ठूला टोली घर फर्किएसँगै थप रोमाञ्चक बन्दै विश्वकप, गोल्डेन बुट ह्यारी केनले लैजाने सम्भावना
काठमाडौं । रुसमा जारी विश्वकपको प्रिक्वाटरफाइनलका खेलहरू गएराति समाप्त भएसँगै प्रतियोगिताको रोमाञ्च उत्कर्षमा पुगेको छ । रुस विश्वकपको अन्तिम आठसम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीको प्रदर्शन निराशाजनक रह्यो । प्रतियोगितामा कम चर्चित खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना टिमलाई अघि बढाएका छन् । अघिल्लो विजेता जर्मनी समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग पराजित हुँदै घर फर्कन बाध्य भयो भने उपविजेता अर्जेन्टिना प्रिक्वाटर फाइलनमा फ्रान्ससँग पराजित हुँदै घर फर्किएको छ । त्यसैगरी स्पेन आयोजक रुससँग, पोर्चुगल उरुग्वेसँग र मेक्सिको ब्राजिलसँग पराजित हुँदै प्रिक्वाटर फाइलनबाट घर फर्किए । प्रतियोगितामा पाँच पटकको विजेता ब्राजिल र एक पटकको विजेता फ्रान्सको प्रदर्शन भने उत्कृष्ट रहँदै आएको छ । प्रतियोगितामा उत्कृष्ट मानिएका अर्जेन्टिनाका लियोनल मेस्सी, इजिप्टका मोहमद सलाह, कोलम्बियाका जेम्स रोड्रिगेज, जर्मनीका थोमम मुलर, स्पेनका मार्को एसेन्सियो र आन्द्रे इनिस्टाजस्ता खेलाडीको प्रदर्शन निराशाजनक देखियो । प्रतियोगितामा स्विडेनका भिक्टर लिन्डेलोफ, रुसका गोलकिपर इगोर अकिनफेभ, रुसकै राइटब्याक मारियो फर्नान्डेज, उरुग्वेका डियगो लाक्साल्ट, फ्रान्सका पाउल पोग्बा, जापानका ताकासी इनुई, फ्रान्सका कलियन एमबाप्पे, उरुग्वेका एडिन्सन काभानी, ब्राजिलका नेयमार जुनियरको प्रदर्शन सबैका लागि आकर्षक रह्यो । चर्चा ‘गोल्डेन बुट’को विश्वकपमा क्वाटरफाइनल प्रवेश गर्ने आठ टोलीको टुंगो लागेसँगै गोल्डेन बुटको चर्चा हुन थालेको छ । विश्वकपको उपाधि कसले जित्ने भन्ने चासो जति छ, गोल्डेन बुटबारे पनि उत्तिकै उत्सुकता देखिन्छ । गोल्डेन बुटको दौडमा यसपटक इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि देखिएका छन् । जारी विश्वकपमा उनले छ गोल गरिसकेका छन् । छ गोल गरेका केनले तीन गोल भने पेनाल्टीमार्फत गरेका हुन् । गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पच्छ्याइरहेका छन् । उनको गोल संख्या चार छ । समूह चरणको पहिलो खेलमा स्पनेविरुद्ध ह्याट्रिक गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि चार गोल नै गरेका छन् । पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेकाले ‘गोल्डेन बुट’मा सम्भावना छैन । त्यस्तै ३ गोल गरेका उरुग्वेका एडिन्सन काभानी, रुसका डेनिस चेरिसेभ र आर्टेम डिजुबा, फ्रान्सका किलियन एमबाप्पेको पनि सम्भावना अझै सकिएको छैन । यही असार २२ गतेदेखि क्वाटर फाइनलका खेलहरू हुँदैछन् । पहिलो खेलमा शुक्रबार साँझ ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ, त्यही दिन राति ११ः४५ बजे पाँच पटकको विजेता रहेका ब्राजिलले बेल्जियमसँग खेल्नेछ । त्यसैगरी शनिबार साँझ ७ः४५ बजे स्वीडेन र इङ्ल्याण्डबीच प्रतिपर्धा हुनेछ । क्वाटर फाइनलको अन्तिम खेलमा आयोजक रसियाले क्रोएसियाको सामना गर्नेछ । क्वाटर फाइनल पुग्ने