शिवम सिमेन्टले शुरु गर्यो विश्वकप भविष्यवाणी कार्यक्रम, विजेतालाई आकर्षक पुरस्कार

काठमाडौं । शिवम् सिमेन्टले आगामी ‘फिफा विश्वकप २०१८’ को अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजनाअन्तर्गत वर्ल्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने भएकाे छ । हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । यस खेलमा सहभागी हुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको प्रिडिक्ट एण्ड वीनपोष्टको लिंकमा गई हरेक दिन हुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यबाणी गर्नुपर्ने छ । साथै, हरेक दिन हरेक खेलमा आएको उत्तरहरु मध्ये सही निकटत्तम उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिने छ । हरेक दिनको विजेताहरुले शिवम् सिमेन्टको कर्पोरेट अफिसमा गएर  पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । पछिल्लो २०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको उक्त प्रिडिक्ट एण्ड वीन खेल यस पटक पनि निरन्तर्ता दिएको कम्पनीले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुने व्यक्तिहरुले रोमाञ्चक खेलको थप मज्जा लिनुका साथै आकर्षक पुरस्कारहरु पनि प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यसरी शिवम सिमेन्टले विश्वकपको मौसममा आम व्यक्तिहरुलाई थप उत्साह एवं मनोरञ्जन प्रदान गर्ने गरि यस प्रिडिक्ट एण्ड वीन खेल संचालन गरिरहेको छ ।

एनजिओ/आईएनजिओलाई अन्तिम म्याद, १५ दिनभित्र दर्ता नविकरण नगरे स्वत खारेज

काठमाडौं । राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था(आईएनजिओ)को अनुगमन र नियमनमा अब कडाई गरीने भएको छ । त्यसका लागि गृहमन्त्रालयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापा तथा दुबै मन्त्रालयका पदधिकारीबीचको बैठकले एनजिओ र आईएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निश्कर्ष सहित यसको नियमनलाई तिव्रता दिने निर्णय गरेको छ । जसअनुसार वैठकमा पछिल्लो तीन वर्षदेखि दर्ता नविकरण नभएका एनजिओ र आईएनजिओको दर्ताका लागि १५ दिने म्याद जारी गर्ने र सो अवधीमा दर्ता नभए स्वत खारेज गर्ने समेत निर्णय भएको छ । हाल ४७ हजार एनजिओ र २ सय बढी आईएनजिओ मुलुकमा दर्ता भएपनि धेरै एनजिओहरुले वर्षौँदेखि दर्ता नविकरण गरिएको छैनन् । त्यस्तै भ्रष्टचारमा संलग्न, राजनीतिक गतिविधिमा संलग्न हुने, धर्म प्रचार गर्नेजस्ता कार्यमा संलग्न एनजिओ र आईएनजिओको समेत दर्ता नविकरण नगर्ने निर्णय बैठकले गरेको छ । बैठकले ७७ वटै जिल्लाबाट ति जिल्लामा सञ्चालित एनजिओ र आईएनजिओको विवरण र गतिविधि पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । यस्तै समाजकल्याण परिषद्बाट सहमति लिएर गतिविधि गरीरहेका सबै संघसंस्थाको विवरण पठाउन परिषद्लाई निर्देशन दिने निर्णय बैठकले गरेको छ । बैठकमा महिला बेचविखन रोक्नका लागि दुबै मन्त्रालयले सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ । हालको नियमनमा कमजोरी रहेको भन्दै अब जिल्ला प्रशासन कार्यालयले समेत नियमन गरी रिपोर्ट पठाउने बैठकमा निर्णय भएको छ । बैठकले एनजिओ र आईएनजिओका पदाधिकारीहरुको समेत सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गरी कार्यविधि बनाउने र त्यसलाई कडाई पूवर्क लागु गर्ने निर्णय गरेको छ ।

द्वन्द्वमा जलेको लालपूर्जाकाे वितरण अर्घाखाचीबाट शुरु, तीन वर्षभित्र सकिने

काठमाडौं । सरकारले तत्कालिन नेकपा माओवादी आक्रमणको क्रममा जलेका किसानका लालपुर्जा वितरणको काम शुरु गरेको छ । द्वन्द्वको क्रममा लालपुर्जा जलेपछि पुनः नापी गरेर लालपुर्जा वितरण गर्न लागिएको हो । त्यसको शुरुवात अर्घाखाचीबाट शुरु भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले अर्घाखाचीको सन्धीखर्क नगरपालिका वडा नम्बर २ बाट लालपूर्जा वितरण शुरु गर्नु गरेका छन् । त्यहाँ आर्थिक वर्ष २०७२/७३ मा नापनक्साको काम शुरु भएको थियो । सन्धीखर्क वडा नम्बर २ मा मात्र ४ हजार ७ सय ४७ कित्ता क्षेत्रफलको ८ सय ४१ जना जग्गाधनीका लालपूर्जा जलेको पाइएको थियो । द्वन्द्वको क्रममा पाल्पा, अर्घाखाची, सिरहा, संखुवासभा र अछाममा भएका आक्रमणमा लालपुर्जा जलेका थिए । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टका अनुसार अछाममा नापजाँचको काम सकिइसकेको छ । अछाममा आर्थिक वर्ष २०६४/०६५ मा, पाल्पामा ०७१/७२ मा र सिरहामा ०७२/७३ मा काम नापीको काम शुरु भएको थियो । अहिलेसम्म पाल्पामा २५ प्रतिशत नापीको काम सकिएको महानिर्देशक भट्टले बताउनुभयो । सिरहा सहदरमुकाम क्षेत्रमा नापीको काम चलिरहेको छ भने संखुवासभाको चैनपुरमा काम नै शुरु हुन सकेको छैन । यो वर्ष पनि संखुवासभामा नाप नक्साको कार्यक्रम पर्न सकेको छैन । सरकारले आगामी ३ वर्ष भित्रमा सबैको जग्गाधनी दर्ता प्रमाण पुर्जा विततरण गरिसक्ने दावी गरेको छ ।