विश्व सम्पदास्थल स्वयम्भूमा एक महिने मेलाको तयारी पूरा

काठमाडौं । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरेको छ । श्रावण शुक्ल प्रतिपदा (भोलि)देखि भाद्र शुक्ल प्रतिपदासम्म लाग्ने एक महिने मेलाका अवसरमा महासमितिको अगुवाइमा स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर तथा आसपास क्षेत्रका जङ्गलमा सरसफाइ गरिएको हो । सरसफाइका क्रममा सङ्कलन भएको फोहरमध्ये कागज, कपडा, प्लास्टिक र सिसा पुनःचक्रणका लागि पठाइएको महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिए । कुहिने फोहर मात्र ल्यान्डफिल साइट पठाइने उनले बताए । उनका अनुसार प्रत्येक वर्ष लाग्ने उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलालाई व्यवस्थित बनाउन सो क्षेत्रमा सरसफाइका साथै रङरोगन, सडकबत्ती जडान गरिएको छ । नेवार समुदायका बौद्ध धर्मावलम्बीले एक महिना मेलाको अवधिमा स्वयम्भू चैत्यको दर्शन गर्न तथा धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने प्रचलन छ । नेपाल संवतको नौ महिनामा पर्ने गुँला पर्वमा विभिन्न प्रकारका बाजा बजाउँदै स्वयम्भू चैत्यको पूजाआजा गर्नाले दिवङ्गत पितृको बैकुण्ठबास हुने विश्वास रहेको महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले जानकारी दिए । काठमाडौं उपत्यका तथा आसपास क्षेत्रबाट धर्मावलम्बीले मेलामा सहभागिता जनाउने गरेका छन् ।  

पूर्वीनाका काँकरभिट्टबाट १९ अर्ब ९४ करोड बाराबरको पेट्रोलियम पदार्थ आयात

भद्रपुर । गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एल पि ग्यास, एटीएफ, मट्रितेल आयात भएको हो ।   मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईका अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा ९० करोड ८२ लाख रुपैयाँ अर्थात चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा  गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने छ दशमलव ५० प्रतिशत अर्थात रु ५९ करोड ६९ लाख १० हजार ले बढेको सूचना अधिकारी हुमागाईंले बताए ।  कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थ आयातबाट नौ अर्ब ७१ करोड ३२ लाख ९२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधीमा आठ अर्व ९२ करोड ८५ लाख रुपैयाँ मूल्य पर्ने एक लाख तीन हजार ६४ किलोलिटर पेट्रोल आयात भएको थियो । यसैगरी सात अर्ब तीन करोड ३२ लाख रुपैयाँ मूल्य पर्ने ७७ हजार ४२४ किलोलिटर डिजेल आयात भएको छ । यसैगरी उक्त अवधीमा दुई अर्व ८२ करोड मूल्य पर्ने २५ हजार ५६८ रुपैयाँ मेट्रिकटन एलपि ग्यास, ६६ करोड चार लाख रुपैयाँ मूल्य पर्ने सात हजार २९२ किलोलिटर एटीएफ र २५ करोड ४९ लाख रुपैयाँ मूल्य पर्ने दुई हजार ८५२ किलोलिटर मट्टितेल आयात भएको छ ।

जुलाई २६ देखि सांग्रिला संवाद सुरु हुने

काठमाडौं । पठन संस्कृति अभिवृद्धि गर्ने र साहित्य तथा कलामाथि छलफल गर्ने उद्देश्यले सांग्रिला लिटरिचर फेस्टिबलले मासिक रुपमा सांग्रिला संवाद गर्ने भएको छ । संवाद जुलाई महिनाबाट आयोजना गर्ने घोषणा गरेको छ ।  सुरुवाती संवाद मोक्ष बार एण्ड रेस्टुरेन्ट, झम्सिखेलमा जुलाई २६ का दिन सुरु हुनेछ । फेस्टिबलका निर्देशक केन सुवेदीले जारी गरेको प्रेस वक्तव्यअनुसार प्रथम संवाद कविताप्रति समर्पित हुनेछ ।  वक्तव्यमा लेखिएको छ, ‘संवाद कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवससँग कवि रमेश क्षितिजबीच वार्तालाप रहेको छ ।’ उक्त वार्तालापमा दिवसको साहित्यिक जीवन र त्यसमा गरेका समर्पण साथै संस्कृति विकासमा कविताको भूमिकामाथि छलफल गरिने जानकारी समावेश छ । अन्तरक्रियापश्चात, कविता वाचन सत्र सुचारु हुनेछ जसमा वरिष्ठ र युवा कविहरूले आफ्ना उत्कृष्ट कविता वाचन गर्नेछन् । कविहरू अविनास श्रेष्ठ, शैलेन्द्र साकार, श्रवण मुकारुङ, गिता त्रिपाठी, ज्योति जंगल, बिमला तुम्खेवा, शाकुन्तला जोशी, बिना थिङ तामाङ, अभय श्रेष्ठ, टंक उप्रेती, सबिता गौतम दाहाल र दीपक सापकोटाले आफ्ना कविताहरू सुनाउने छन् । कार्यक्रमको उद्घाटन तुलसी दिवसले गर्ने छन् । अन्तरक्रिया, किताब विमोचन, पठनका लागि साथै समग्र लेखन पठन संस्कृतिको वृद्धि विकासको लागि कार्यक्रम मासिक रुपमा आयोजना गरिने प्रेस वक्तव्यमा लेखिएको छ ।