अर्थमन्त्री र जापानी राजदूतबीच शिष्टाचार भेट, के भयो कुराकानी ?
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत महामहिम माइडीया टोरुबीच आइतबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटका क्रममा नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध, नेपालमा जापानले पुर्याउँदै आएको सहयोग तथा नेपालको हालको परिवर्तित अवस्थाबारे छलफल भएको मन्त्रालयले जनाएको छ । अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनर्निर्माणसहितका आर्थिक–सामाजिक विकासका कार्यलाई निरन्तरता दिइने बताएका छन् । उक्त अवसरमा निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजना, तनहुँ जलविद्युत आयोजना, निकट भविष्यमा सम्झौता हुन लागेको कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना तथा आपतकालीन पुनःनिर्माण कार्यक्रमअन्तर्गतको सिन्धुली सडक पुनर्संरचना लगायतका विषयमा पनि कुराकानी भएको जनाइएको छ । भेटवार्तामा अर्थसचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्माको पनि उपस्थिति रहेको थियो ।
सुनचाँदीको मूल्य निरन्तर अकासिदो
काठमाडौं । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रबारको तुलनामा आइतबार बजार खुल्दा सुनको मोल तोलामा ७०० रुपैयाँ र त्यति नै तौलको चाँदी ७० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य दुई लाख २३ हजार २०० रुपैयाँ तथा त्यति नै परिमाणको चाँदीको मूल्य दुई हजार ८१० रुपैयाँ निर्धारण भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज प्रति औँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बाई बाई काठमाडौं, ह्याप्पी दसैं (तस्बिरहरु)
काठमाडौं । नेपालीहरूको महान पर्व विजया दशमीको लागि घर जानेहरूको घुइँचो लागेको छ । काठमाडौं उपत्यकाबाट घर फर्किनेहरूको आइतबार बिहानैदेखि उल्लेख्य भीड छ । काठमाडौंको कलंकी, कोटेश्वर, बालाजु लगायतका नाकाहरूबाट बाहिरी जिल्ला जानेहरू बिहानैदेखि सडकमा उभिएका थिए । दशैँ, तिहार लगायतका पर्वहरू मनाउन काठमाडौं उपत्यकामा बसेर काम गर्ने, अध्ययन गर्नेहरू फर्किरहेका छन् । जसकारण पनि काठमाडौंमा सवारी ट्राफिक कम हुँदै गएको छ । केही सडकखण्डहरुमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरू अलपत्र परेका छन् । यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरूको गुनासो छ । दशैँ मनाउन घर जान हिँडेका नागरिकहरूको तस्बिर आजको फोटो फिचरमा ।