पुजा महतो विरा एजुकेसन कन्सलटेन्सीको ब्राण्ड एम्बासडर नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी उपकप्तान पुजा महतो विरा एजुकेसन कन्सलटेन्सीको ब्राण्ड एम्बासडर नियुक्त भएकी छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भिरा र पुजा महतोबीच ब्राण्ड एम्बासडर सम्बन्धी सम्झाैता भएको हो । सम्झाैता पत्रमा विरा कन्सलटेन्सीकी म्यानेजिङ डिरेक्टर रेश्मा महर्जन र पुजाले हस्ताक्षर गरिन् । पुजाको नेतृत्वमा नेपाली यू-१९ महिला टिमले पहिलो पटक यू-१९ महिला विश्वकप खेलेको थियो । पुजा सिनियर टिमको समेत उपकप्तान बनिसकेकी छन् । पुजाको राष्ट्रिय टिमको किकेट करियर अवधिभरका लागि सम्झाैता गरिएको विरा एजुकेसनले जनाएको छ । ब्रान्ड एमबासडर बनेपछि पुजाले यो आफ्ना लागि गर्वको क्षण भएको बताइन् । ‘यो मेरा लागि गर्वको क्षण हो । मेरो ममी ड्याडीलाई यो अवसरमा धेरै धन्यवाद दिन चाहन्छु । यो शिक्षा र क्रिकेटको बण्ड राम्रो छ’ उनले भनिन् । सम्झौताको रकम भने खुलाइएको छैन । ‘अमाउन्ट भन्दा वुमन इम्पावरमेन्टका लागि पुजासँगै काम गर्न खोजेको हो । यति नै अमाउन्ट भनेर डिस्क्लोज गर्न मिल्दैन । हरेक वर्ष रकम बढ्दै नै जान्छ होला’ एमडी महर्जनले भनिन् ।

जलवायु परिवर्तनबारे गुफाडाँडामा अन्तरक्रिया

काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यले सम्पादक समाज नेपालले शनिबार सिन्धुपाल्चोकको गुफाडाँडामा पदयात्रा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका करिब सयजना पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले गुफाडाँडाको प्रवर्द्धनमा स्थानीय सरकार अग्रसर भएको जानकारी दिए । उनले गुफाडाँडाको हरियाली, शान्त वातावरण र हिमशृङ्खलाको दृश्यावलोकनलाई प्राकृतिक सम्पदाको अद्वितीय संयोजनका रूपमा उल्लेख गरे । मेलम्ची–९ का वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडालाई जलवायु अध्ययन केन्द्र बनाउने लक्ष्यसहित प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना सुनाए । उनले स्थानीय स्रोतसाधनमा आधारित होमस्टे प्रवर्द्धनको आवश्यकता पनि औँल्याए । सम्पादक समाजका महासचिव श्याम डोटेलले गुफाडाँडा क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दो रहेको भन्दै त्यसको न्यूनीकरण तथा स्थानीय उत्पादन र परिकारहरूको पहिचान निर्माणमा पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको बताए । पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले क्षेत्रको विकास र समृद्धिका लागि पत्रकारहरूको सदैव साथ रहने प्रतिबद्धता जनाए । पदयात्रामा सम्पादक समाज नेपालका संस्थापक किरण वैद्य, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, वरिष्ठ पत्रकार तीर्थ कोइराला, महासचिव श्याम डोटेल लगायत पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो । पदयात्राका क्रममा शङ्खरापुर नगरपालिकाका नगरप्रमुख रमेश स्थापितले पत्रकार टोलीलाई एक समारोहकाबीच स्वागत तथा सत्कार गरेका थिए ।

नेपालमै फर्किएर काम गर्ने रहर थियो : अभिनेत्री मिरुना मगर

काठमाडौं । अभिनेत्री मिरुना मगरले आफू बेलायतमा हुर्किए पनि नेपालमै फर्किएर काम गर्ने रहर रहेको बताएकी छन् । हालै आयोजित अन्तर्क्रियामा अभिनेत्री मगरले आफ्नो आमा नेपाली रङ्गमञ्चसँग जोडिएकाले आफू कलाप्रति बाल्यकालमै आकर्षित भएको बताइन् । उनले भनिन्, ‘म हङकङमा जन्मिए पनि १२ वर्षसम्म नेपालमा हुर्किएकी हुँ । यद्यपि त्यसपछि बेलायत गएर त्यही शिक्षा लि एँ। तर, मलाई नेपालमै आएर केही काम गर्ने इच्छा थियो । आमा नाटकमा काम गर्ने हुनुभएकाले मैले नेपाल आएर अनुप बरालसँग अभिनयको प्रशिक्षण लिएर चलचित्रमा काम गर्न सुरु गरेकी हुँ ।’ बेलायतमा हुर्किएकाले पनि अभिनयसम्बन्धी औपचारिक शिक्षा नलिएता पनि काम गर्न सुरु गरेपछि निर्देशक, छायाँकार र कलाकारसँग सिक्ने अवसर पाएको मगरले बताइन् । पछिल्लो समय चलचित्रको छायाङ्कन स्थलमा चलचित्र अध्ययन गरेका विद्यार्थीहरू विभिन्न विभागमा भेटिएता पनि अध्ययन र वास्तविक काम गर्ने शैलीमा कहीँकतै तालमेलको अभाव रहेको अभिनेत्री मगरको बुझाइ छ । ‘अध्ययन गरेर आउनुभएका अहिले छायाङ्कन स्थलमा धेरै भेटिनुहुन्छ । तर, उहाँहरूको अध्ययनको सिकाइ र हामीले काम गर्ने शैली भिन्न हुँदा कतिपय अवस्थामा सहजता नभएको महसुस गरेकी छु। त्यस कारण शिक्षा लिइसकेपछि काम गर्नु अगाडि बुझ्ने मौका पाउनुपर्छ जस्तो मलाई लाग्छ,’ अभिनेत्री मगरले भनिन् । चलचित्रका विभिन्न विधाको अध्ययन गरिरहेका विद्यार्थीले छायाङ्कन स्थलमा पुगेर त्यसलाई प्रत्यक्ष हेरेर बुझ्ने वातारण बन्नुपर्नेमा अभिनेत्री मगरले जोड दिइन् । उनले आफूले पर्दामा निर्वाह गर्ने पात्रले एउटा वर्ग र समुदायलाई भिन्न रूपमा प्रस्तुत गरेको बताइन् । ‘मैले बेलायतमा बाँचेको भन्दा चलचित्रमा बाँचेको जीवन भिन्न छ । यद्यपि म प्रवासमा हुर्किएर शिक्षा लिएता पनि मैले चलचित्रमा निर्वाह गरेका पात्रले लिने निर्णय र उनीहरूको जस्तो विद्रोह गर्न सक्ने क्षमता छैन । सोही कारण पनि मेरा पात्र दर्शकको रोजाइमा परेको हुन सक्छ,’ अभिनेत्री मगरले भनिन् । ‘लालपूर्जा’ नामक चलचित्रमार्फत अभिनय यात्राको सुरुआत गरेकी अभिनेत्री मगरले अभिनय गरेको ‘कबड्डी ४’, ‘जारी’, ‘ऊनको स्वीटर’ लगायतका चलचित्र नेपालमा व्यावसायिक रूपमा सफल भएका छन् ।