सङ्खुवासभाको किमाथाङका केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभा जिल्लाको किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ बजेर ३२ मिनेट जाँदा चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट क्षति भएको रनभएका सम्बन्धमा सोधपुछ भैराखेको र हालसम्म एकीन जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ । यसअघि यही कात्तिक ५ गते बझाङको हेमन्तवाडा आसपास केन्द्रबिन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ ।
उत्तरी गोरखामा हिमपातहुँदा मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक प्रभावित
गोरखा । उत्तरी गोरखाका विभिन्न गाउँमा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातिदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले जनाएका छन् । हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका-७ का पासाङफुञ्जो लामाले जानकारी दिए । ‘गए राति हल्का पानी पर्न सुरु भएको थियो । राति नै हिउँ पर्न थाल्यो । अहिलेसम्म पनि हिउँ परिरहेको छ’, उनले भने, ‘अहिले मान्छेहरू घरभित्रै आगो तापेर बसिरहेका छन्, चौँरीहरू पनि भित्रको भित्रै छन् ।’ सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन् । त्यस्तै वडा नं १ को सामागाउँ, साम्दो, वडा नं २ को स्याला, ल्होलगायतका गाउँ पनि हिउँले ढाकिएको छ । हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटक सामागाउँ, साम्दोमै रोकिएका स्थानीयले बताएका छन् ।
प्रधानमन्त्री कार्कीबाट समाजसेवी अञ्जली मास्के सम्मानित
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छन् । प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा लगाइदिएर सम्मान गरेकी हुन् । उनीहरूबीच केहीबेर भलाकुसारी पनि भएको थियो । ‘तपाईँले निःस्वार्थ रूपमा लामो समयदेखि सामाजिक काम गर्दै आउनुभएको भन्ने थाहा पाएको थिएँ । एकपटक भेट्ने इच्छा थियो । आज पूरा भयो । सरकारका तर्फबाट धेरै केही गर्न नसके पनि भेटेर सम्मान प्रकट गरौँ भनेर यो कार्यक्रम गरिएको हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यहाँलाई सम्मान गर्न पाउँदा हामी आफू पनि सम्मानित भएको महसुस भएको छ । यहाँको निःस्वार्थ भावनाबाट समाजमा सत्कार्यका लागि अरूलाई पनि प्रेरणा मिलिरहेको हामीले ठानेका छौँ ।’ काठमाडौंको ताहाचल निवासी मास्के विगत २७ वर्षदेखि दिदीबहिनी नभएका र भएर पनि भाइटीकाका दिन भेट्न नभएका दाजुभाइहरूको निधार खाली नहोस् भनेर टीका लगाइदिएका कारण परिचित छिन् । उनले वीर अस्पतालमा बेवारिसे तथा विपन्न बिरामी र तिनका कुरुवाका लागि निःशुल्क खानपिनको व्यवस्था गरिदिएर पनि समाजमा योगदान गरेकी थिइन् । त्यस्तै काष्ठमण्डपमा सामूहिक व्रतबन्धको व्यवस्थापन पनि उनले गर्दै आएकी छन् । यी सबै काम उनले आफ्नै निजी खर्चमा गर्दै आएको पनि प्रधानमन्त्रीसमक्ष जानकारी गराइन् । ‘मैले कसैसँग केही अपेक्षा राखेर यी काम गर्दिनँ,’ ८२ वर्षीया मास्केले भनिन्, ‘जे सक्छु, आफ्नै खर्चमा गर्छु। अहिले छोरा कमाउने भएपछि सोचेको काम गर्न थप सजिलो भएको छ ।’ मास्केले सरकारबाट पनि कुनै अपेक्षा नराखेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘मलाई केही चाहिएको छैन। हामीले आ–आफ्नो ठाउँबाट सकारात्मक काम गर्दै जानुपर्छ । एकले अर्कालाई सघाउनुपर्छ। सबैले अरूको सेवा गरून्। सेवाको भावना राखेर काम गरून् । सरकारसँग हामीले अपेक्षा राख्ने होइन, सरकारलाई हामीले सघाउनुपर्छ। अनि सरकारबाट देशको कल्याण हुन सक्छ।’ प्रधानमन्त्री कार्की देशकै पहिलो महिला प्रधानमन्त्री बन्नुभएको सुनेकै दिनदेखि निकै खुसी र भरोसा जागेको पनि मास्केले बताइन् । ‘सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नुभयो, त्यहाँ साहसिक काम गर्नुभयो,’ मास्केले भनिन्, ‘यस्तो मान्छे देशको प्रधानमन्त्री हुँदा राम्रो हुन्थ्यो भन्ने लागेको थियो। आज त्यो दिन देख्न पाइयो । एकदम खुसी र भरोसा लागेको छ। पहिलाजस्तै नडराइकन काम गर्नुहोला ।’ अफ्ठ्यारो परिस्थितिमा देश सम्हाल्न आएको भन्दै प्रधानमन्त्री कार्कीप्रति मास्केले कृतज्ञता पनि व्यक्त गरिन् । उनले भनिन्, ‘यहाँ प्रधानमन्त्री हुँदा हामी सबै महिला सम्मानित भएको महसुस भएको छ । भेट्ने कत्रो इच्छा थियो, आज पूरा भयो ।’ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको पनि उपस्थिति थियो।