यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  आज दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ  । आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने छ । महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।  

फूल महँगो भएको उपभोक्ताको गुनासो

काठमाडौं । यसपालीको तिहारमा फूल महँगो भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । विदेशी फूल आयातमा रोक लगाएपछि फूल महँगो हुन पुगेको हो  । बजारमा पर्याप्त फूल नभएको कारण महँगो हुन पुगेको उपभोक्ताहरूको गुनासो छ ।  गत वर्षहरुमा झुप्पाको ८ सय रुपैयाँमा किन्ने गरेको फूल अहिले एउटैको १ हजार २ सय रुपैयाँसम्म पर्ने गरेको उपभोक्ताहरूको भनाई छ । नेपाली फूलले मात्रै बजारलाई नधान्ने देखिएको छ । विदेशी फूल आयातमा रोकले झनै कालोबजारी बढेको उपभोक्ताहरूले बताएका छन् । प्लाष्टिकको फूल रोकेकोमा भने उपभोक्ताहरुले स्वागत गरेका छन् । उनीहरुले बजार अनुगमनको पनि खाँचो औँल्याएका छन् ।  फूलैफूलको पर्व भनेर चिनिने तिहार पर्वको फूल किन्ने उपभोक्ताहरुको बजारमा घुँईचो लागेको छ । काठमाडौं महानगरपालिकाले तिहारको लागी फूल र माला बेच्नको लागी ३२ स्थान तोकिदिएको छ । सोमबार लक्ष्मीपुजा भएकोले पनि बजारमा फूल किन्नको लागी विशेष चहलपहल बढेको हो । तिहारमा नेपालीहरुले फूलले घर सजाउने गरेका छन् । 

जुवातास खेलिरहेका सात जना पक्राउ

किमाथाङ्का । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले खाँदबारी नगरपालिका–१ बसपार्कबाट जुवातास खेल्ने सात जनालाई पक्राउ गरेको छ ।    गोप्य सूचनाका आधारमा खाँदबारी–१ बसपार्कस्थित जीतकुमार राईको होटलबाट जुवातास (कौडा) खेलिरहेको अवस्थामा गएराति सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । प्रहरीले जुवातास (कौडा) खेलाउने घर धनी सहित सात जनालाई नियन्त्रणमा लिएको हो ।      उनीहरूको साथबाट नगद एक लाख ७२ हजार ९३५ रुपैयाँ समेत बरामद गरेको प्रहरी नायब उपरीक्षक मैनालीले बताए । प्रहरीले १६ वटा कौडा र चार बुङ (थान) ताससमेत बरामद गरेको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।      जिल्ला प्रहरी कार्यालयले पटकासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पटक जन्यवस्तु बिक्री वितरण गरेको आरोपमा सदरमुका खाँदबारीबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी नगरपालिका उपमहानगरपालिका–१० घर भई खाँदबारी –१ बस्ने १८ वर्षीय सुजन चौधरी र सुनसरीको कोही गाउँपालिका–३ घर भई हाल खाँदबारी–१ बस्ने ४८ वर्षीय जमाल अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मैनालीले बताए । उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।