अस्पताल लैजान पनि धामीझाँक्रीको सिफारिस, धामी पठाएमात्रै अस्पताल

रुकुम । अस्पतालमा जँचाउन लैजान पनि धामीझाँक्रीको सिफारिस चाहिन्छ भन्दा पत्याउन गाह्रो पर्छ। रुकुमको सिस्नेका बासिन्दा भने यस्तै नियती भोगिरहेका छन्। बिरामी भए पनि धामीको सिफरिस बिना उनीहरु अस्पताल जान सक्दैनन्। उपचार नपाएरै जिल्लास्थित ठूलेसिस्नेका १५ वर्षीय रुपे बुढाको २०७१ साउनमा निधन भयो। एक वर्षपछि उनका बुबा प्रजितले पनि संसार छाडे। बिरामी भएका प्रजितको उपचार त टाढैको कुरा के रोग लागेको थियो भन्नेसम्म पत्ता लागेन। उनलाई धामीले अस्पताल नलैजानू भनेपछि परिवारले झारफुकमै समय बितायो। यस्ते बलबहादुर बुढा, जोखे बुढा, गाउँमती, दलजित, कमललाल, देबबहादुरसहितका व्यक्तिको पनि धामीले अस्पताल नलैजानु भनेकै कारण ज्यान गयो। त्यस भेगमा बासिन्दा बिरामी भए भने अस्पताल लैजाने नलैजान भन्ने निर्णय आफन्त भन्दा पनि धामी झाक्रीमा भर पर्छ। कान्तिपुर दैनिकबाट ।

विस्तार सक्नुपर्ने बेलासम्म आधा काम, कलंकीकोटेश्वर सडक विस्तारमा ढिलाइ

काठमाडौं । अचाक्ली धुलो भयो। घरबाट बाहिर निस्कनै सकस भयो। अहिले उपत्यकावासी हरेकले यसै भन्छन्। धुलो पनि किन नहोस् रु कामको गति कछुवाको जस्तै छ। अव्यवस्थित पनि उत्तिकै। उपत्यकाको केन्द्रमा थालिएको १० किलोमिटर लामो सडक विस्तार कार्य ४ वर्षमा आधा मात्र भएको छ। सडक भत्काउने काम चलिरहन्छ, तर बनाउने टुंगो हुँदैन। समस्या यहीँनेर देखिएको छ। कलंकी(कोटेश्वर सडकखण्डको अवस्था हो यो। यो सडकको दूरी १० दशमलव ३९ किलोमिटर छ। चार लेनको यो सडक आठ लेन बनाउन २०१२ डिसेम्बर १८ मा सम्झौता भएको हो। सम्झौताअनुसार सडक विस्तार र निर्माण २०१६ मे १५ मा सक्नुपर्ने हो, तर अहिलेसम्म ५० प्रतिशतमात्र काम सकिएको छ। मूल सडक दायाँ(बायाँ भत्काएर छाडिएको छ। सडकमा निर्माण सामग्री पनि अव्यवस्थितरुपमा राखिएको छ। खाल्डाखुल्डी उत्तिकै छन्। अव्यवस्थित ढंगले दुर्गन्ध त्यस्तै छ। धुलोको त कुरै नगरौँ। सवारी गुड्दा धुलोले सडकै ढाकिन्छ। सडक आसपासका घरको रंग नै फेरिएको छ। सडकमा १० मिनेटमात्रै उभिने हो भने मान्छेको समेत रंग बदलिन्छ। सडक विस्तारको जिम्मा पाएको चक्रपथ सुधार योजनाले भूकम्प र भारतीय नाकाबन्दीका कारण विस्तारमा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको जनाएको छ। काम थालेको ४ वर्ष भएको छ, चक्रपथ सुधार योजना प्रमुख ज्ञानेन्द्र झाले भने, भूकम्प, नाकाबन्दी जस्ता कारणले निर्माण ढिला हुन पुग्यो, अहिलेसम्म करिबकरिब ५० प्रतिशत काममात्र सम्पन्न भएको छ। नागरिक दैनिकबाट ।

नेपालमा गरिवको संख्या ६१ लाख, डेढ अर्ब बजेट रहेको गरिवी निवायरण मन्त्रालयसँग जम्मा एउटामात्रै कार्यक्रम

