पशुपतिको भेटी करिब तीस करोड, विशेष पूजावापत १४ करोड
काठमाडौं । पशुपतिनाथमा भक्तजनले चढाएको भेटी तीन वर्षयता करिब तीस करोड रुपियाँ पुगेको छ । यसमा विशेष पूजा गराएबापत चौध करोड रुपियाँ प्राप्त भएको छ । पशुपतिनाथको भेटी व्यवस्थापन गर्न बनेको नियमावली लागू भएपछि पशुपतिनाथ समक्ष यो भेटी प्राप्त भएको हो । पशुपति क्षेत्रको भूउपयोगसहित नयाँ गुरुयोजना तर्जुमा गर्न आयोजित बृहद कार्यशाला गोष्ठीमा पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले सो तथ्याङ्क प्रस्तुत गरेका हुन्। उनले भारतको पद्यनाभस्वामी केरला, तिरुपति बालाजी, वैष्णोदेवी, सिद्धिविनायक र स्वर्ण मन्दिर पञ्जावको वार्षिक आय प्रस्तुत गर्दै यी तीर्थस्थलको तुलनामा आदि तीर्थस्थल पशुपतिनाथमा उल्लेख्य दर्शनार्थीको आगमन हुन नसकेको र आम्दानी पनि कम भएको बताए । उनले यस आधारमा बृहद् गुरु योजनाले तीर्थालुलाई समेट्न आवश्यक रहेको राय प्रस्तुत गरे । त्यस अवसरमा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार तीन वर्षको अवधिमा २१ लाख २६ हजारको हाराहारीमा पर्यटकको आगमन पशुपति क्षेत्रमा भएको छ । पशुपतिमा पर्यटक आगमनबाट २०५७ सालयता ३५ करोड २१ लाख रुपियाँको हाराहारीमा शुल्क प्राप्त भएको छ तर भारतका प्रमुख तीर्थस्थलमा भइरहेको भक्तजनको दैनिक प्रवेशको जस्तै यहाँ पनि भक्तजनलाई आकर्षित गर्नु आवश्यक रहेको कोषका निर्देशक भरत मरासिनीले गोष्ठीको ध्यानाकर्षण गराए। भारतको अहमदाबाद, भोपाल, चेन्नाई, भुवनेश्वरमा पनि नेपाल वायुसेवाको पहुँच पुर्याउन सके पशुपतिमा पनि भारतको तीर्थ स्थलमा जस्तै भक्तजन प्रवेश हुने सम्भावना गोष्ठीमा व्यक्त गरियो ।
हिज होलिनेस ग्यालवाङ ड्रुक्पाको जन्मदिन मनाउन विश्वका बहु–धर्म गुरुसहित ५०० अतिथि नेपालमा
काठमाडौं । हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको जन्मोत्सव मनाउन विश्वभरबाट पवित्र ग्यालवाङ ड्रुक्पाका अनुयायीहरु नेपाल आएका छन् । सो जन्मोत्सव मनाउन नेपाल र भारतभरबाट धर्मगुरुहरु तथा अमेरिकी अधिकारीहरुसहित विश्वभरका करिव ५०० जना आमन्त्रित अतिथिहरु संयुक्त रुपमा काठमाडौंमा फागुन २२ गते भेला भएका छन् । प्रमुख अतिथिको रुपमा आएका द आर्ट अफ लिभिंगका संस्थापक श्री श्री रवि शंकरले हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको शान्ति स्थापना तथा सेवा प्रतिको लगावको बारेमा विचारहरु व्यक्त गरे । उनको दयालु नेतृत्व र आफ्नो मानवीय तथा वातावरणीय पहिचानको सम्मान सबैले गर्नु पर्ने उनले बताए । यसका साथै, अल इण्डिया अर्गनाइजेसन अफ इमाम्स अफ मस्कसका प्रमुख इमाम डा. इमाम उमर अहमद इलयासी, प्रशिद्ध जैन आध्यात्मिक गुरु हिज होलीनेस आचार्य डा. लोकेश मुनी तथा महाबोधी अन्तर्राष्ट्रिय ध्यान केन्द्रका संस्थापक तथा अध्यक्ष भिक्षु सङ्गसेना पनि हिज होलीनेस ग्यालवाङ ड्रुक्पाको जन्मोत्सव मनाउन काठमाडौं आएका छन् । कार्यक्रमको अवसरमा हिज होलीनेस ग्यालवाङ ड्रुक्पाले अमेरिकी कंग्रेसकी प्रतिनिधि क्यारेलिन मालोनी (डि–एनवाई) न्यूयोर्कका १२ औं डिस्ट्रिक्टका लागि अमेरिकी कंग्रेस उमनका साथमा प्रस्तुती दिएका थिए । ग्यालवाङ ड्रुक्पालाई विश्व प्रसिद्ध मानवीयतावादी, वातावरणवादी तथा लैगिक समानताका लागि बिजेताजस्ता उपाधीबाट उनको संकल्प समर्पित गरिएको थियो । त्यसैगरी वि.