नेपाल क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

काठमाडाैं । नेपाल राष्ट्रिय क्रिकेट टिमको  कप्तानमा ज्ञानेन्द्र मल्ल छनाेट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै नयाँ कप्तानका रूपमा मल्ललाई छनोट गरेको हो । क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए । ‘कप्तानमा फर्किन हामीले गरेको आग्रह पारसले अस्वीकार गरेपछि उहाँको राजीनामा स्वीकृत गरेका छौं र, अर्को व्यवस्था नभएसम्मका लागि ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी दिएका छौं’ क्रिकेट संघका एक पदाधिकारीले भने । पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए । पारसको अनुपस्थितिमा उनले नै कप्तानीको भूमिका निभाएका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । हालै सिंगापुर र ओमान टुरमा ज्ञानेन्द्रलाई आराम दिँदा ऐरी उपकप्तानको भूमिका थिए । यू १९ टिममा कप्तान रहिसकेका उनले फ्रेन्चाइज लिग टिमको पनि नेतृत्व गरिसकेका छन् । क्रिकेट संघले बुधबार नै राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे जानकारी गराएको छ ।

सामा चकेवा पर्वका लागि आकृति बनाउने कार्य शुरू, यस्तो छ महत्व

जनकपुर । मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि मंगलबारदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा दिदी–बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । सो पर्वका लागि द्वितीया तिथिका दिन दिदी­बहिनीले सामा चकेवा पर्वका लागि माटोको आकृति बनाउने कार्यको थालनी गरी छठ पर्वको खरना वा पारणदेखि पात्रहरुको आकृति बनाउने कार्यलाई तीव्रता दिने चलन रहेको छ । मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इङ्गित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् । संस्कृतिविद् रामभरोस कापडि मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको सामा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउँछन् । उनका अनुसार दाजुभाइ दिदी–बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ । के छ सामा चकेवामा ? सामा स्त्री पात्र र चकेवा पुरूष पात्र हुन् । दुइटैलाई चराका रूपमा माटोको बनाइएको हुन्छ । त्यस्तै अन्य पात्र पनि माटोकै बनाइन्छ । सामा चकेवा पर्व मनाउँदा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनी मनोरञ्जन गर्दछन् । छठको खरना वा पारणदेखि मैथिल ललना माटोको आकृति बनाइ राति एउटा ढक्कीमा राखी दीप बाली घरबाट बाहिर अन्य साथी मिलेर गीत गाउँदै चौरमा गइ यो पर्व मनाउने गर्दछन् । परम्परागत विश्वासका आधारमा चौरमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन पनि छ । चौरमा सबै महिला आ–आफ्नो डाला एक ठाउँमा राखी चारैतिर वृत्ताकारमा बस्दछन् । यस पर्वमा पतिपत्नीका बारेमा चुक्ली लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक जुटलाई डढाउने काम हुन्छ । यो क्रम पूर्णिमासम्म चल्ने गरेको पाइन्छ । यसमा सामा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्र हुन्छन् । सामा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी–बहिनीले मनोवाञ्छित फल प्राप्तिका कामना गर्दछन् । मूर्तिलाई चलायमान गरी सम्वादको आनन्द उठाउँछिन् । यसमा कुनै बेला बृन्दावनमा आगो लगाउँछिन् र, कुनै बेला चुगलाको मुख आगोले पोल्छिन् । डालामा राखिएका सबै माटोका मूर्तिहरू त्यत्ति बेला जीवन्त भएर आउँछन्, जब महिला त्यसलाई पात्रका रूपमा उभ्याएर गीति सम्वाद बोल्छन् । कथा तत्व मिथिलामा सामा चकेवाको प्रचलन प्राचीन कालदेखि नै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्रमपुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अद्भूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, सामाको ससुराल जाने प्रसङ्गको मार्मिक क्षणजस्ता गीति सम्वाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना रहेको छ । स्कन्द पुराणमा सामा चकेवाको कथा सम्प्रसङ्ग उल्लेख गरिएको छ, जसअनुसार श्यामा ९ सामा० र चकेवा पतिपत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा वस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कष्णकहाँ गइ चुक्ली लगाए–श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे १ कृष्ण रिसाएर श्राप दिई चरा बनाइ दिए । भाइ शम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कार्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (सामा)को पूर्वरूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ । चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे । चरा भएकी पत्नी सामासँग वस्न थाले । त्यसै क्रममा उनीहरूको वास रहेको वृन्दावनमा विरोधीले आगो लगाए । उठीवास गर्न धेरै प्रयत्न गरे तर अन्ततःआफ्नो तपस्या र पराक्रमले उनीहरू पुनःमानवरूपमा अवतरण भएको आख्यान रहेको छ । केही गीत यस पर्वमा मिथिलाञ्चलको पारिवारिक जीवन तथा लोक आस्थाको अट्ट सम्बन्ध देखिन्छ । मानव मात्र हैन, घर परिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर र जङ्गली जीवनको अद्भूत समन्वय रूप देखिन्छ । समाज र परिवार जहाँ हुन्छ, त्यहीँ चुक्ली गर्ने, षड्यन्त्र गर्ने चुगलाजस्ता पात्र हुन्छ । कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले हैन, हातले सञ्चालन हुन्छन् र महिला सूत्रधारका रूपमा जीवनका गाथा लोक धुनको आधारमा गाउँछिन् जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ । महिला जब आ–आफ्नो घरबाट डालामा मूर्ति राखी सामा खेल्न चौरतिर निस्किन्छन् तब उनी गाउँछिन् : डालाले बहार भेली, बहिनी से पलाँ बहिनो फलाँ भइया लेल डाला छीन, सुनु गे राम सजनी….। भाइ र उनका परिवारजनको मङ्गल कामना गर्दै गाइने गीतमा जनकपुरधामको चर्चा आउनु महत्वपूर्ण सङ्केत गर्दछ । यसले जनकपुरको प्राचीनता र समृद्धितिर पनि इङ्गित गरेको प्रस्ट छ : सिरी रे जनकपुरसँ आबि गेल भ्रमरा लागि गेल पनमा दुकान..। जब चुगला बारी आउँछ, त्यसलाई बायाँ हातमा समाति त्यसको जुँगा भनी राखिएको सनपाट जुटमा दाहिने आगो लगाउँदै निभाउँदै महिला यस प्रकारको गीत गाउँछिन् : धान –धान–धान , भइया कोठी धान चुगला कोठी भुस्सा…… प्रतीकात्मकरूपमा भैयाकोठी धान र चामल भनी भाइको समृद्धिको कामना गरिन्छ भने चुक्ली लगाउने दुष्ट प्रवृत्तिको कोठीमा भुसा र खरानी भएको देखाएर तिरस्कृत र लाञ्छित गर्नै काम गरिएको छ । सम्पन्नतासँगै भाइ वीर र योद्धा पनि छन् । वृन्दावनमा आगो लाग्दा निभाउने कोही नभएको अवस्थामा बहिनीलाई भाइमाथि विश्वास भएको गीत यसरी गाइन्छ : वृन्दावनमे आगि लागै कोइ ने मिझावे हे हमर भैया फलना भैया दौडि –दौडि मिझाबे हे…..। सामा चकेवाको विसर्जनको बेलाको गीत मर्मस्पर्शी हुने गरेको छ : सामचको, सामचको अइह हे जोतल खेतमे बइसिह हे…..। पूर्णिमा का दिन सामा चकेवालाई अर्को वर्ष फेरि कूड खेतमा आइ बस्नु हे भन्दै सबै माटोका पात्रको विसर्जन गरिने चलन रहेको छ । रासस

