चौधरी फाउण्डेसनले नेपालमा पाँच सय व्यक्तिलाई कृतिम खुट्टा उपलब्ध गराउने

काठमाडौं । चौधरी फाउण्डेसनले नेपालमा कृतिम खुट्टावितरण शुरू गरेको छ । दुर्घटना वा अन्य कुनै पनि कारण खुट्टा गुमाउनु परेका नागरिकहरू यसबाट लाभान्वित हुनेछन् । आईतबार काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालमा आयोजित एक विशेष समारोहकाबीच उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले कृतिम खुट्टा वितरण कार्यक्रमको औपचारिक शुभारम्भ गरे । उक्त अवसरमा नेपालका लागि भारतीय राजदूत मन्जिव सि“ह पुरी, भगवान महाविर विकलांग सहायता समिति (विएमभिएसएस)का फाउण्डर डा. डि. आर. मेहता, समितिका निर्देशक शतिस मेहता लगायतका महानुभावहरूको उपस्थिती रहेको थियो । चौधरी फाउण्डेसनले विएमभिएसएस स“गको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस ३० गतेसम्म र दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज अस्पतालमा माघ ३ गतेदेखि ४५ दिनसम्मका लागि यो सेवा उपलब्ध हुनेछ । दुवै ठाउँबाट ५०० व्यक्तिहरूका लागि कृतिम खुट्टा उपलब्ध गराउने योजना छ । यो सेवा पूर्ण रुपमा निःशुल्क उपलब्ध गाइएको छ । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले खुट्टा गुमाएका व्यक्तिहरुका लागि कृतिम खुट्टा उपलब्ध गराउने विशेष सेवा उपलब्ध गराएर चौधरी फाउण्डेसनले संवेदनशिल मानवीय सेवाको काम गरेको बताए । यस्तो सेवालाई थप प्रभावकारी बनाउन सरकारको तर्फबाट आवस्यक सहयोग गर्ने उनले बताए । फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले मानव सेवा आफ्नो व्यवसायको अभिन्न अंग रहेको बताउदै व्यवसायिक सफलताका लागि समाजबाट आफूले धेरै कुरा प्राप्त गरेको भन्दै अब आफ्नो जिम्मेवारी समाजलाई फिर्ता गर्नु रहेको बताए । ‘मलाई नेपाली समाजले धेरै कुरा दिएको छ । त्यसैले यो समाजका लागि योगदान गर्नु मेरो महत्वपूर्ण जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भने । ‘अहिले म व्यवसायमाभन्दा सामाजिक सेवाकाकामहरूलाई प्राथमिकतामा राखेको छु । कृतिम खुट्टाउपलब्ध गराउने यो अभियान त्यसैको परिणाम हो ।’ अध्यक्ष चौधरीले नेपालमा स्थाई रुपमा कृतिम खुट्टा उपलब्ध गराउने योजना कार्यान्वयनका लागि सरकारस“ग सहकार्यको प्रस्ताव पनि गरेका छन् । सरकारको साथ पाएमा आफुले दिगो रुपमा यो कार्यक्रम नेपालमा संचालन गर्ने र सेवा आवस्यक रहेका सम्पूर्ण नागरिकलाई यो सेवा उपलब्ध गराउन सकिने विश्वास उनले व्यक्त गरे । एक तथ्यांक अनुसार नेपालमा करिब एक लाख मानिसलाई कृतिम खुट्टाको आवस्यकता रहेको छ । ‘खुट्टा गुमाएका व्यक्ति हिडडुल गर्नन सक्ने मात्रै होइन । उसको सारा जीवन नै समस्याबाट गुज्रिएको हुन्छ’ अध्यक्ष चौधरीले भने, ‘उसका लागि खुट्टा पाउनु भनेको जीवनलाई नै उज्यालो बाटोमा प्रवेश गराउनु हो ।’ नेपालका लागि भारतीय राजदूत पुरीले एउटा व्यक्तिले कृतिम खुट्टापाउनु भनेको उसले नया“ जीवन पाउनु त हो नै राष्ट्रले समेत सवल नागरिक पाउनु हो भन्दै यस्तो उत्कृष्ट मानव सेवाको काममा संगल्न भएकोमा चौधरी फाउण्डेसन र बिएमभिएसएसलाई धन्यवाद दिए । कार्यक्रममा विएमभिएसएसका फाउण्डर डा. डि आर मेहताले जयपुर फुट्सका कृतिम खुट्टाहरूबाट विश्वभरका नागरिकहरू लाभाविन्त भएकोमा आफुलाई गौरवको महसुस हुने बताए । जयपुर फुट्स विश्वकै सबैभन्दा ठूलो कृतिम खुट्टा उपलब्ध गराउने सस्था हो । र, यो विश्वब्यापी रुपमा प्रतिष्ठित सस्था पनि हो । अमेरिकी टाईम म्यागेजिन यस सस्थाको सेवालाई विश्वकै उत्कृष्ट सेवा प्रदान गर्ने सस्थाका रुपमा अवार्ड गरेको थियो ।

