मानवबेचबिखन तथा हिंसा प्रभावितलाई आत्मरक्षा तालिम
काठमाडौँ । चाइल्ड रेक्यू नेपालको सहयोगमा शक्ति समूहले मानववेचविखन तथा हिंसा प्रभावितहरुलाई चार दिने आत्मरक्षाको तालिम माघ १५ गतेदेखि शुरु गरेको छ । शक्ति समूहकी संस्थापक सदस्य तथा कार्यकारी निर्देशक सुनिता दनुवारको अध्यक्षतामा भएको उद्घाटन समारोह टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल आत्मरक्षा संघका अध्यक्ष डि.बि. रानापाल, जिल्ला खेलकुद विकास कार्यालयको अधिकृत धनअर्जुन राई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा स्वागत र यसको उद्देश्यमाथि शक्ति समूहको संस्थापक सदस्य तथा संरक्षण संयोजक चरिमाया तामाङले प्रकाश पारेकी थिइन् । तालिममा सहभागीहरुलाई सन्जु महर्जन, राधिका ऐर हमाल र प्रभा महर्जनले सहजीकरण गरिरहेका छन् । शक्ति समूहले विगत दुई दशक भन्दा लामो समयदेखि मानबबेचविखनको विरुद्दमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
छात्रा शौचालय बनाउन एभरेष्ट बैंकले गर्यो चार लाख सहयोग
काठमाडौँ । एभरेष्ट बैंकले नवलपरासी जिल्लामा शौचालय निर्माण गर्न जोन्टा क्लबलाई चेक हस्तान्तरण गरेको छ । एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठले क्लबका प्रतिनिधि सिमा गोल्छा र समीना श्रेष्ठलाई सरकारी स्कुलमा महिला विद्यार्थीका लागि शौचालय निर्माण गर्न चार लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । स्वच्छता र शौचालय अभावका कारण महिला विद्यार्थीको स्कुल छोड्ने संख्यामा सुधार आउने बैंकले आशा व्यक्त गरेको छ । कार्यक्रममा बैंकका डीजीएम गिरिश कोहली, समीना श्रेष्ठ, नवलपरासी शौचालय निर्माण प्रोजेक्टका सदस्य र अन्य प्रतिष्ठित व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो । बैंकका ग्राहकहरुको संख्या १० लाख भन्दा बढि रहेको छ । हालै भएको क्यामेलस् रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ ।
वैदेशिक रोजगारीले थप्दैछ परिवारमा बिचल्ली
काठमाडौं । धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन् । परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति पीडादायी छ । परिवारको सुखद भविष्यको आशामा पाल्पाको रामपुर नगरपालिका–६ तिलकपुरका ३७ वर्षीय डोलराज कुमाल तीन वर्ष अघि मलेशिया पुगेका थिए । उनी दुई छोरी र श्रीमतीको लालनपालन तथा साहुको ऋण तिर्न विदेशिएका थिए । उनले सोचेजस्तो भैदिएन वैदेशिक रोजगारी । कुमालको गएको असार १३ गते मलेशियामा निधन भयो । श्रीमानले धन कमाएर ल्याउँला र सुखसँग जीवन बिताउँला भन्ने श्रीमती जमुनाको सपना थियो, त्यो भताभुङ्ग भयो । एक्कासी काठको बाकसमा शव आएपछि श्रीमान् घर आउने प्रतीक्षामा दिन गनेर बसेकी जमुनाको जीवनकै भरोसा टुट्यो, सहारा गुम्यो । लाउँला खाउँला भन्ने उमेरमा भएको श्रीमानको अकल्पनीय मृत्युको बज्रपातले ३५ वर्षीया जमुनालाई ‘न दिनमा भोक न रातमा निद्रा’ को स्थितिमा पुर्याइदियो । जमुनाकी दुई छोरी छन् । पन्ध्र वर्षकी जेठी छोरी कक्षा १० मा र चौध वर्षकी कान्छी छोरी कक्षा ८ मा पढ्छन् । दुई छोरी अहिले काकासँग बस्छन् । जमुना दिनभर मजदूरी गर्छिन् । सानो झुप्रोमा उनले अहिले एक्लो र निरस जीवन व्यतित गर्दै आएकी छन् । दाजुको वैदेशिक रोजगारीमा अचानक निधन भएपछि दुई छोरीको लालनपालन र पठनपाठनका लागि आफूसँगै राखेर सहारा दिइरहेको डोलराजका साहिँला भाइ कृष्णले बताए । जमुना आजभन्दा १८ वर्ष अघि डोलराजसँग वैवाहिक जीवनमा बाँधिएकी थिइन् । दिनहुँ साहुको नमिठो वचन र चर्को ब्याजको पीडा सहन नसके पछि बाध्य भएर डोलराज विदेश पुगे । उनी विदेश पुगेपछि घरपरिवारमा खुशियाली छाएको थियो तर, त्यो खुशी चिरकालसम्म टिक्न सकेन । तीन वर्षसम्म विदेश बसेर कमाएको रकमले घरायसी खर्च र विदेश जाँदा लिएको ऋण चुक्ता गर्न नसकेपछि उनले ऋण तिर्न पुग्दो कमाएर मात्रै घर फिर्छु भनेर परिवारसँग वाचा गरेका थिए । श्रीमानको मृत्यु हुनु दुई महिना अघि फोनमा अन्तिम पटक कुरा भएको जमुना सम्झिन्छिन् । जमुनाले भनिन् – “म सधैं घरायसी काममा अल्मलिएको हुन्थे । श्रीमान् वैदेशिक रोजगारीमा व्यस्त थिए । श्रीमानसँग नि धेरै कुरा फोनमा हुन्नथ्यो । हामी दुबैलाई साहुको ऋण कसरी तिर्ने भन्ने चिन्ता मात्र भइरहन्थ्यो ।” मिलनसार स्वभावका छोरा डोलराजले आफूप्रति दर्शाउने गरेको मायालाई सम्झँदै बिलौना गर्छिन् ७० वर्षीय आमा गनि कुमाल । उनले भनिन् – “छोरासँग फोनमा कुरा गर्दा घर आउ भन्थें । उनी साहुको ऋण तिर्न सकेको छैन आमा, सबै ऋण तिर्न सक्ने भएपछि मात्र घर आउँछु भन्थे । राम्रो सँग बस्नू, बिरामी परे औषधिमूलो गर्नू भनेर सम्झाउँथे ।” डोलराजका बुबा काला कुमाल ८२ वर्षको भए । उनी आफ्नो घरमा आउने जो कोहीसँग पनि छोरो गुमेकामा खिन्नता प्रकट गर्छन् । डोलराजको आकस्मिक मृत्युले कुमाल परिवार र आफन्तजनलाई नपुर्ने घाउ बनाइदियो । त्यस्तै, चापाकोट नगरपालिका–७ केवलघारीका ३८ वर्षीय गणेश गैरेको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएपछि उनको परिवार बिचल्लीमा छ । आठ महिना अघि वैदेशिक रोजगारीका लागि उनी कतारमा पुगेका थिए । गएको कात्तिक २ गते गाडीभित्रै मृत अवस्थामा गैरे भेटिएका थिए । कम्पनीले शव नेपाल ल्याउने प्रक्रियामा आलटाल गरेका कारण दुई महिनापछि मात्र उनको शव नेपाल भित्रियो । गत पुस २ गते मात्रै उनको साँखरस्थित कालीगण्डकीको किनारमा दाहसंस्कार हुनसक्यो । साउदी अरबमा तीन तला माथिबाट खसेर घाइते भएका रामपुर नगरपालिका–५ सुन्दरटोलका चन्द्रबहादुर परियार अब सदाका लागि अर्काको सहारामा जीवन बिताउन बाध्य भएका छन् । ऋण खोजेर साउदी पुगेको सात दिनमै उनी तीन तला माथिबाट खस्न पुगे । परिवारलाई सहारा दिन भनी विदेश हिँडेका उनी जीवनभर अर्काकै सहारामा बाँच्नु पर्ने बाध्यता आइलाग्यो । आश बोकी विदेशी भूमि जानेहरुमा कतिपय लास बनी आउँछन् । केहीको सुदिन फिर्छन् भने केहीले पाउनु दुःख पाउँछन् । चन्द्रबहादुरलाई पनि दुःखको पहाड आइलाग्यो । उनलाई अब जीवनभर अर्काको साहानमा बाँच्नुको विकल्प छैन । एक छोरा, एक छोरी र श्रीमतीको पालनपोषण गर्न र घरव्यवहार सहज रुपमा चलाउन अनेकौँ सपना बोकेर विदेश पुगेका चन्द्रबहादुर गएको सात दिनमै राति सुत्ने क्रममा तीन तलामाथिबाट खसेपछि अपाङ्ग भए । आफू अपाङ्ग भएर बाँच्नुको पीडा जति छ मनमा त्यो भन्दा दोब्बर पीडा उनलाई अब उपचार कसरी गर्ने भन्ने छ । ‘जिन्दगी खरानी भयो हे बरै बग्यो नि तिरैतिर, जानेलाई हाइसुक्खै भयो हे बरै बाँच्नेलाई पिरैपिर’ भनै झै हालतमा छन् वैदेशिक रोजगारीमा जाने धेरैको । थुप्रैको परिवार उजाडिएको छ । विदेशी भूमिमै पनि लाखौँ नेपाली तड्पिएर बाँचिरहेका छन् । तैपनि राहदानी बनाउने र विमानस्थलमा वैदेशिक रोजगारीका निम्ति लामबद्ध भएर बस्ने युवाको सङ्ख्या दिनहुँ बढिरहेको छ । रासस