एनपीएल क्रिकेटः काठमाडौंको चितवनलाई १४३ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले  चितवन राइनोजलाई  १४३  रनको लक्ष्य दिएको छ ।  त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भयो । जसमा जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान गरे । चितवनका सोहेल तनभिरले चार, कमलसिंह ऐरीले दुई र रञ्जित कुमारले दुई विकेट लिए । कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौंले भने चारमध्ये दुई खेलमा मात्रै जित निकालेको छ ।  यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् ।

एनपीएल क्रिकेटः आज २ खेल हुँदै, कर्णालीलाई जित्नैपर्ने दबाब

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि २ खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपरान्ह ४ कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । चितवन ४ अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले खेलमा २ अङ्क मात्र बटुलेको छ । ३ खेलबाट २ अङ्क जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले ४ खेलबाट ६ अङ्क जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।

सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनी लायन्सको हारको ह्याट्रिक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अपराजित रहेको टोली सुदूरपश्चिम रोयल्सले चौथो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको छ । सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा लुम्बिनीको यो लगातार तेस्रो हार हो ।  टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९।४ ओभरमा १ सय ४३ रन जोड्दा अलआउट भएको थियो । जवाफमा १ सय ४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले उक्त लक्ष्य ४ बल बाँकी हुँदा पूरा गर्‍यो । सुदूरपश्चिमको प्रभावशाली जितमा ओपनर विनोद भण्डारीले ४९ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।  उनले आरिफ शेखसँग चौथो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए । शेख ३९ रनमा आउट भएका थिए । यी दुईबाहेक क्रिस लिनले १६ रन बनाउँदा जोश ब्राउनले ९ रन बनाएका थिए । लुम्बिनीका लागि रुवेन ट्रम्पलमेन र अभिशेष गौतमले १(१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा दिलिप नाथले ३१ रन बनाए । त्यस्तै, ड्’यार्सी सर्ट र सुमित महर्जनले समान १८ रन बनाएका थिए । त्यस्तै, थप दोहोरो स्कोरका रुपमा गुल्बदिन नाइबको ११ रन रह्यो । लुम्बिनीले पहिलो खेलमा जित निकालेयता लगातार पराजय भोगिरहेको छ । सुदूरपश्चिम ४ खेलबाट ८ अङ्क बनाई शीर्ष स्थानमा कायम रहँदा पराजित लुम्बिनीको समान खेलबाट २ अंक मात्र रहेको छ ।