एसिया कप क्रिकेट-नेपाली टोलीको घोषणा
काठमाडौं, २० मंसिर । एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । यही मंसिर २८ गतेसम्म श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि १९ सदस्यीय खेलाडी छनोट भएका छन् जसमा वैकल्पिक चार खेलाडी छन् । कप्तानको जिम्मेवारी सन्दीप लामिछानेले पाएका छन् । त्यस्तै छनोट हुने खेलाडीहरुमा अभिनाश कर्ण, असिफ शेख, दीपेन्द्रसिंह ऐरी र सन्दीप सुनार छन् । त्यसैगरी रवीन्द्रजङ्ग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवार्णकर उराव, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् । वैकल्पिक खेलाडीमा शाहव आलम, किशोर महतो, विक्रम भुसाल र सुशान्त थापा छनोटमा परेका छन् । अन्तरर्राष्ट्रि«य क्रिकेट परिषद्को एसिया क्षेत्रका अधिकृत वेंकटपथी राजु मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोद दासको छनोट समितिले उक्त टोलीको घोषणा गरेको हो । रासस
चरेस किनबेच गर्ने दुई जना पक्राउ, प्रहरीद्धारा ७९ हजार रुपैयाँसमेत बरामद
जाजरकोट, २० मंसिर । प्रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै आइतबार दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई पक्राउ गरेको थियो । तुलसाले बमलाई बिक्री गर्दै गर्दा फेला पारिएको प्रहरीको भनाइ छ । बमबाट ७९ हजार रुपैयाँसमेत बरामद गरेको छ । विशेष सूचनाका आधारमा बिक्री भइरहेको सूचना पाएपछि सदरमुकामबाट प्रहरी निरीक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले तिनलाई पक्राउ गरेको बताइएको छ । एक हप्ताभित्र जाजरकोट प्रहरीले तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरिसकेको छ । रासस
भूकम्पपीडितले नयाँ ट्याक्सी तत्काल नपाउने, प्रक्रिया नै झन्झटिलो भएकोले ट्याक्सी दर्ता नम्बर आएन
काठमाडौं १९, मंसिर । फारम विवरण भरेको साढे तीन महिना हुँदा पनि सरकारले भूकम्पपीडितलाई ट्याक्सीको दर्ता नम्बर दिन सकेको छैन । सरकारले भूकम्पपीडितका लागि एक हजार पाँच सय वटा ट्याक्सी वितरण गर्न गत ५ साउनदेखि २ भदौसम्म फारम भराएको थियो । यातायात व्यवस्था कार्यालयमार्फत वितरण गरेर भराइएका फाराम व्यवस्थापन गर्न झन्झटिलो भएकोले दर्ता नम्बर दिन ढिलाइ भएको हो । नम्बर तितरण गर्न अझै साँढे तीन महिनाभन्दा बढी समय लाग्ने बताइएको छ । साना ठूला सवारी साधन यातायात व्यवस्था कार्यालयका अनुसार ट्याक्सीको नम्बर वितरण गर्न अझै तीन महिना लाग्ने छ । सबै फारम व्यवस्थित गर्न नयाँ कम्प्युटर सर्भर बनाउनुपर्ने भएकोले समय लागेको कार्यालयका प्रमुख वसन्त अधिकारी बताए । नयाँ पत्रिका दैनिकबाट ।