विपी राजमार्ग उच्च जोखिममा, क्रसार उद्योग राजमार्गको जग खोतल्दा राजमार्ग जोखिममा

काठमाडौं, १३, मंसिर । विपी राजमार्गको केही भाग सुनकोसीको तिरैतिर अवस्थित छ। यही क्षेत्रको विभिन्न स्थानका क्रसार उद्योग खोली राजमार्गको जग खोतल्ने काम बढ्दै गएको छ । अत्याधिक भार भएका टिपर वीपी राजमार्गमै गुड्ने र ठूला उपकरणले सुनकोसी खोतल्ने हँुदा राजमार्ग नै जोखिममा परेको स्थानीयले बताएका छन् । कर्मचारीलाई तलब खुवाउन आन्तरिक स्रोतको कमी भएको भन्दै जिल्ला विकास समितिले पनि सुनकोसी उत्खान गर्ने र क्रसर उद्योग राख्ने अनुमति दिँदै आएको छ । ठूला ठेकेदारले र्कचारीलाई समेत कमिसन दिएकाले जहाँ पनि क्रसर राखी राजमार्गको जग खोतल्न जिविसले नै अनुमति दिन थालेको स्थानीयको आरोप छ । नागरिक दैनिकबाट ।

मृत्यु संस्कार अब ५ दिन, १३ दिनसम्म विधिलाई छोट्याइँदै

काठमाडौं १२, मंसिर । संस्कार सुधार समाज नेपालले अन्तिम संस्कार विधि लामो भएको भन्दै त्यसलाई ५ दिनमा झार्नुपर्ने जनाएको छ । काजकिरियालाई समय सान्दर्भिक बनाउनुपर्छ भनेर अभियानमा लागेको समाजले शनिबार पाँच दिने अन्त्य पद्धती पुस्तक सार्वजनिक गर्दै काजकिरिया अवधिलाई शास्त्रसम्मत घटाउने विकल्प प्रस्तुत गरेको हो । ‘मृत्यु संस्कार सुधार हो हाम्रो संकल्प, दस दिनको ठाउँमा तीन दिने विकल्प’ नाराका साथ लागेको समाजले काजकिरिया अवधि पाँच दिनमा झार्नुपर्ने अभियानलाई देशब्यापी बनाइरहेको छ । १३ दिनको काजकिराको सबै विधि पाँच दिनमा नै भ्याइने र कुनै पनि विधिलाई छोड्नु नपर्ने पनि उल्लेख छ । यस अघि पनि पाँच दिनको मृत्युसंस्कारको अभ्यास भइसकेको र समाजमा सकारात्मक सन्देश प्रवाह भइसकेको उल्लेख छ । अन्नपूर्णपोष्ट दैनिकबाट ।

सिप्रदीको २४औं वर्कशपको उद्घाटन सम्पन्न, वृक्षारोपण कार्यक्रमको आयोजना

काठमाडौं, १० मंसिर । भारतीय अटोमोबाइल कम्पनी टाटाको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लिले आफ्नो २४ औं वर्कशपको उद्घाटन सम्पन्न गरेको छ । कम्पनीले वर्कशपको रुपमा बागडोल वर्कशपको उद्घाटन एक विषेश कार्यक्रमबीच सम्पन्न गरेको छ । सोही अवसरमा पर्यावरणीय महत्वलाई ध्यानमा राखी कम्पनीले वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको छ । वर्कशप उद्घाटन तथा वृक्षारोपण कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटा मोटर्स् ग्राहक सेवा इन्टरनेशनल बिजनेस हेड गणेश सेट्टी तथा टाटा मोटर्स् ग्राहक सेवा, सार्कका क्षेत्रीय प्रबन्धक अन्सुमन सामन्तको लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । उद्घाटनको क्रममा सिप्रदी ट्रेडिङ्गका सिओओ राजेशप्रसाद गिरीले बागडोल वर्कशपको बारेमा जानकारी दिदैं कमर्सियल गाडीहरुको लागि आफ्नो कम्पनीले देशभर छरिएका विभिन्न वर्कशपहरुद्वारा छिटो, छरितो एवं भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।