४४ मध्ये २९ वडा सचिवबिहीन, सामाजिक सुरुक्षा भत्ता वितरण गर्न समस्या

हुम्ला । हिमाली जिल्ला हुम्लाका सात गाउँपालिकाका ४४ वडा कार्यलयमध्ये २९ वडाहरू सचिवबिहीन छन् । सबै गाउँपालिकाले प्रत्येक वडामा सचिवको व्यवस्थाका लागि मन्त्रालयमा पत्र पठाउँदा पनि सचिवको व्यवस्था नहुँदा वडा कार्यलय सचिवबिहीन भएका हुन् । आठ वडा रहेको सिमकोट गाउँपालिकामा एक मात्र सचिवको व्यवस्था भएको र अरु सबैमा सचिव खाली रहेको वडा नं ४, ५ र ६ वडाको जिम्मेवारी लिएका वडासचिव धर्मराज रोकायाले बताए । मन्त्रालयबाट सचिवको व्यवस्था नहुँदा काम गर्न निकै कठिन भइरहेको उनको गुनासो थियो । यसरी सचिव नभएका वडामा कतिपयमा करारका कर्मचारीले र कतिमा त वडाध्यक्षबाटै कार्य सम्पादन भइरहेको सचिव रोकायाले बताए । ठूलो नाम्खा गाउँपालिकाको ८ वटा वडामा तीन मात्र सचिव कार्यरत रहेको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए । गाउँपालिका केन्द्र पुग्न तीन दिनसम्म पैदलयात्रा लाग्ने उक्त गाउँपालिकामा सचिव अभावले गर्दा काम गर्न गाह्रो भएको छ । त्यस्तै खार्पुनाथ गाउँपालिकामा पाँच वटा वडामध्ये एक वडामा मात्र सचिव भएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले बताए । सचिव अभावले हालसम्म प्रथम चौमासिक सामाजिक सुरुक्षा भत्ता वितरण गर्न नसकिएको उनको भनाइ थियो । गाउँ पालिकाको अन्य दैनिक प्रशासनिक काम पनि सचिव अभावले प्रभावित भएको अधिकृत शाहीले बताए । आठ वटा वडा भएको सर्केगाड गाउँपालिकामा पनि हाल चार जना मात्र सचिव कार्यरत रहेको उक्त गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेश पाण्डेले बताए । त्यस्तै चङ्खेली गाउँपालिकामा छ वडामध्ये दुई मात्र सचिव कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत धु्रव फुँयालको भनाइ थियो । जिल्लाको दक्षिण क्षेत्रको अदानचुली गाउँपालिकाका छ वडामध्ये दुई वडामा मात्र सचिव छन् । सचिवका लागि पटक-पटक मन्त्रालयसँग समन्वय गर्दा केही नलागेको र हाल ती भएका दुई सचिवबाट जेनतेन काम चलाइएको गाउँपालिका अध्यक्ष दल फडेराले बताए। दक्षिण क्षेत्रमा पर्ने अर्को ताँजाकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीका अनुसार ५ वडामध्ये दुई वडामा मात्र सचिव छन् । जिल्लाका ४४ वडामध्ये २९ वडा कार्यलय सचिवबिहीन हुँदा नागरिकता, जन्म, मृत्यु दर्ता, चौमासिक वृद्धाभत्ता वितरणमा समस्या भएको छ । रासस

‘दशैंमा पिङ खेलेर धर्ती छाडे मृत्युपछि स्वर्ग पुगिने’

काठमाडौं। नेपालीमा पिङ र अङ्ग्रेजीमा स्विङ नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्।  नेपाली गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन छ। दसैंमा पिङमा बसेर धर्ती  छाड्नाले मृत्युपछि स्वर्ग पुगिने जनविश्वास छ। विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ। लोप हुँदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँ र सहरहरुमा युवाहरुको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन्। सरररऽऽऽ चचहुइ गर्दै पिङ खेल्नुको मज्जै बेग्लै हुन्छ। काठमाडौंका गल्लीगल्लीमा रहेका थोरै खाली स्थानमा पनि पिङ हालिएको छ। कतै बाँसको लिंगो गाडेर त कतै रुखको हाँगामा डोरी बाँधेर पिङ हालिएको छ। यसको सामाजिक महत्व भनेको घर गाउँलेहरु सबै एकै ठाउँमा जम्मा भएर पालैपालो पिङ खेलेर खुसी मनाँउदै एकआपासमा सौहार्दताको आदानप्रदान गर्ने गर्छन् ।

दशैंमा सिन्धुली जाने यात्रुसँग लुट्दै यातायात व्यवसायी, ६ सय भाडा तोकिएकोमा १ हजार असुल्दै

