बिहानैदेखि इन्द्रदह मेलामा दर्शनार्थीको घुइँचो
काठमाडौं । भक्तपुरको दूधपाटीस्थित इन्द्रदह अर्थात् सिद्ध पोखरीमा भव्य मेला लागेको छ । पूर्णिमाको दिन बिहानैदेखि इन्द्रदहमा स्थान गरी इन्द्रको पूजा गर्नेहरुको घुइँचो लागेको छ ।भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें’बाट बाजागाजासहित इन्द्र देवताको मूर्तिलाई शुक्रबार साँझ खटमा राखेर नगर परिक्रमा गरी इन्द्रदह अर्थात् सिद्ध पोखरी पुर्याएपछि मेला सुरु भएको थियो । भाद्र शुक्ल चतुर्थीका साँझ दिपावली गरी रातभरी मेला लाग्ने र भाद्र शुक्ल पूर्णिमाको दिन बिहानैबाट स्नान गरी इन्द्रको पूजा गर्ने परम्परा रहेको छ । पूर्णिमाको दिन मेला लाग्ने र आजै साँझ इन्द्र देवताको मूर्तिलाई खटमा राखी यात्रा गर्दै द्यों छेमा भित्राएपछि मेला सम्पन्न हुने परम्परा रहेको छ । द्वापर युगमा इन्द्रले कृष्णसँग रिसाएर ग्वालालाई दुःख दिन ठूलो असिना, पानी पारेपछि कृष्णले गोवद्र्धन पहाड औंलाले उठाएर जनताको रक्षा गरेको दिनको सम्झनामा इन्द्रदहमा मेला लाग्ने गरेको भनाइ छ । स्थानीयवासी इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेपाल सम्बत् २१८ मा शक्तिशाली युवराजको रुपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण यो पोखरीको नाम इन्द्रदह रहन गएकोे हो । रासस
आज इन्द्रजात्रा, उपत्यकामा सार्वजनिक बिदा
काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । इन्द्रजात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । आजको दिन मुख्यरूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा नजर गर्ने परम्परा छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिङ्गो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौँथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ । यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा आरधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । चतुर्दशीमा इन्द्रजात्रा मनाएपछि पूर्णिमामा इन्द्रदहमा गई स्नान गर्नुपर्ने धार्मिक विधि छ ।
एनओसीकोे निर्वाचनमा बाटाे खुला, भदौ २८ गते हुने
काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को नयाँ कार्यसमितिका लागि यही भदौ २८ गते निर्वाचन हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा चुनाव हुने एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । यसअघि भदौ २० गतेका लागि तय गरिएकोे निर्वाचन सर्वोच्च अदालतको आदेशले स्थगित भएको थियो । न्यायाधीशद्धय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले यही भदौ १७ गते अदालतले एनओसीको कार्यसमिति निर्वाचन रोक्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि निर्वाचनका लागि बाटो खुलेको थियो । सर्वोच्च अदालतले विसं २०६७ मा मान्यता दिएको रुक्मशम्शेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । त्यस्तै, महासचिवमा जीवनराम प्यानलबाट नीलेन्द्रराज श्रेष्ठ र उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखे प्रतिस्पर्धामा उत्रेका छन् । कोषाध्यक्षमा भने रतन टण्डन र उपमहासचिवमा पिताम्बर तिम्सिना निर्विरोध भइसकेका छन् । निर्वाचनले एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन सचिव र सात सदस्य चयन गर्नेछ । रासस