काठमाडौं । सरकारले गरिबी निवारणसम्बन्धी ४६ कार्यक्रम सञ्चालन गरेको छ । तर, ती कार्यक्रम सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट होइन, अन्य १४ मन्त्रालयबाट सञ्चालित छन् । देशभर करिब ६१ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको केन्द्रीय तथ्यांक विभागले ०७० मा गरेको अध्ययन प्रतिवेदन छ । ती गरिबको गरिबी निवारण गर्न बनेको सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिबका लागि एउटा कार्यक्रम मात्र सञ्चालन गरेको छ । करिब १ अर्ब ६७ करोड बजेट रहेको मन्त्रालयले पश्चिमी उच्च पहाडी जिल्ला गरिबी निवारण कार्यक्रम मात्र सञ्चालन गरेको छ । यो कार्यक्रम बझाङ, बाजुरा, दैलेख, हुम्ला, जाजरकोट, कालिकोट, रोल्पा र रुकुममा सञ्चालित छ । गरिबी निवारण कार्यक्रमविहीन भएपछि मन्त्रालय राख्नुको अर्थ नरहेको मन्त्री हृदयराम थानीले गुनासो गरेका छन् । थानीको गुनासो छ, ‘गरिबी निवारणसम्बन्धी कार्यक्रम अन्य १४ मन्त्रालयले सञ्चालन गरिरहेका छन् । ती कार्यक्रम यस मन्त्रालयको सञ्चालन गरौं भन्दा कोही मान्दैनन् । यस्तो अवस्थामा यो मन्त्रालय किन राख्नेः खारेज गरे हुन्छ ।’ गरिबी निवारण कोष, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, गरिबसँग विश्वेश्वर, किसानलाई पेन्सन, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य विमाजस्ता कार्यक्रम गरिबी निवारण मन्त्रालयको समन्वयमा सञ्चालन हुनुपर्ने माग गरिबी निवारण मन्त्रालयको छ । दातृनिकाय, अन्र्तराष्ट्रिय गैरसरकारी तथा राष्ट्रिय गैरसकारी संस्थाले सञ्चालन गरेका गरिबी निवारणसँग सम्बन्धीत कार्यक्रम पनि आफ्नो मन्त्रालयको समन्वयमा हुनुपर्ने मन्त्री थानीले बताए । ६ महिनादेखि गरिबसम्बन्धी सबै कार्यक्रम गरिबी निवारण मन्त्रालय मातहत सञ्चालन गर्न विकास परिषद्को ३७ औं बैठकदेखि निरन्तर माग गर्दै आएको उनको भनाइ छ । गरिबी निवारण कोष प्रधानमन्त्री कार्यालयबाट सञ्चालित छ । तर, मन्त्री थानीले सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मातहत राख्न माग गरेका छन् । कोषको ऐनमा सम्पर्क मन्त्रालय प्रधानमन्त्री कार्यालय हुने उल्लेख भएकाले गरिबी निवारण मन्त्रालयमा लैजान नमिल्ने मुख्यसचिव डा। सोमलाल सुवेदीले बताए । अघिल्लो वर्ष एक अर्ब ३५ करोड रूपैयाँ बजेट भएको सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कर्मचारीको पनि कमी छ । ६४ जना कर्मचारीको दरबन्दी रहेकोे यो मन्त्रालयमा ५२ जना कर्मचारी कार्यरत छन् । मन्त्रालय गठन भएको करिब साढे चार वर्षमा सातजना सचिव फेरिएका छन् । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिबीका कार्यक्रम आफ्नो निर्णयमा सञ्चालन गर्न नपाएको मात्र होइन सहकारी तर्फको निर्णय पनि अर्को मन्त्रालयबाट हुने गरेको छ । राष्ट्रिय सहकारी विकास बोर्डमा कृषिमन्त्री अध्यक्ष हुने व्यवस्था छ । बोर्ड ऐन २०४९ मा कार्यसञ्चालनका लागि गठित कार्यकारी समितिको अध्यक्ष कृषिमन्त्री वा राज्यमन्त्री हुने व्यवस्था छ । ऐनमा बोर्डको सम्पर्क मन्त्रालय पनि कृषि मन्त्रालय नै तोकिएको छ । तर, बोर्डको अनुगमन र व्यवस्थापनको काम सहकारी तथा गरिबी निवारण मन्त्रालयले गर्दै आएको छ । नयाँ पत्रिका दैनिकबाट ।