नियम परिवर्तन हुँदा सवारी चालकलाई सास्ती, ट्राफिक प्रहरी भन्छ-नियम उल्लंघन गर्ने बढेपछि बाध्य भयौं

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकमा सवारी चलाउने चालकहरुले पटक-पटक फेरिने गरेका नियमहरुका कारण सास्ती खेप्दै आएका छन् । विभिन्न ठाउँका सडक कति बेला एकातर्फी(वान वे) हुन्छन् केही थाहा हुन्न । हिजोसम्म एउटा चोकबाट सवारी मोड्न पाइन्थ्यो, तर आज पाइन्न । ट्राफिक नियम परिवर्तन भइसकेको हुन्छ । त्यसकारण समय मै कार्यालय पुग्नु पर्ने कर्मचारी समयमा पुग्न सक्दैनन् । विभिन्न कार्यालयमा काम लिएर गएकाहरु गन्तव्यमा पुग्न लामो दूरी पार गर्न बाध्य हुनु पर्छ । यी समस्या काठमाडौँ उपत्यकामा सवारी चलाउनेहरुले आज मात्र होइन, विगत लामो समयदेखि भोग्दै आएका छन् । अहिलेपनि काठमाडौँको पद्मोदयमोड, कमलादी र पुतलीसडकमा सवारी चालकले यस्तै खाले समस्या झेलिरहेका छन् । यस सम्बन्धमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले सवारी चालकहरुले लेन अनुशासन नमानेकाले अहिले पद्मोदयमोड, कमलादी र पुतलीसडक क्षेत्रमा डोरीले लाइन तानिएको बताए । ट्राफिक प्रहरीले जनतालाई दुःख दिनका लागि पटक पटक ट्राफिक नियम परिवर्तन गरेको होइन । सवारी चलाउने भएपछि लेन नियम त पालना गर्नु पर्यो नि ? नियम नमान्ने अनि अहिले यही नियम पालना गराउनका लागि ट्राफिकले डोरी तान्न बाध्य भएको कुरालाई दुःख दिन खोजेको रुपमा नबुझ्न ट्राफिक प्रवक्ता सापकोटाले आग्रह गरे । ट्राफिक प्रहरी राखेरपनि भएन, सवारी चालकहरुले लेनक्रस गरेर हैरान पारे, त्यसकारण बाध्य भएर डिभाइडर राखेर डोरी टाग्न बाध्य भयौं-प्रवक्ता सापकोटाले भने । पिक आवरमा जाम हुन नदिन, भीआइपीहरुको आवतजावत हुने स्थान र सडकको अवस्थाको अध्ययन र विश्लेषण गरेर ट्राफिक प्रहरीले वान वे, डिभाइडर राखेर डोरी तान्ने जस्तो गतिविधि गरेको प्रवक्ता सापकोटाले बताए ।

होलबडी परीक्षण गर्ने हो ? काठमाडौँका यी ९ अस्पताल, कस्ले लिन्छन् कति शुल्क ?

