेपालबाट छनौट भएको ‘करेसा कन्सर्ट’ को बुधबार नेपालसंगै रसिया, इरान र श्रीलंकाको नाटक पनि मञ्च भएको थियो । महोत्सवमा चीन, मेक्सिको, मलेसिया, हंगेरी, बंगलादेश, प्यालेस्टाइन, भारतका नाटकहरु पनि सहभागी छन् । राराहिल कीर्तिपुरकै विद्यार्थीहरुले अभिनय गरेको नेपाली नाटक ‘करेसा कन्सर्ट’मा हाम्रा करेसाबारीका तरकारी पात्रहरुको कथा छ । नाटकमा विभिन्न पात्रहरु मार्फत तरकारीको महत्व र विशेषतालाई नाटकीकरण गर्दै मानव स्वास्थ्यमा त्यसको लागि आवश्यकता उल्लेख गरिएको छ । साथै, नाटकले अर्को पाटोबाट नेपाली समाजको चित्रण गर्दै समाजिक अस्तित्व, भेदभाव, अन्यौलता र निर्णयलाई चित्रण गरेको छ । नाटकमा नसना महर्जन, सविना सेन, सुधा खनाल, मञ्जु महर्जन, कविना रोक्का, ओसिन राई, सुधा खनाल, सुजाता भट्ट र लकस महर्जनको अभिनय छ । रंगकर्मी सञ्जिता पराजुलीले कोरियोग्राफी गरेको नाटकमा शंकर भण्डारी स्टेज म्यानेजर छन् भने नाटकको कला तथा कस्ट्युम डिजाइन फाइन आर्टिस्टहरु संघ्राम महर्जन र सुजिता महर्जनले गरेका हुन् । राराहिलका सुनिल महर्जन र नीरज महर्जनको नेतृत्वमा गएको नेपाली नाट्य टोली महोत्सवमा नाटक प्रस्तुतिपछि शनिबार देश आइपुग्दैछन् । रंगकर्मी केदार श्रेष्ठले ५ देखि १५ वर्ष उमेर समूहका लागि लक्षित गरेर यो नाटक तयार पारेका हुन् । अरु देशमा बाल रंगमञ्चको स्थान उच्च रहेको अवस्थामा नेपालमा भने बाल रंगमञ्च अभाव र यसप्रति वेवास्ता छ । बालबालिका पहिलो प्राथमिकतामा रहने समाज नै उन्नत र समृद्ध हुने विश्वासका साथ थिएटर मलको थिएटर सेन्टर फर चिल्ड्रेन प्रतिबद्ध छ ।