आठ टोलीमध्ये चारवटा विश्व विजेता बनिसकेका टोली हुन् भने चारवटाले प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् । ब्राजिल सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विजेता हो । उरुग्वेले पहिलो विश्वकप सन् १९३० र १९५०, फ्रान्स सन् १९९८ र इङ्ल्याण्ड सन् १९६६ को विजेता हुन् । त्यसैगरी क्वाटर फाइनलमा पुगेका बेल्जियम, क्रोएसिया, स्वीडेन र रसियामध्ये अहिलेसम्म स्वीडेन १९५८ मा ब्राजिलसँग फाइनमा पराजित भएको हो । आयोजक रसिया पहिलो पटक क्वाटर फाइनल पुगेको हो । बेल्जिम सेमिफाइनसम्म पुगेको टोली हो । प्रतियोगितामा नव प्रवेशी पानामा र आइसल्याण्डले खासै प्रदर्शन गर्न सकेनन् । आइसल्याण्डले पहिलो खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भए पनि पछिल्ला दुई खेल क्रमशः नाइजेरिया र क्रोएसियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । पानामाले बेल्जियम, इङ्ल्याण्ड र ट्युनिसियासँग पराजित हुँदै घर फर्कियो । विश्वकप २०१८ मा चम्किएका खेलाडी नेयमार जुनिय फरवार्ड, ब्राजिल नेयमारको खेलको भन्दा पनि ‘अभिनय’को चर्चा धेरै भयो । तर जर्मनी क्लब पिएसजीका यी फरवार्डले मेक्सिकोसँग उत्कृष्ट खेले । लियोनल मेस्सी र किस्ट्रियानो रोनाल्डो घर फर्कंदै गर्दा उनले भने आफ्नो टिमलाई क्वाटरफाइनलमा प¥याए । उनले गरेको एक गोल र पासको मद्दतले नै ब्राजिलले मेक्सिकोलाई २–० ले हराउन सफल भयो । भिक्टर लिन्डेलोफ, स्वीडेन स्वीडेनका भिक्टर लिन्डेलोफले आन्द्रेस ग्रान्भिस्तको पार्टनरसीपमा उत्कृष्ट खेल खेल्दै स्विडेनलाई गोल खानबाट बचाए । उनी चम्किएपछि स्विडेनले गएराति स्विजरल्याण्डलाई एक गोलले हरायो र क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । उरुग्वेको लागि बलियो खम्बाका रुपमा प्रस्तुत हुँदै आएका डियगो गोडिन सेन्टरब्याक पोजिसनबाट खेल्दै आएका छन् । उनले क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको आक्रमणलाई रोक्न सफल भए । खेलमा उरुग्वेले दुई गोल गर्दा पोर्चुगलले एक गोल मात्रै गर्न सक्यो र प्रतियोगिताबाट बाहिरियो । डियगो लाक्साल्ट लेफ्ट ब्याक, उरुग्वे उरुग्वेका लेफ्ट ब्याक डिएगो लाक्साल्टले विश्वकप २०१८ मा आफ्नो उत्कृष्ट प्रदर्शन कायमै राखेका छन् । पोर्चुगलसँगको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका उनले फरवार्ड एडिसन काभानी र सुआरेजलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए । पाउल पोग्बा सेन्ट्रल मिडफिल्डर, फ्रान्स फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दा पोग्बा फ्रान्सको खेलको मुटुको रुपमा प्रस्तुत भएका थिए, तर उनको खासै चर्चा भएन । मिडफिल्ड सम्हाल्दै आक्रमणका लागि राम्रो बनाउँदै उनले एमबाप्पे, ग्रिजम्यान र जिराउडलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए । इगोर अकिनफेभ (गोलकिप्पर), रुस प्रि क्वारटफाइनलमा स्पेनका कोके र इयागो आसपासको पेनाल्टी रोकेका रुसी गोलकिपर इगोर अकिनफेव पेनाल्टी सुटआउटको नायक बने । उनले खेलमा धेरै उत्कृष्ट बचाउ गर्दै रुसलाई क्वाटरफाइनलमा पु¥याउन भूमिका खेले । मारियो फर्नान्डेज, रुस राइटब्याक मारियो फर्नान्डेजले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको लेफ्ट विङ्गको चुनौतीलाई धेरै हदसम्म विफल बनाए । उनको उत्कृष्ट खेलसँगै रुस स्पेनसँग १–१ बराबरी खेल्दै पेनाल्टी सुटआउटमा पुग्यो । जसमा रुसले स्पेनलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित ग¥यो । ताकासी इनुई सेन्ट्रल मिडफिल्डर, जापान जापान अन्तिम १६ बाटै बाहिरिए पनि ताकासी इनुइले धेरै सुन्दर गोल गरेका थिए । जसले बेल्जियमलाई धेरै दबाबमा राखेको थियो । खेल अवधीभर उनको मिडफिल्ड मुभमेन्ट पास र ड्रिबलिङ उत्कृष्ट थियो । तर जापान प्रिक्वारट फाइनलबाटै बेल्जियमसँग पराजित भएको छ । किलियन एमबाप्पे फरवार्ड, फ्रान्स फ्रान्सका १९ वर्षीय फरवार्ड किलिएन एमबाप्पे अर्जेन्टिनाविरुद्धको प्रिक्वारट फाइलन खेलका स्टार हुन् । उत्कृष्ट पेस र फिनिसको माध्यमले अर्जेन्टिनालाई नराम्रो हार चखाउँदै बिदा गरेका उनले आफूलाई विश्व फुटबलको उदाउँदो स्टारको रुपमा चिनाए । उनले उक्त प्रतियोगितामा दुई गोल गरेका थिए । जुन ब्राजिलका महान खेलाडी पेलेको बराबरी हो । एडिन्सन काभानी फरवार्ड, उरुग्वे एडिन्सन काभानीको लोभलाग्दो प्रदर्शनकै आधारमा उरुग्वेले पोर्चुगललाई बिदा गर्दै विश्वकपको क्वाटरफाइनलका लागि आफ्नो स्थान सुरक्षित ग¥यो । उनले पोर्चुगलको पोस्टमा दुई गोल मात्रै गरेनन् लुइस सुआरेजसँग उनको पार्टनसीप पनि धेरै नै उत्कृष्ट थियो । क्रिस्टियानो रोनाल्डो फरवार्ड, पोर्चुगल २०१६ को युरोकपको विजेता टोलीको क्याप्टेन क्रिस्टियानो रोनाल्डोले जारी प्रतियोगितामा चार गोल गरे । पहिलो खेलमा स्पेनविरुद्ध ह््याट्रिक गरेका उनले दोस्रो खेलमा मोरक्को विरुद्ध गोल गरेर गोल्डेन बुटको बलियो दाबेदारी प्रस्तुत गरे पनि उनको टोली प्रि क्वाटरफाइनबाटै बाहिरएपछि उनी गोल्डेनबुटको होडबाट बाहिरिएका छन् । रासस
नौतले दरबारका काष्ठकला राष्ट्रिय संग्रहालयमा, बिग्रिएका काठलाई मर्मत गरिने
काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा रहेको नौतले दरबारको मर्मतका लागि आवश्यक काष्ठकलाको कार्य छाउनीस्थित राष्ट्रिय संग्रहालयमा भइरहेको छ । पुराना बिग्रिएका काठलाई मर्मत तथा पुराना कलाकृतिको संरचनाका काष्ठकला कुद्नेलगायत काम त्यहाँ हुने गरेको छ । विसं २०७२ वैशाख १२ मा आएको भूकम्प तथा त्यसपछि परकम्पका कारण सो दरबारमा ठूलो क्षति भई जोखिममा परेपछि उक्त सम्पदा जीर्णोद्धारका क्रममा रहेको छ । चीन सरकारको सहयोगमा करीब छ महिनादेखि विज्ञहरुको समूहले पुराना काष्ठकलाको अध्ययन तथा अनुसन्धान गर्दै बुट्टाको संग्रह गरिएको संग्रहालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिएका छन् । आधुनिक नेपाल एकीकरण हुनुभन्दा अगाडि विशिष्ट कला र शीपले निर्माण गरिएको उक्त सम्पदाको विभिन्न भागमा चिरा परेर भत्किने स्थितिमा पुगेको थियो । पुरातत्व विभाग, हनुमानढोका दरबार संग्रहालय विकास समितिलगायतले शुरु गरेको जीर्णोद्धारमा त्यस सम्पदाको प्राचीन स्वरुपमा परिवर्तन नहुने गरी केही अत्याधुनिक निर्माण वस्तुको समेत प्रयोग गरिने भएको छ । उक्त सम्पदाका काठका सम्पूर्ण सामग्री तथा त्यसका स-साना टुक्रालाई समेत पुरातात्विक महत्वको सामग्रीका रुपमा विकास गर्नका लागि संग्रहालयभित्र रहेको त्यस क्षेत्रलाई विशेष संरक्षण तथा सुरक्षित गरिएको छ । उक्त स्थानबाट निर्माण हुने नयाँ काष्ठकलाका संरचनालाई पछि दरबारमा प्रयोग गरिनेछ भने पुराना काठका टुक्रालाई पुरातात्विक महत्वको सामग्रीका रुपमा प्रदर्शनमा राखिने छ । रासस
