एसिसी यू-१९ प्रिमियर कप स् नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ । उपाधि भिडन्त आज बिहान १०:३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो । युएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा सुरक्षित भएको हो । नेपाल र युएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन् । प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधै एसिया कपमा छनोट हुने प्रावधान छ । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ । तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन् । प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो । यू-१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ ।
मेटलाइफ र क्यानबीच बीमा सहकार्य, खेलाडीलाई सुरक्षा
काठमाडौं । एक वर्षदेखि राष्ट्रिय क्रिकेट खेलाडीहरूका विश्वसनीय संरक्षक बनेको मेटलाइफ नेपालले फेरि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो बीमा साझेदारी नवीकरण गरेको छ । यससहित पुरुष तथा महिला दुवै राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरू र क्यानले निरन्तर आर्थिक सुरक्षा र सहयोग प्राप्त गर्नेछन्, जसले खेलाडीहरूलाई पूर्ण आत्मविश्वासका साथ खेलमा केन्द्रित रहन मद्दत गर्नेछ । गत वर्षभरि राष्ट्रिय टोलीका खेलाडीहरूले विभिन्न अन्तर्राष्ट्रिय टूर्नामेन्टहरूमा दृढ आत्मविश्वासका साथ प्रतिस्पर्धा गरेका थिए । जहाँ प्रत्येक स्ट्रोक, डाइभ र जितको पछाडि मेटलाइफ नेपालको बीमा सुरक्षा महत्वपूर्ण आधार बनेको थियो । मेटलाइफको यो नवीकरण विशेष अर्थपूर्ण क्षणमा आएको छ । नेपालको राष्ट्रिय क्रिकेट टोलीले आगामी आइसीसी टी–२० विश्वकपका लागि योग्यता हासिल गरेको छ, जसले राष्ट्रको खेलकुद इतिहासमा अर्को महत्वपूर्ण उपलब्धि जोडेको छ । आगामी ठूला प्रतिस्पर्धाका लागि तयारीरत टोलीको मनोबल मेटलाइफको अटल सुरक्षा र साथले अझ मजबुत बनाएको छ । क्यानका सचिव तथा पूर्व कप्तान पारस खड्काले भने, 'मेटलाइफ हाम्रो बीमाकर्ता भएकाले हामीलाई दृढ आत्मविश्वास मिलेको छ । खेलाडीहरू सुरक्षित छन् भन्ने थाहा पाउँदा हामी सम्पूर्ण मन र जोशका साथ खेलमा केन्द्रित हुन सक्छौँ ।' मेटलाइफ नेपालका जनरल म्यानेजर नर्मल काजी श्रेष्ठले भने, 'हाम्रा क्रिकेट खेलाडीहरू नेपालकै गौरव, एकता र दृढताको प्रतीक हुन् । उनीहरूले राष्ट्रलाई प्रेरित गर्ने प्रत्येक प्रदर्शनमा हामी उनीहरूको सुरक्षा कवच बनेर साथ दिन पाउँदा गर्वान्वित छौँ । टोली आगामी ठूला प्रतियोगितामा अघि बढ्दै गर्दा, मेटलाइफ नेपाल उनीहरूको विश्वासिलो सुरक्षा साझेदार बनेर उभिएको छ । किनकि जब हाम्रा खेलाडीहरू निडर हुन्छन्, नेपालको आत्मविश्वास अझ उज्यालो देखिन्छ ।'
विभाजन भएको ४ वर्षपछि गैरआवासीय नेपाली संघको एकता घोषणा
काठमाडौं । विगत केही वर्षदेखि छुट्टाछुट्टै समूहमा विभाजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को बृहत् एकता भएसँगै आगामी ६ महिनाभित्र १२औँ महाधिवेशन गरिने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार भएको एकताबारे जानकारी दिन एनआरएनएको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेशकुमार श्रेष्ठले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एकताले सकारात्मक सन्देश दिएको बताए । अध्यक्ष डा. केसीले अब विवाद छोडेर नेपालको आर्थिक विकासमा सक्रिय ढङ्गले लाग्ने प्रतिबद्धता व्यक्त गरे । आगामी दिनमा एनआरएनए फुटेर होइन जुटेर अगाडि बढ्ने उनको भनाइ थियो । अर्का अध्यक्ष श्रेष्ठले एनआरएनएबीचको बृहत् एकता घोषणाले गैरआवासीय नेपालीबीचको भावनात्मक एकता भई समृद्ध नेपाल निर्माणमा सक्रिय भएर जुट्न प्रेरणा मिलेको उल्लेख गरे । सहमतिअनुसार सन् २०२३ अक्टोबरमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित डा. बद्री केसी नेतृत्वको कार्यसमिति र सन् २०२५ मे मा शेष घले संयोजकत्वमा गठित एकता महाधिवेशनबाट निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई स्वीकार गरिने भएको छ । एनआरएनएको १२औँ महाधिवेशन ढिलोमा सहमति भएको मितिले छ महिनाभित्र सम्पन्न गर्ने र उक्त मितिभित्र १२औँ महाधिवेशन सम्पन्न गर्दा सन् २०२५ मे मा आयोजित एकताको महाधिवेशनबाट निर्वाचित श्रेष्ठ नेतृत्वको कार्यसमितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिने जनाइएको छ । एनआरएनएको १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि १२औँ महाधिवेशनमा उम्मेदवार नहुने व्यक्ति सम्मिलित समिति गठन गर्ने, सदस्यता दर्तामा पारदर्शिता र निष्पक्षताका लागि महासचिव गौरीराज जोशी र बाबुराम लामालाई प्रणाली व्यवस्थापनसम्बन्धी सम्पूर्ण अधिकार दिने बताइएको छ । सहमतिअनुसार सङ्घको १०औँ र ११औँ महाधिवेशनका सन्दर्भमा विभिन्न परिस्थितिका कारण कुल आचार्य, रविना थापा, डा. बद्री केसी, विनोद कुँवर र राजेन्द्रकुमार शर्माको अध्यक्षतामा गठित कार्यसमितिहरूलाई पूर्वकार्यसमितिको रूपमा अभिलेखीकरण गरिने सहमति भएको छ । आगामी महाधिवेशनका अवसरमा ११औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका महासचिव र कोषाध्यक्षले आफ्नो प्रतिवेदन पेस गर्ने, ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष डा केसीले एकताको महाधिवेशनबाट निर्वाचित अध्यक्ष श्रेष्ठलाई उक्त प्रतिवेदन हस्तान्तरण गर्ने जनाइएको छ । एनआरएनको आधिकारिकतालगायत विषयमा अदालतमा परेका मुद्दाहरू सबै पक्षले फिर्ता लिने वा आपसी सहमतिका माध्यमबाट समाधान गर्ने सहमतिसमेत भएको छ । सङ्घको दुवै पक्षको आर्थिक पाटोलाई पारदर्शी एवं विश्वासिलो बनाउन स्वतन्त्र तेस्रो पक्षबाट लेखापरीक्षण गराउने जनाइएको छ । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा एनआरएनए स्थापना भएको थियो ।