रमजान महिनाका अवसरमा २ सय परिवारलाई खाद्यान्न सामग्री वितरण
काठमाडौँ । अरेबिक क्यालेन्डरको रमजान महिनाका अवसरमा कतार च्यारिटी र कतार एयरवेजको सहकार्यमा काठमाडौँका दुई सय बिपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । रमजान फूड प्याकेट डिस्ट्रीब्यूशन कार्यक्रम अन्तर्गत गरीब, विधुवा, अनाथ, असहाय पीड़ित घरपरिवारलाई प्रतिपरिवार २५ केजी चामल ,५ केजी पिठो, ३ केजी चना , ३ केजी चीनी ,५ लीटर तेल र १ केजी नुन सहितको खाद्यान्न सामग्री वितरण गरिएको हो । कतार च्यारिटी नेपालका परियोजना प्रबन्धक इर्शाद अलि शेखले खाद्यान्न सामग्रीले बिपन्न परिवारका केहि आवश्यकता भएपनि पूरा हुने बताए । दशैं तिहार, रमजान, इद जस्ता चाडपर्वमा सबैका आ आफ्ना आवश्यकता हुने बताउँदै ती आवश्यकता पूरा हुन नसक्दा कहिलेकाहीं मानिसले चोरी डकैति गर्न समेत पछि नपर्ने भएकाले हुनेले नहुनेलाई सहयोग गर्नु मानवीय जिम्मेवारी भएको शेखले बताए । अरब देशको सबै भन्दा ठूलो दातृ निकाय कतार च्यारिटीले कतार एयरवेजको सहकार्यमा ग्रामीण विकास केन्द्र मार्फत उक्त सहयोग गरेको शेखले बताए । कार्यक्रममा कतार एयरवेजका ‘कन्ट्री म्यानेजर’ मोहम्मद अल इमामका साथै कतार च्यारिटीका अब्दुल अजीज अलथानीको उपस्थिति रहेको थियो । कतार च्यारिटीले बिगत दुई बर्षदेखि नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ। च्यारिटीले शिक्षा क्षेत्रमा अनाथ तथा कमजोर आर्थिक अवस्था भएकालाई छात्रवृत्ति, अस्पताललाई उपकरण सहयोग, बिद्यालयहरुमा चर्पी लगायतका आवश्यक पूर्वधार निर्माण, कम्जोर आर्थिक अवस्था भएकालाई बिभिन्न प्रकारका आर्थिक सहयोग गर्दै आएको छ । च्यारिटीले केहि महिनाअघि मात्रै मुस्लिम र गैरमुस्लिम समुदायमा पूँजी परिचालन गर्न सक्ने क्षमता विकास गर्नलाई काठमाडौँका बिपन्न परिवारहरुलाई पसल खोलिदिएको थियो । च्यारिटीले यस परियोजना अन्तर्गत हालै मात्र रौतहटका ६ वटा ईश्नाथ, परोहा, गौर, चन्द्रपुर, राजदेवी र माधवनारायण नगरपालिका तथा यमुनामाई गाउँपालिका समेतका २० जनामध्ये १० जनालाई किराना पसल तथा १० जनालाई ठेला पसल सञ्चालनको लागि निशुल्क रुपमा चाहिने सम्पूर्ण सर-समानहरु हस्तान्तरण गरेको थियो । गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीले हालैमात्र सर्लाही र रौतहटका करिब २६४ परिवारलाई ७२ लाख रुपैयाँ बराबरको बाख्रा वितरण गरेको थियो । त्यस्तै यसअघि च्यारिटीले तराईका बिभिन्न जिल्लाका आर्थिक रुपले पछाडी परेका, भूकम्प तथा बाढीले प्रभावित, समाजमा पछाडी पारिएका समुदायका झन्डै २००० बढी परिवारहरुलाई करिब १ करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको थियो ।
हजारमा १ शिशुलाई हुन्छ आँखाको क्यान्सर, तिलगंगा अस्पतलामा सचेतना सप्ताह मनाइँदै
काठमाडौं। तिलगङ्गा आँखा प्रतिष्ठान र आँखाको प्लास्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) रोगबारे चेतना जगाउने उद्देश्यले ‘विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह’ यही वैशाख २९ देखि जेठ ४ गतेसम्म सञ्चालन भईरहेको छ। रेटिनोब्लास्टामा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो र करीब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा यो रोग देखा पर्न सक्छ। यो वंशानुगत पनि हुन सक्छ। यसको लक्षणमा आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो टीका) देखिनु, असामान्यरुपमा आँखा रातो हुनु, आँखाको आकार ठूलो हुनाका साथै आँखाको डेढोपनाका रुपमा पनि यो रोग देखा पर्नसक्ने चिकित्सकको भनाइ छ। यो रोग पाँच वर्षमुनिका कुनै पनि बालबालिकामा देखा पर्न सक्छ। आँखा रोग विशेषज्ञद्वारा आँखाको पर्दा जाँच गरी यो रोग पत्ता लगाउन सकिने प्रतिष्ठानले जनाएको छ। लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यो रोगको उपचार गरिन्छ तर उपचार गर्न ढिलो भइसकेका बिरामीका आँखाको डल्लो नै निकाल्नुपर्ने पनि हुन सक्छ। सप्ताह उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले यस रोगबारे जनचेतना जगाउन हरेक अस्पतालको