‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा
काठमाडौं । आर्थिक उन्नतिको लक्ष्यसहित डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको छ । मंगलबार आयोजित कार्यक्रममा डा. न्यौपानेको नेतृत्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको हो । आम नागरिकको व्यक्तिगत स्वतन्त्रता र आर्थिक सुधार गर्ने पार्टीको मुख्य लक्ष्य रहेको सभापति डा न्यौपानेले बताए । 'नेपाली जनतालाई सदाका लागि गरिबी, भय–त्रास बेरोजगारीबाट मुक्त गर्न, तत्काल न्यायको प्रत्याभूति दिन, कानुनी शासन बहाल गर्न, सुशासनमार्फत जनताको दैनिकी सजिलो पार्न र आर्थिक उदारवादमार्फत आर्थिक समृद्धि हासिल गर्न यो पार्टी गठन गरिएको हो', उनले भने । पार्टीले उदारवादी अर्थव्यवस्था, कर–कटौती, खुलापन, पारस्परिक सम्मान, उत्तरदायी प्रशासन, बजार विनियमन, आधुनिकीकरण, औद्योगिकीकरण, शहरीकरण, नैतिक राजनीति र विश्वव्यापीकरणको व्यावहारिक प्रयोगको नीति रहेको सो पार्टीका महासचिव डा. सुशील पौडेलले बताए । 'हाम्रो पार्टीको एउटै एजेन्डाः आर्थिक उन्नति हो', उनले भने ।
विप्लव नेतृत्वको नेकपा नाम परिवर्तन गरेर दल दर्ताको तयारीमा, निर्वाचन आयोग पुग्यो विप्लवको टीम
काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपा दल दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा पुगेकाे छ । पार्टी स्रोतका अनुसार महासचिव विप्लवको नेतृत्वमा मंगलबार दिउँसो आयोगमा पुगेर दल दर्ताको प्रक्रिया सुरु गरेकाे छ । यसअघि नै नेकपाले दल दर्ता प्रक्रियालाई अघि बढाउन स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा केन्द्रीय सदस्य तथा काठमाडौं सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल सदस्यका रूपमा रहेका छन्। आयोगमा यस अघिनै नेकपा नामको दर्ता भइसकेकाले विप्लव नेतृत्वको समूहले पार्टीको नाम परिवर्तन सहित नयाँ रूपमा दर्ता गर्ने तयारी गरेको बताइएको छ ।
प्रचण्डको अपिल - 'राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न वामपन्थी एउटै झण्डामुनि एकताबद्ध होऊँ'
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशका सामु देखिएका जटिल राजनीतिक परिस्थिति, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती समाधानका लागि वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अपरिहार्य भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रले भोगिरहेका समस्या र संकटहरूको समाधान अग्रगामी क्रान्तिकारी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहलकदमीबाट मात्रै सम्भव हुने उल्लेख गरे । 'देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरुबीच संगठनात्मक ध्रुवीकरण तथा लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अपरिहार्य बनेको छ,' प्रचण्डले भने, 'राष्ट्रिय स्वाधीनता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवाद निर्माणको आधार तयार पार्न माओवादी सहितका वामपन्थी शक्तिहरूले एकता र साझा आन्दोलनमार्फत अघि बढ्नु आजको आवश्यकता हो ।' प्रचण्डले सबै माओवादी धारासहितका वामपन्थीहरूलाई एउटै कम्युनिस्ट पार्टीको झण्डामुनि एकताबद्ध हुन अपिल गरेका छन् । साथै, उनले संविधानको रक्षा, समुन्नत लोकतन्त्रको विकास र राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका लागि सबै गणतान्त्रिक शक्तिलाई राष्ट्रिय एकताको साझा मोर्चामा गोलबन्द हुन आह्वान गरे । प्रचण्डले आफ्नो सन्देशमा भनेका छन्, 'यतिखेर देशका सामु देखिएका जटिलता तथा जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतन्त्र माथि देखा परेका चुनौती हल गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ ।'