महालक्ष्मी विकास बैंकद्धारा मृतकका परिवारलाई ७ लाख रुपैयाँ सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मृतकका परिवारलाई ७ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले तुलसीपुर शाखामा कार्यरत किसोरकुमार बडुको असामयिक निधन भएकोमा बडुको परिवारलाई सो मात्राको रकम सहयोग गरेको हो । बैंकले गत जेठ ३० गते बैतडी शाखामा आयोजित एक कार्यक्रमबीच शोक सन्तप्त परिवारलाई उक्त रकम प्रदान गरेको हो । सोही अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले पनि व्यक्तिगत तर्फबाट २५ हजार रुपैयाँ सहयोग गरेका थिए । उक्त रकमको चेकहरु स्व. बडुका पिता जनकबहादुर बडुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्तान्तरण गरेका हुन् । संस्थाका कर्मचारी बडुको २०७४ साल चैत्र ११ गते मोटरसाइकल दुर्घटना परी असामयिक निधन भएको थियो ।
आज रामोस भर्सेस रोनाल्डो र सलाह भर्सेस सुवारेज
काठमाडौं । विश्वकपको दोस्रो दिन एकै क्लबबाट खेल्ने स्पेनका कप्तान सर्जियो रामोस र पोर्चुगलका कप्तान क्रष्टियानो रोनाल्डो एक अर्का विरुद्ध मैदानमा उत्रिदैछन् । नेपाली समय अनुसार ११ ४५ मा शुरु हुने खेलमा उत्कृष्ट स्ट्राइकर रोनाल्डो र उत्कृष्ट डिफेन्डर रामोस प्रतिस्पर्धा हुने भएको हो । खेलको २ दिन अघि स्पेनको प्रशिक्षक जुलियन लोपेटेगुइलाई बर्खास्त गरेपछि रामोसले विश्वकप अघि आफुलाई मलामी जानु परेको जस्तो अनुभव भएको बताएका छन् । प्रशिक्षक बर्खास्तबारे मार्कासँग प्रतिक्रिया दिदैं रामोसले यसबाट आफु दुखि भएको भन्दै विश्वकपको अन्त्य खुशिसाथ गर्न चाहेको बताए । यस्तै बेलुका नेपाली समय अनुसार ५ ४५ बजेबाट शुरु हुने उरुग्वे र इजिप्टको खेलमा लुइज सुवारेज मोहमद सलाह एक अर्का विरुद्ध मैदानमा उत्रिदैछन् । तर इजिप्टका सञ्चार माध्यमले भने सलाह उरुग्वे विरुद्धको खेलमा खेल्न नसक्ने बताएका छन् ।
कुमारी बैंकद्धारा शैक्षिक सामग्री वितरण
काठमाडौं । कुमारी बैंकले कमलपोखरीस्थित कमल आधारभूत माध्यामिक सामुदायिक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पुर्याउने उद्देश्यका साथ बैंकले उक्त विषयगत पुस्तक तथा शैक्षिकसामग्री वितरण गरेको हो । गुणस्तरीय शिक्षामा टेवा पुर्याएर बौद्धिक बिकासको उज्यालोतर्फ लैजाने उद्देश्यले गरिएको उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरीले विद्यालयका प्रधानाध्यापक मनबहादुर खड्कालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको जानकारी दिएको छ । आगामी दिनमा समेत यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।