काठमाडौं । दशैंमा घर फर्कने यात्रुसँग यातायात व्यवसायीले मनपरी भाडा उठाएर ब्रम्हलुट मच्चाएका छन् । काठमाडौंबाट सिन्धुली हुँदै घर फर्कने यात्रुसँग व्यवसायीले मनपरी भाडा असुलेका हुन् । सिन्डिकेट हटाएको भन्दै आत्मरतीमा रमाएको झण्डै दुई तिहाइ बहुमतको सरकार व्यवसायीले मनपरी भाडा उठाउँदा मुक दर्शक बनेको छ । सिन्धुली जाने यात्रुसँग व्यवसायीले १ हजार रुपैयाँ भाडा लिँदै आएका छन् । अरु बेला यस रुटमा चल्ने सवारी साधनले ६ सय रुपैयाँ लिने गरेका थिए । ब्यवसायीले अग्रिम टिकट बुकिङसमेत गरेका छैनन् । उनीहरुले सवारी साधन आएपछि भेडाबाख्रा खाँदेजस्तै खाँदेर गाडीमै पैसा असुल्ने गरेका छन् । यात्रुलाई टिकट पनि उपलब्ध गराउँदैनन् । काठमाडौं बस्दै आएकी सिन्धुलीकी दुर्गा थापा कोटेश्वरस्थित कमलामाई यातायात काउन्टरमा टिकट काट्न जाँदा यसै गरी ठगिइन् । उनी ३० गते घर फर्कन चाहन्थिन् । ब्यवसायीले १ हजार रुपैयाँ जम्मा गरेर जान भने । उनले टिकट मागिन् । तर ब्यवसायीले टिकट दिन नसक्ने बताए । ‘यो त ब्रम्हलुटै भयो,’ उनले भनिन्, ‘अहिलेसम्म मैले यस्तो मन परी देखेको थिइन । स्थिर सरकार आएका बेला ब्यवसायीले ब्रम्हलुट मच्चाएको टुलुटुलु हेरेर बस्नु परेको छ ।’ उनले सिन्धुलीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादव र यातायात ब्यवसायी संघका अध्यक्ष गणेश पाण्डेलाई समेत गुनासो गरेको तर सुनुवाइ नभएको बताइन् । तीनकुनेस्थित हिलटप जुनार सहकारीका प्रबन्ध संचालक सुमनबिक्रम थापाले पनि घर फर्कन टिकट पाएनन् । उनलाई पनि चाबहिलस्थित काबेली डिलक्सको काउन्टरका कर्मचारीले १ हजार रुपैयाँ तिरे सिन्धुलीसम्म लगिदिने बताए । ‘यो त सरासर लुट हो,’ उनले भने, ‘सरकारले सिन्डिकेट हटाएको सुन्दा खुशी लागेको थियो । अहिले आफैंले महासिन्डिकेट भोग्नु पर्यो । पहिलो पटक सरकार नभएको अनुभूति भयो ।’ यातायात ब्यवसायीले गरेको मनोमानी सुनेर यो सम्बाददाता चावहिलस्थित काबेली डिलक्सको काउन्टरमा टिकट लिन पुगेको थियो । त्यहाँका कर्मचारीले सोमबारको गाडीमा सिन्धुली जान १ हजार रुपैयाँ जम्मा गर्न भने । टिकट माग्दा उनले दिन नसक्ने बतए । ‘हामीले १ हजार रुपैयाँको टिकट दिए प्रहरीले थुनि हाल्छ नि,’ उनले भने, ‘टिकट नकाटी लैजान्छौं । सबै काउन्टरले त्यसै गरेका छन् ।’ उनले सबै सवारी साधनका धनीले टिकट नकाट्न भनेको बताए । व्यवसायीको मनपरी बारे सिन्धुलीका एसपी रामेश्वर यादवलाई जानकारी गराउँदा उनले काठमाडौबाट फर्कने सवारी साधनले मनपरी गरेकाले काठमाडौंकै प्रहरीलाई गुनासो गर्न भने । ‘सिन्धुलीबाट जाने सवारी साधनले बढी भाडा लिएको भए म काराबाही गर्ने थिएँ,’ उनले भने, काठमाडौंमा त्यहीँको प्रहरीले कारबाही गर्छ ।’ दशैंका मुखमा यात्रु ठग्ने ब्यवसायीलाई दुई तिहाइ बहुमत प्राप्त सरकारले कारबाही गर्न नसकेकोमा यात्रु धेरै आक्रोशित देखिन्थे । सिन्धुलीका लागि टिकट लिन चाबहिल पुगेका एक यात्रुले काउन्टरमा १ हजार रुपैयाँ भाडा मागिएपछि आक्रोशित हुँदै भने, ‘दशैं यात्रु लुट्ने सिजन हो ? अरु बेला ६ सय रुपैयाँ भाडा लाग्ने ठाउँमा १ हजार रुपैयाँ किन तिर्ने ?’ उनले मुलुकमा सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरे, ‘सरकारले सिन्डीकेट हटाएको हो कि थपेको हो रु यात्रुले सबै काउन्टरमा छापा मारेर व्यवसायीको मनोमानीविरुद्ध ठूलै एक्सन लिनु पर्ने बताएका छन् । ‘सिन्धुली जाने हरेक सवारी साधनमा छापा मारेर यात्रुसँग टिकट माग्नु पर्छ,’ एक यात्रुले आक्रोसित हुँदै भने, ‘टिकट नभेटे तिनीहरुको रुट परमिट खारेज गरेर काराबाही गर्नु पर्छ ।’