अवैध रूपमा उत्पादित एक्काइस सय लिटर घरेलु मदिरा नष्ट

भक्तपुर । सूर्यविनायक नगरपालिका–७ स्थित कुवा चोक क्षेत्रमा अवैध रूपमा उत्पादन गरिएको करिब दुई हजार १०० लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । यस क्षेत्रमा अत्याधिक मात्रामा घरेलु मदिरा उत्पादन गर्ने र स्थानीय तथा अन्य बजारमा बिक्री गर्दा झगडा एवं हिंसा बढेपछि स्थानीयले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले आकस्मिक रूपमा छापा मारेर उत्पादन भइरहेको क्षेत्रबाट नियन्त्रणमा लिएर नष्ट गरेको हो । प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले मदिरा उत्पादन भइरहेको क्षेत्रमा गएर अवैध घरेलु मदिरा र मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको भाँडाकुडा र ड्रमसहित नियन्त्रणमा लिई स्थानीय वुद्धिजीवी जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिएका छन् । रासस

डाँफे टोल विकासलाई मुक्तिनाथद्वारा डस्टबीन हस्तान्तरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डाँफे टोल विकास संस्था, टोखालाई डस्टबीन हस्तान्तरण गरेको छ । टोखा-६, डाँफे बजार वरिपरिको सरसफाईमा ध्यान दिँदै बैंकले डस्टबीन वितरण गरेको हो । उक्त डस्टबीन मुक्तिनाथ विकास बैंक लि. टोखा शाखाका प्रमुख दिनेश पन्तले डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तातरण गरेका थिए ।

एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेङ्गु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सात जनामा डेङ्गुको सङ्क्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ । वडा नं ४ मा निवासी सन्तोष गुप्ताको परिवारमा सातै जनामा सो रोग फेला परेको अस्पतालले जनाएको छ । योसँगै इनरुवामा ११ डेङ्गु सङ्क्रमित बिरामी फेला परेको उक्त नगरपालिकाले पुष्टि गरेको छ । डेङ्गु सङ्क्रिमतको सङ्ख्या बढ्दो क्रममा रहेको पाइएको इनरुवा अस्पताल आकस्मिक कक्षले जनाएको छ । नमूना परीक्षणका क्रममा २० जनाभन्दा बढीमा डेङ्गुको सङ्क्रमण फेला परिसकेको आकस्मिक कक्षमा कार्यरत वरिष्ठ अहेब गुणानन्द झाले बताए । ज्वरो आएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको भएकाले उक्त रोगको सङ्क्रमितको सङ्ख्या बढ्नसक्ने स्वास्थ्यकर्मीको अनुमान छ । यसरी, नगर क्षेत्रभित्र एकसाथ डेङ्गुका बिरामी फेला परेपछि नगरपालिकाको आपत्कालीन बैठकले शिक्षा शाखा प्रमुख डिल्ली निरौलाको संयोजकत्वमा डेङ्गु नियन्त्रण तथा प्रचारप्रसार समितिसमेत गठन गरेकोे छ । संयोजक निरौलाका अनुसार इनरुवा– ४ मा सात, वडा नं ५ मा चार र वडा नं ३ मा एक जनामा उक्त सङ्क्रमण देखिएकोे हो । जिवाणुका कारण सङ्क्रमण फैलने भएकाले बैठकको निर्णयअनुसार नियन्त्रणका उपाय अवलम्बन गर्नाका साथै जनचेतना फैलाउन समितिले तत्कालै काम थालिने उनले जानकारी दिएका छन् । इनरुवा अस्पतालमा स्वास्थ्यकर्मी चौबिसै घण्टा रहने गरी ‘हेल्प डेस्क’ राख्ने तयारीसमेत थालिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले वडामा विषादी छिट्ने कामसमेत शुरु गरिसकेको छ । वडातहसम्म जनचेतना फैलाउनका लागि अभियान थालिसकिएको नगरप्रमुख राजन मेहताले बताए । विद्यार्थी, शिक्षक हुँदै अभिभावकसहित स्थानीय सङ्घसंस्थालाई डेङ्गु नियन्त्रण र सचेतना अभियानमा सक्रिय सहभागिताका लागि आह्वानसमेत गरिएको उनको भनाइ थियो । रासस