सं.२०७२ मा नेपालमा गएको विकासकारी भूकम्पको समयमा हजारौंलाई राहत सेवा प्रदान गरेकोमा प्रशंसा गरिएको थियो । उनको वान मिलियन ट्रिज प्रोजेक्टमार्फत भूक्षय नियन्त्रण तथा स्वच्छ हावाका लागि सहयोग प्रदान गरिएकोमा तथा हिमालय क्षेत्रसहित विश्वभर शक्ति, शिक्षा, सूरक्षा, तथा बालिकाहरु तथा महिलाहरुलाई अभिप्रेरित गरेकोमा सम्मान व्यक्त गरिएको थियो । अन्य अमेरिकी प्रशासनिक अधिकारीहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए । हिज होलिनेस्को जन्मोत्सवको अवसरमा आयोजित यो महोत्सव फागुन २५ गतेसम्म निरन्तर जारी रहनेछ ।
निर्वाचन सुरक्षामा झन्डै ६ अर्ब खर्च, निर्वाचनमा ४० हजार म्यादी प्रहरी
काठमाडौं । स्थानीय तहको निर्वाचन सफल पार्न करिब ४० हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी भएको छ। निर्वाचन हुनुभन्दा एक महिनाअघि म्यादी प्रहरी भर्ना गर्ने तयारीमा गृह मन्त्रालय जुटेको छ। निर्वाचन आयोगसँग छलफल गरेर यसबारे अन्तिम निर्णय लिइने गृह मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले जानकारी दिए। निर्वाचन सुरक्षा सम्बन्धमा केन्द्रित पछिल्ला बैठकमा म्यादी प्रहरीको संख्या, छनोट विधि र आवश्यक बजेटबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ। गृहले निर्वाचन सुरक्षाका लागि पाँचदेखि ६ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। म्यादी प्रहरी भर्नाको अधिकार भने नेपाल प्रहरीलाई दिने तयारी गृह मन्त्रालयको छ। भर्नासम्बन्धी कार्यविधि भने गृहले नै बनाउनेछ। बुथका आधारमा म्यादी प्रहरी संख्या गृह मन्त्रालयका निमित्त सचिव केदार न्यौपानेले बुथका आधारमा म्यादी प्रहरीको अन्तिम टुंगो लाग्न बताए। ‘स्थानीय तहको नयाँ प्रतिवेदन र त्यसअनुसार हुने स्थानीय तह र निर्वाचन बुथका आधारमा संख्या थपघट हुन सक्छ,’ न्यौपानेले भने। म्यादीमा पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता गृह मन्त्रालय स्रोतका अनुसार म्यादी प्रहरी भर्ना गर्दा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीबाट सेवानिवृत्त भएकालाई पहिलो प्राथमिकता दिइनेछ। दोस्रो प्राथमिकतामा भने यसअघि विभिन्न निर्वाचनमा म्यादी प्रहरीमा रहेकालाई राखिने भएको छ। झन्डै दुई लाख सुरक्षाकर्मी परिचालन स्थानीय तहको निर्वाचनमा सबै सुरक्षा निकाय र म्यादीसहित गरी करिब दुई लाख सुरक्षाकर्मी परिचालन हुने गृह मन्त्रालयको अनुमान छ। गृह प्रवक्ता बालकृष्ण पन्थीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका सबै युनिट निर्वाचनमा परिचालन हुने जानकारी दिए। हाल नेपाल प्रहरीमा ७२ हजार र सशस्त्र प्रहरीमा ३६ हजार सुरक्षाकर्मी छन्। नयाँ पत्रिकाबाट दैनिकबाट ।