आज खीर दिवस नेपाली समाजमा खीर खाएर मनाइँदै, यस्तो छ महत्व
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मर मसलालगायत चीजबीच हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्त्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । ‘साउन महिनामा गाउँघरमा पनि खेतिपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई-भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ,’ उनले भने । साउन भगवान शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधि पूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । यसको कुनै शास्त्रीय वचन भने नरहेको उनले बताए । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ । चामल, सावधाना, सेवई, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । नेपाली वृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही च्युरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ ।
यी हुन् रोनाल्डो र मेस्सीभन्दा पनि धनी फुटबल खेलाडी
काठमाडौं । तपाईंलाई लाग्छ क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धनी फुटबलर हुन् ? वा लियोनेल मेस्सी ? फेरि सोच्नुहोस् । विश्वकै सबैभन्दा धनी फुटबलर त्यो नाम हो जुन अधिकांश प्रशंसकहरूले मैदानमा चिन्दैनन् तर मैदानबाहिर उनले तपाईंको मनपर्ने क्लब नै किन्न सक्ने हैसियत राख्छन् । ती फुटबलर हुन् फाइक बोल्कियाह । फुटबल करिअर तर २० अर्ब डलर बराबरको नेटवर्थ । को हुन् उनी ? २७ वर्षीय बोल्कियाह ब्रुनाईको राष्ट्रिय टिमका कप्तान हुन् र हाल थाइल्याण्डको क्लब राचाबुरी एफसीका लागि खेलिरहेका छन् । उनी फुटबलमा खासै चर्चित नाम होइनन्, तर उनको अनुमानित नेटवर्थ २० अर्ब अमेरिकी डलर छ- जुन रोनाल्डोभन्दा निकै माथि पर्छ । किन ? किनभने उनी ब्रुनाईका सुल्तानका भतिज हुन् - जो विश्वकै सबैभन्दा धनी राजपरिवारमध्ये पर्छन् । रोनाल्डो वा मेस्सीको जस्तो फुटबल उपलब्धि नहुन सक्छ, तर उनी धनको मामिलामा अलगै लिगमा छन् । उनको परिवारसँग ठूला तेल र ग्यासको भण्डार, विलासी सम्पत्ति र विशाल लगानीहरू छन्, जुन द सन्डे टाइम्स रिच लिस्टले उल्लेख गरेको छ । क्रिस्टियानो रोनाल्डो आधिकारिक रूपमा ‘बिलियनियर’ खेलाडीको सूचीमा प्रवेश गरिसकेका छन् । उनी विश्वकै सबैभन्दा धेरै कमाइ गर्ने फुटबलरमध्ये एक हुन् र अहिले साउदी क्लब अल नसर सँगको ठुलो सम्झौतासहित उनी आर्थिक इतिहासमा नाम लेखाउन सफल भएका छन् । सेलिब्रेटी नेट वर्थअनुसार रोनाल्डोको नेटवर्थ १ अर्ब अमेरिकी डलर छ । उनले आफ्नो करिअरमा थुप्रै ब्रान्डसँग सम्झौता गरेका छन्- नाइकसँगको जीवनभरको डिल, आफ्नै सीआरसेभेन ब्रान्ड र अहिले साउदी अरबमा पाएको रेकर्ड ब्रेकिङ तलब । अल नसरसँगको रोनाल्डोको सम्झौतामा के छ ? रोनाल्डोको सम्झौताले उनलाई २ वर्षको अवधिमा ७० करोड अमेरिकी डलर दिने बताइएको छ – जुन खेलकुद इतिहासकै सबैभन्दा ठूलो तलब हो । सम्झौतामा ४८ मिलियन डलरको साइनिङ बोनस र क्लब अल नसरमा १५ प्रतिशत स्वामित्व हिस्सेदारी पनि समावेश छ । साउदी अरबले २०३४ मा फिफा विश्वकप आयोजना गर्दैछ र रोनाल्डोलाई त्यसको विश्वदूतको रूपमा प्रस्तुत गरिँदैछ । साथै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिने व्यक्ति पनि हुन् । लियोनेल मेस्सी हाल अमेरिकाको एमएलएस क्लब इन्टर मियामी मा खेलिरहेका छन् । रिपोर्ट अनुसार उनको नेटवर्थ ८५० मिलियन अमेरिकी डलर रहेको छ । उनले एडिडास, एप्पल, हार्ड रक क्याफेलगायत धेरै ब्रान्डसँग सम्झौता गरेका छन् ।
संसद्मा प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू निदाए, सामाजिक सञ्जालमा भाइरल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सत्तापक्षका मन्त्रीहरू निदाएको दृश्य सार्वजनिक भएपछि आलोचना सुरु भएको छ । प्रधानमन्त्रीसँगै पहिलो पंक्तिमा बसेका मन्त्रीहरू संसद्को बैठककै बेला निदाएको देखिएको हो । सभामा सांसदहरू अल्पविकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नति पछि उत्पन्न हुने अवस्थाबारे बहस गरिरहेका थिए । प्रधानमन्त्री ओली भने बहसमा चाखसहित सहभागी देखिन्थे । जवाफ दिने क्रममा उनले बहस पूरै ध्यानपूर्वक सुनेको बताउँदै राष्ट्रिय सभाको गरिमा अनुरूप सांसदहरूले सशक्त ढंगले आफ्नो धारणा राखेको भन्दै प्रशंसा गरे । तर, प्रधानमन्त्रीकै लहरमा बसेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई संसद् मै निदाएका थिए । संसद्को यस्तो संवेदनशील विषयमा बहस भइरहँदा मन्त्रीहरू निदाएको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्न थालेको छ ।