काठमाडौँ । नेपालीहरु पनि बिस्तारै आफ्नो स्वास्थ्यप्रति चनाखो हुन थालेका छन् । रोग लागेपछि मात्र उपचारका लागि अस्पताल जाने होइन, वर्षमा एक पटक शरीरको अवस्था के कस्तो छ भनेर होलबडी परीक्षण(चेकअप) गर्नेहरुको संख्यापनि बिस्तारै बढ्न थालेको छ । काठमाडौंको प्रायः जस्तो अस्पतालमा होलबडी चेकअपको हुन्छ । तर, यो सेवा बापतको शुल्क भने अस्पतालै पिच्छे फरक छ । यही शुल्कको फरकपनले सेवाको गुणस्तरपनि फरक छ कि ? सेवाग्राहीहरु अलमलमा पर्ने गरेका छन् । यदी तपाईँपनि होलबडी चेकअप गर्दै हुनुहुन्छ भने कुन अस्पतालमा कति शुल्क लाग्छ भन्ने कुरामा कत्तिको जानकार हुनुहुन्छ ? आज हामी काठमाडौँमा उपत्यकामा रहेका र होल बडी चेकअप हुने केही अस्पताल र ती अस्पतालले सामान्य होल बडी चेकअपमा कति सेवा शुल्क लिन्छन् भन्ने बारेमा जानकारी दिंदैछौं । १. अल्का अस्पताल: जावलाखेलमा रहेको अल्का अस्पतालले जेनेरल होलबडी चेकअपको सेवा शुल्क ७ हजार ५ सय रुपैयाँले लिने गरेको छ । २. ओम अस्पतालः चाबाहिलमा रहेको ओम अस्पतालमा होलबडी चेकअपको महिला र पुरुषलाई फरक–फरक शुल्क लिने गरिन्छ । महिलाको लागि १३ हजार ९ सय ५ रुपैयाँ र पुरुषको लागि १४ हजार ६ सय ६५ रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ । ३. बि एन बि अस्पतालः ग्वार्को स्थित बि एन बि अस्पतालमा होलबडी चेकअपको शुल्क ४० बर्ष भन्दा मुनिको लागि ९ हजारदेखि १८ हजारसम्म र ४० वर्ष भन्दा माथिका सेवाग्राहीको लागि २० हजारसम्म लिइन्छ । ४. नेपाल मेडिकल कलेज (टिचिङ अस्पताल) जोरपाटीमा रहेको यस अस्पतालमा होलबडी चेकअप ५ हजार रुपैयाँमा गर्न सकिन्छ । ५. नर्भिक अस्पताल थापथलीमा रहेको नर्भिक अस्पतालमा होलबडी चेकअप गर्न ७ हजारदेखि २० हजारसम्म लाग्ने बताइन्छ । ६. किष्ट मेडिकल कलेज तथा टिचिङ अस्पताल ग्वार्कोमा रहेको यस अस्पतालमा ९ हजारमा होलबडी चेकअप गर्न सकिन्छ । सामान्य चेकअप मात्र गर्ने हो भने चाँही ३ हजार शुल्क लाग्ने अस्पतालले जनाएको छ । ७. काठमाडौँ मेडिकल कलेज तथा टिचिङ अस्पताल सिनामंगल स्थित यस अस्पताल ५ हजार रुपैयाँमा होलबडी चेकअपको गर्न सकिन्छ । ८. ग्रान्डी अस्पताल टोखामा रहेको यस अस्पतालमा २ हजारदेखि २० हजार रुपैयाँसम्ममा होलबडी चेकअप गर्न सकिन्छ । ९. मेडीसिटी अस्पताल नक्खुमा रहेको यस अस्पतालमा ४ हजारदेखि २१ हजार सम्म होलबडी चेकअपको सेवा शुल्क निर्धारण गरिएको छ । होलबडी चेकअपमा के के परीक्षण गरिन्छ ? होलबडी भन्ने बित्तिकै सम्पूर्ण शरीर भन्ने बुझिन्छ । सामान्यतया होलबडी चेकअपमा रगत जाँच, दिसा जाँच, पिसाब जाँच, डेन्टल जाँच, छातीको एक्स रे, मुटुको जाँच र चिकित्सक सरसल्लाह लिने गरिन्छ । होलबडी चेकअप किन ? बढ्दो प्रदूषण, अस्तव्यस्त जीवनशैली र खानपानले गर्दा आजकल निरोगी मानिस भेट्टाउनै मुस्किल भईसकेको छ । ठूलै रोगले नसताए पनि साना साना रोगले प्रायः मानिसहरुलाई शारीरिक र मानसिक रुपमा सताईरहेको हुन्छ । त्यसैलेपनि वर्षमा १ पटक होलबडी चेकअप गर्नुलाई राम्रो मानिन्छ । आफ्नो स्वास्थ्यको जाँच सामान्यतया उपयोगी नै हुन्छ र यो कुनैपनि उमेरमा गर्न सकिन्छ । कस्तो मानिसले कहिले जाँच गराउने ? यदि तपाईं ३० बर्षभन्दा कम उमेरको अनि स्वस्थ हुनुहुन्छ, धुम्रपान गर्नु हुन्न र तपाईंलाई कुनै रोगको जोखिम देखा परेको छैन भने, वजन बढी छैन र डाक्टरद्वारा दिईएको औषधी खानु भएको छैन भने तपाईंले हरेक दुई देखि तीन वर्षसम्म चेक अप गर्नसक्नु हुन्छ । यदी तपाईंको उमेर ३०-४० वर्षको बीचमा छ र तपाईं स्वस्थ व्यक्तिमा पर्नुहुन्छ भने तपाईंले हरेक वर्षको चेकअप गर्दा राम्रो हुन्छ । र, यदी तपाईंको उमेर ५० नाघीसकेको छ भने तपाईंले नछुट्टाई हरेक बर्ष चेकअप गर्नु जरुरी छ ।