अर्जेन्टिनाले विश्व कप खेल्न नपाउने सम्भावना
काठमाडौं, १९ कात्तिक । अर्जेन्टिनाले सन २०१८ मा रुसमा आयोजना हुने विश्व कप फुटबल प्रतियोगीता खेल्न नपाउने सम्भावना बढेको छ । अर्जेन्टिनाका प्रशिक्षक एड्गार्डो बाउजा स्वयंले नै अर्जेन्टिना विश्व कप छनौटका लागि चुनौतीपुर्ण अवस्थामा पुगेको खुलासा गरेका हुन् । फिफाले विश्व कप छनौट खेलिरहेको बोलिभियाले अयोग्य खेलाडी खेलाएको आरोपमा कारवाही गरेपछि अर्जेन्टिनाको विश्वकप खेल्ने सम्भावनामा कम भएको हो । बोलिभियाले चिलीलाई बराबरीमा रोकेको थियो भने पेरुलाई २ गोलले पराजित गरेको थियो । तर फिफाले बोलिभियालाई चिली र पेरुसँग ३ गोलले पराजित भएको नजिता घोषणा गरिदिएको छ । यसले चिलीलाई थप २ अंक प्राप्त भएको छ र ऊ पाँचौं नम्बरमा उक्लिएको छ । दक्षिण अमेरिकी समुहबाट चार मुलुकले आगामी विश्वकप खेल्न पाउनेछन् । तर हालसम्म अर्जेन्टिना सो समुहको ६ औं नम्बरमा रहेको छ । अब अर्जेन्टिनाले चार खेल खेल्न बाँकी रहेको छ । जसमा ब्राजिल र कोलम्बिया जस्ता बलिया प्रतिष्पर्धीसँगको खेल्नुपर्नेछ । नोभेम्र १० मा अर्जेन्टिनाले ब्राजिल र १५ तारिखका दिन कोलम्बियासँग प्रतिष्पर्धा गर्नेछ ।
सेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि, प्रवेश निःशुल्क
काठमाडौं १८ कात्तिक । प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शुरु हुँदैछ । यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका आठ र भारतका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता दिउँसो १२ बजेबाट सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिता हेर्न इच्छुक फुटबलप्रेमीलाई प्रवेश निःशुल्क गरिएको नेपाली सेनाले जनाएको छ । महिला फुटबलको स्तर सुधार्ने तथा नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि योग्य तुल्याउने उद्देश्यले नेपाली सेनाले उक्त प्रतियोगिता गर्दै आएको हो । त्यस्तै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पनि विभिन्न विधाका महिला खेलाडीलाई प्रशिक्षण प्रदान गर्दै आएको छ । नेपाली सेनाको आयोजनामा हुने उक्त प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोग रहने छ । यस्ता प्रतियोगिताबाट नेपालको फुटबल विकास तथा महिला खेलाडीको प्रतिभा प्रदर्शन गर्न योगदान पुग्ने विश्वास सेनाले लिएको छ । रासस
स्थानीय युवाले लुटे प्रहरीको हतियार, सँगै बसेर तास खेल्ने र मदिरा खादाँको विवाद चौकी आक्रमणसम्म
काठमाडौं १८, कात्तिक । सँगै बसेर मदिरा सेवन गरिरहेका प्रहरी र स्थानीय युवाबीच तासमा रकम हारेको विवादले उग्र रुप लिँदा जिल्लाको देउलीस्थित प्रहरी चौकीमा आक्रमण भएको छ । घरेलु हतियारसहित करिब ३० जनाको संख्यामा आएका आग्रीगाँउका स्थानीयले मंगलबार साँझ चौकी कब्जामा लिई प्रहरीका हतियारसहित उपकरण लुटेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ । आग्रीगाउँसगँ सीमा जोडिएको काफलकोटका युवा र प्रहरीबीच विवाद भएको थियो । स्रोतका अनुसार उक्त चौकीमा कार्यरत प्रहरी कर्मचारी र स्थानीय युवा यसअघि पनि सँगै बसेर तास खेल्थे । उक्त दिन पनि तास खेलेपछि युवा र प्रहरी जवान नरबहादुर विकले सँगै मदिरा सेवन गरेका थिए । त्यही क्रममा तासमा रकम हारेको विषयमा विक र उनीहरुबीच विवाद भएको थियो ।