विदेशीलाई नागरिकता दिलाएको अभियोगमा दुई कर्मचारीसहित ६ जना जेल चलान
भद्रपुर । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार सबै ६ जनालाई झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन् । कारागार चलान भएका अभियुक्तमा झापा जिल्ला प्रशासन कार्यालयका खरिदार तेजिन्द्र न्यौपाने, विर्तामोड नगरपालिका–८ का वडासचिव लोकराज बराल, जिल्ला प्रशासन कार्यालय झापाको मूलढोका अगाडि नेसनल फोटो स्टुडियो चलाउने भद्रपुर–१० का भीमबहादुर लिम्बू, लेखापढी सम्बन्धी काम गर्ने भद्रपुर–१० का प्रेमराज तिम्सिना, विर्तामोड–५ बस्ने टेकबहादुर गुरुङ र भारत किसनगञ्ज घर भई विर्तामोड–८ मा डेरा गरी बस्ने मुस्तफा आलम रहेका छन् । गैर–नेपालीलाई झुठा विवरण भराई झापा जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकता लिएको घटना सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँबाटसमेत छानबिन भएको थियो । प्रहरीले घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको थियो भने अभियोग लागेका भद्रपुर र विर्तामोडका दुई जना वडाध्यक्ष फरार भएका छन् । प्रहरीले उनीहरुको खोजतलास भइरहेको जनाएको छ । प्रहरीका अनुसार अभियुक्तहरुले मिलिभगत गरी १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाएका थिए । उक्त नागरिकताविरुद्ध उजूरी परेपछि गृहमन्त्रालयले नै चासो राखी छानबिन अघि बढाउन निर्देशन दिएको थियो । सो घटनामा जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत गौरव ढुङ्गेल र खरिदार तेजिन्द्र न्यौपानेको प्रत्यक्ष संलग्नता रहेको छानबिनले ठहर गरेको थियो । प्रहरीले न्यौपानेलाई पक्राउ गरेको थियो भने ढुङ्गेल अझै फरार छन् । झुठा विवरण बनाउँदा टेकबहादुर गुरुङ र रीना गुरुङलाई बुबाआमा कायम गर्दै नौ जनालाई नेपाली नागरिकता दिलाउन सनाखत गराइएको थियो । त्यसरी नागरिकता लिनेमा नवाङ सिसाप गुरुङ, रिगजेन छोडेन गुरुङ, धोनसेल गुरुङ, वाङ्मो गुरुङ, डोल्मा गुरुङ, पेमा डोल्कर गुरुङ, छिरिङ डिकी गुरुङ, लोब्सान गुरुङलगायत छन् । रासस
मंसिर १३ गतेदेखि देशभर मखमली प्रदर्शन हुँदै
काठमाडौं । सवित्रा चिलुवालले निर्माण गरेको चलचित्र मखमली मंसिर १३ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ । ६० वटा हलमा एक्कै साथ प्रदर्शन हुने मखमलीमा यस चलचित्रमा फरक अभिनयमा देखा परेकी नायिका शुभेच्छा थापालाइ गाउले परिवेशमा देख्न सकिन्छ । निर्देशक राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ तथा अन्य चर्चित कलाकारहरुको समेत अभिनय रहेको छ । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् भने सावित्रा चिलवाल एक कुशल गीतकारको रुपमा समेत प्रख्यात छिन । बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा चलचित्रमा संगीत वसन्त सापकोटा रहेको छ भने रामेश्वर हुमगाईको छायांकन रहेको छ । २१ औं शताब्दीमा आइपुग्दा पनि नेपालको ग्रामिण बस्तीमा देखिने पुरुष र महिलाबीचको विभेदलाई पर्दामा उतारिएको छ । मखमलीले यस चलचित्रमार्फत नारीको प्रतिनिधित्व गर्दै नारीको समस्या र भोगाईलाई प्रस्तुत गरिएको छ । चलचित्र निर्माणकाे क्रममा विशेष सहयोगीको रुपमा दामोदर भट्ट र गोकर्ण सापकोटाले निर्माता चिलुवाललाई सहयोग गरेका जनाएका छन् ।
कात्तिक ३० गते कलाकार तथा गायक गायिकाबीच दौड प्रतियोगिता हुँदै
काठमाडौँ । नेपाल चलचित्र कलाकार संघ र कान्ति साँस्कृतिक केन्द्रको संयुक्त आयोजनामा वातावारणीय स्वच्छताको लागि चलचित्र कलाकार, मोडल, गायक गायिका बीच ३ किलोमिटर सडक दौड प्रतियोगिता हुने भएको छ । कात्तिक ३० गते शनिबार प्रहरी तालिम केन्द्र महाराजगंज आगाडी बाट सुरु भई लाजिम्पाट पुगेर पुनः सोही स्थानमा समापन हुने आयोजक सस्थाले जानकारी गराएको छ । भिजिट नेपाल २०२० लाइ समेत मध्यनजर गर्दै वातावारणीय स्वच्छताको लागि यस कार्यक्रम आयोजना गरिएको हो । प्रतियोगितामा बिजेता हरुलाई नगद सहित अन्य पुरस्कार समेत प्रदान गरिने छ भने समाजमा बिशिष्ट योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिने भएको छ । उक्त प्रतियोगितामा सम्पूर्ण चलचित्रकर्मी, कलाकार, गायक गायिका तथा संचारकर्मीलाइ सहभागिताको लागि चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले आव्हान समेत गरेका छन् । यस कार्यक्रमलाई रिभेल ईभेण्ट्सले ब्यबस्थापनको जिम्मा लिएको छ ।