प्रसूति वार्डमा गर्भवती तथा सुत्केरी महिलालाई जानकारी गराउन सक्यौँ भने पनि ती महिलाले समयमै उपचारका लागि ल्याउन सक्ने धारणा व्यक्त गरिन्। तिलगङ्गा आँखा प्रतिष्ठानले यस रोगको उपचार र जनचेतनाका लागि गरेको पहलको प्रशंसा गर्दै उनले पैसाका कारण उपचार गराउन नसकेका बिरामीका लागि पनि लागि के कस्तो सहयोग गर्न सकिन्छ यसमा सरकार हातेमालो गर्न तयार रहेको जानकारी दिइन्। प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा डा सन्दुक रुइतले गाउँ घरका धेरै बिरामी शुरुमा जचाँउन सामुदायिक आँखा केन्द्र जाने भएकाले यस रोगको चेतना जिल्लास्थित सामुदायिक आँखा केन्द्रले प्राथमिकताका साथ गरिनुपर्ने उल्लेख गरे। उनले सबै सञ्चारमाध्यम प्रयोग गरी यस किसिमका बिरामीलाई प्रत्यक्ष निगरानीमा राखी सेवा प्रदान गर्न सकिनेमा जोड दिए। आँखाको क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णीकारले प्रतिष्ठानमा यस रोगको उपचार कसरी भइरहेको छ र कस्ता प्रविधि प्रयोग भइरहेका छन् भन्नेसम्बन्धी जानकारी दिइन्। उनका अनुसार वार्षिक ३५ देखि ४० को सङ्ख्यामा यस रोगका नयाँ बिरामी आउने गरेका छन्। पहिलेपहिले उपचारका लागि शल्यक्रिया नै गर्नुपर्ने अवस्था थियो भने अहिले नयाँ प्रविधिको प्रयोग गरी शल्यक्रिया नगरिकन पनि यस रोगको उपचार गर्ने गरिएको छ। सो अवसरमा क्यान्सरपीडितको उपचारार्थ ओपन आई ग्लोबलले ४० जनाका लागि नक्कली आँखा निःशुल्क उपलब्ध गराउन प्रतिष्ठानलाई रु चार लाख उपलब्ध गराएको थियो। नेपाललगायत विकासोन्मुख देशमा यस रोगबाट हुने मृत्युदर अधिकतम ३० देखि ७० प्रतिशत छ भने विकसित देशमा एक प्रतिशतभन्दा कम पाइन्छ। प्रतिष्ठानका अकुलोप्लाष्टिक सर्जन डा बेन लिम्बूले शिक्षा र जनचेतनाको अभावले यस रोगका बिरामी ढिलो आउने, अर्थाभावका कारण उपचार नगरी फर्कने देखिएको र कतिको उपचार गर्दागर्दै पनि आँखा तथा ज्यान जोगाउन नसकिएको स्थितिबारे आफूहरुले सात प्रदेशको २७ अस्पतालमा अनुसन्धान गर्न थालेको जानकारी दिए। सप्ताहभरि नै जनचेतनाका लागि पर्चा, पम्प्लेट, स्टिकर टाँस्ने, बालबालिकामा चित्रकला प्रतिस्पर्धा, आमासमूह र बालबालिकामा यो रोगका लक्षणसम्बन्धी तस्बीर देखाउने, विद्यालय, अस्पताल, समुदायमा पोस्टर टाँस्ने, आमसञ्चारका विभिन्न माध्यमबाट जानकारी दिइने प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु कुँवर केसीले जानकारी दिइन्।
पहाड–मधेशी जनजीवनमा आधारित : मिता आब कोना चलब
काठमाडौं । पहाड र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी सद्भाव र एकता कायम गर्न आह्वान गरी तयार पारिएको नाटक ‘मिता आब कोना चलब ’अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ । कलाकार रामभजनका मतको लेखन तथा निर्देशन रहेको नाटकमा पहाडी र मधेशी नागरिकबीच उत्पन्न मतभेद, यसका कारक र आपसी सद् -भाव लागि समुदायबाटै गरिएका प्रयत्नका विषय उठान गरिएको छ । वैशाख २० गतेदेखि आगामी जेठ पाँचगतेसम्म नाटक मञ्च नहुने निदेशकका मतले बताएका छन् । ‘दुई पटक मधेश आन्दोलनका क्रममा पहाडी र मधेशी समुदायबीचको अन्तरद्वन्द्वले ज्यादै नकारात्मक प्रभाव पार्यो,’ कामत भन्छन्, ‘जसकाकारण तराईमा बस्ने पहाडी मूलका र पहाडमा बस्ने मधेशी मूलका नेपाली जनताले लामो समयसम्म तनाव झेल्नु पर्यो, तर भावनात्मक र आपसी एकताका कारण यो अवस्था लामो समय रहेन, जनतामा एकतापुनःकायम भयो, यही विषयलाई नाटक मार्फत प्रस्तुत गरिएको छ ।’ साथै ‘मिता आबको नाच लब’ले मधेश आन्दोलन पछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको उनले बताए । मिता आब कोना चलब अर्थात् मितज्यू अब कसरी जाने ? नाटकमा सामान्य कृषिकर्म गर्ने मानिसको परिवारमा पारेको असरलाई जीवनत शैलीमा प्रस्तुत गरिएको छ । पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तर आञ्चलिक विशेषता प्रदान गरेको छ । नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ । निर्देशकका मत सहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शंकर पोखरेलले अभिनय गरेका छन् ।