बाढी तथा पहिरो प्रभावितलार्इ सहयोग गर्न रेडक्रसले तयार पार्यो १० हजार सेट सामग्री
काठमाडौं । मनसुन सक्रियभएसँगै वर्षा बढी भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको अवस्थालाई मध्येनजर गर्दै नेपाल रेडक्रस सोसाइटीले मंगलबारदेखि आपत्कालीन कार्यसञ्चालन केन्द्र (इआरओ) लाई सक्रिय बनाएको छ । नेरेसोले वाढी, पहिरो प्रभावितहरुलाई आपत्कालीन आवास, स्वास्थ्य सहयोग र सरसफाईको क्षेत्रमा सहयोग गर्ने गरी सो केन्द्रले काम गर्ने छ । रेडक्रसका कोषाध्यक्ष देवेन्द्रबहादुर प्रधानले रेडक्रसको सँस्थागत प्रणाली अनुरुप नै अत्यावश्यक मानवीय सेवाको लागि तयारी गरिसकेकाे बताएका छन् । योजना अनुसार सातवटै प्रदेशबाट दैनिक अवस्थाको प्रतिवेदन लिने, तत्काल अवस्था जाँच गर्ने र आवश्यक मानवीय सहयोग पुर्याउन राहत सामग्री सहित स्वयंसेवक परिचालन हुने व्यवस्था सो केन्द्रले गर्ने छ । आवास, स्वास्थ्य, सरसफाई प्राथमिक उपचार, बन्दोवस्ती, स्वयंसेवक परिचालन, दैनिक अपडेट, सूचना तथा सञ्चार, अन्तर्राष्टिय सहयोग, समन्वय, अनुगमन जस्ता विभिन्न १९ वटा कार्यसमूह मंगलबारदेखि सक्रिय भएका हुन् । नेरेसोले वाढी, पहिरो प्रभावित परिवारलाई तत्काल सहयोग पुर्याउन १० हजार सेट सामग्री विभिन्न गोदामघरहरुमा तयारी अवस्थामा राखेको छ । त्यस्तै आपत्कालीन आवासको लागि ६ सय सेट सामग्री जोहो गरेको छ । यसै क्रममा नेपाल रेडक्रसले २१ हजार परिवारको लागि सहयोग गर्ने गरी आपत्कालीन योजना सार्वजनिक गरेको छ । नेपाल रेडक्रसका कामु कार्यकारी निर्देशक इन्द्र बहादुर केसीले भनेः १० हजार परिवारको लागि आफ्नै स्रोतबाट र वाँकी ११ हजार परिवारको लागि रेडक्रस अभियान लगायत सहयोगी सँस्थाहरुको सहयोग जुटाइने छ । बाढी, पहिरो तथा महामारी जस्ता समस्याबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण र तत्काल सहयोगको लागि नेपाल रेडक्रस सोसाइटीले सबै जिल्ला शाखाहरुलाई पनि तयारी अवस्थामा रहन अनुरोध गरिसकेको छ । केहि दिनदेखिको निरन्तर वर्षाका कारण झापा जिल्लामा केहि वस्तीहरु डुवानमा परेको र अवस्थालाई सम्बोधन गर्न विभिन्न क्षेत्रमा स्वयँसेवकहरुलाई कार्यविभाजन गरी सचेत अवस्थामा राखिएको नेरेसो झापाका सभापति लोकराज ढकालले बताए । सिरहा रेडक्रसका सभापति राजदेव यादवले जिल्लाको प्रतिकार्य योजना निर्माण गरिएको र सबै सरोकारवाला निकायले समन्वयमा काम गरिरहेको जानकारी दिएका छन् । तत्काल सहयोगको आवश्यकता परेमा वा यसवारे जानकारी लिन परेमा निशुल्क टेलिफोन ११३० मा फोन गर्न सकिने व्यवस्था पनि मिलाइएको नेरेसोका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले बताएका छन् ।