संसद्मा प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू निदाए, सामाजिक सञ्जालमा भाइरल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सत्तापक्षका मन्त्रीहरू निदाएको दृश्य सार्वजनिक भएपछि आलोचना सुरु भएको छ । प्रधानमन्त्रीसँगै पहिलो पंक्तिमा बसेका मन्त्रीहरू संसद्को बैठककै बेला निदाएको देखिएको हो । सभामा सांसदहरू अल्पविकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नति पछि उत्पन्न हुने अवस्थाबारे बहस गरिरहेका थिए । प्रधानमन्त्री ओली भने बहसमा चाखसहित सहभागी देखिन्थे । जवाफ दिने क्रममा उनले बहस पूरै ध्यानपूर्वक सुनेको बताउँदै राष्ट्रिय सभाको गरिमा अनुरूप सांसदहरूले सशक्त ढंगले आफ्नो धारणा राखेको भन्दै प्रशंसा गरे । तर, प्रधानमन्त्रीकै लहरमा बसेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई संसद् मै निदाएका थिए । संसद्को यस्तो संवेदनशील विषयमा बहस भइरहँदा मन्त्रीहरू निदाएको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्न थालेको छ ।
क्यानको बोर्ड बैठक बस्दै, एनपीएलको हिसाबकिताबबारे छलफल हुने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साउन १५ गते बिहीबार बोर्ड बैठक बस्ने भएको छ । उक्त बैठकमा लामो समयदेखि अल्झिएको नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाब किताबका बारेमा छलफल हुने क्यानका एक पदाधिकारीले जानकारी दिए । क्यानको केन्द्रीय कार्यालय, मूलपानीमा बिहान ९ बजेदेखि सुरु हुने बैठकका लागि क्यानले मंगलबार एजेन्डा पठाएको ती पदाधिकारीले बताए । उनले भने, ‘मूलतः हाम्रो भोलिको बैठकमा एनपीएलकै हिसाबमा केन्द्रित हुने छ ।’ त्यसबाहेका आगामी वर्षका कार्य योजना, खेलाडीहरूको श्रेणी विभाजन पुनरावलोकनसहित १२ एजेण्डामा छलफल हुने जानकारी ती पदाधिकारीले दिए ।
चाँगुनारायणमा विदेशी पर्यटक : वार्षिक एक करोड १९ लाख आम्दानी
भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा बितेका एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन् । चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको आगमन भएको हो । त्यसबाहेक युरोपेली देशबाट २५ हजार ४५९ पर्यटकको आएका छन् । विदेशी पर्यटकबाट चाँगुनारायणले एक करोड १९ लाख १० हजार ४०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ३०० रुपैयाँका दरले पर्यटन शुल्कबापत १७ लाख २६ हजार ८०० रुपैयाँ राजस्व सङ्कलन भएको हो । त्यस्तै अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ४०० रुपैयाँका दरले एक करोड एक लाख ८३ हजार ६०० रुपैयाँ सङ्कलन भएको उनले जानकारी दिए । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्कबापत सङ्कलन भएका रकमलाई नगरपालिकाले चाँगुनारायण क्षेत्रसँगै नगरभित्रका विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्दै आएको बताए ।