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सहितका शीर्ष नेताको भाइटीकाः कसले को बाट लगाए ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा मंगलबार बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना जेठा भाइ तेजेन्द्र पाण्डे र कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाएकी छिन् । चपलीहाइटस्थित निवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले भाइद्वय पाण्डेलाई टीका लगाएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरिन् । दुबै भाइले यथाशक्य दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिए । त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन् । उपराष्ट्रपतिबाट टीका ग्रहण उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना दिदी मनपुरा घर्ती र बहिनी लालपुरा घर्तीवाट यसवर्षको भाइटीका ग्रहण गरेका छन् । भाइटीकाका अवसरमा उनले रोल्पास्थित आफ्नै घरमा बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् । टीका लगाइदिएपछि उनीहरूले उपराष्ट्रपति पुनलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । उपराष्ट्रपनि पुनले दिदीबहिनीलाई दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे । उपराष्ट्रपति पुनसँगै उनका भाइद्वय भीमप्रकाश पुन र दीपक पुनसमेतले दिदीबहिनीको हातबाट टीका लगाए । प्रधानमन्त्री ओलीको भाइटीका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट भाइटीका लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेर ३८ मिनेटको समयमा प्रधानमन्त्री ओलीले बहिनीद्वयको हातबाट टीका लगाएका हुन् । टीका लगाइदिएपछि उनीहरूले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गरे । साथै प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिएका थिए । प्रधानमन्त्रीले बहिनीलाई टीका लगाइदिएर दक्षिणा तथा स्नेहोपहार पनि प्रदान गरे । दलका नेताको भाइटीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिहारको शुभसाइतमा आफ्ना दिदी बहिनीहरुबाट भाइटीका ग्रहण गरेका छन् । खुमलटारस्थित निवासमा अध्यक्ष दाहालले बहिनीहरु कमला, अप्सरा, सरस्वती, विष्णु र मिठुको हातबाट टीका लगाएका हुन् । यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नी दिदी कालिका भण्डारी तथा र बहिनीद्वय इन्दिरा न्यौपाने र वसुधा पोखरेलको हातबाट भाइटीका लगाए । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भने यसपटक भाइटीका लगाएनन् । जुठो परेका कारण भाइटीका लगाउने कार्यक्रम नरहेको सभापति देउवाको स्वकीय सचिवालयले जनाएको छ । यस्तै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने जुठो परेका कारण भाइटीका लगाएनन् । काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनमा पुगेर चार दिदीबहिनीको हातबाट टीका लगाएको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।