पारलैंगिक पुरुषको पीडा, समाजले नदेखेको भित्री कथा
काठमाडौं । अरूभन्दा म किन फरक, म मेरोजस्तै योनी भएका साथीहरूप्रति आकर्षित किन ? मलाई फरिया लगाएर घरकुटी खेल्नुभन्दा किन कपाल काटेर केटाहरू जस्तै बन्न मन लाग्छ ? समोन जीसीलाई सानैदेखि यही कुराले सताउँथ्यो । तर सोध्ने आँट भने हुँदैनथ्यो । उनी बाध्य भएर छोरीको दर्जाभित्र बस्थे । तर उनको हाउभाव, चालचलन छोरीहरूभन्दा फरक थियो । जति उमेर बढ्दै गयो समोनलाई यो प्रश्नले अझ घोँच्दै गयो । ‘मनसँग मनको अन्तरद्वन्द्व पनि भयानक हुँदो रहेछ, बाहिर भन्न नसकिने, आफै प्रश्न सोध्ने, आफै उत्तर दिने, जीवनका २२ वर्ष यसरी नै बिते,’ उनले भने । समोन जीसी पारलैंगिक पुरुष हुन् । उनको घर पाल्पा हो । हाल उनी काठमाडौं बस्दै आएका छन् । युनिटी फर चेन्ज नाम संस्थामा कार्यरत उनी कानुनका विद्यार्थी हुन् । जन्मँदा छोरीको जस्तै अंग लिएर जन्मेका उनी बढ्दै जाँदा आफ्नै अङ्गलाई अस्वीकार गर्न थाले । तर, प्रकृतिको खेल उनले चाहेर पनि अस्वीकार गर्न सकेनन् । उमेरसँगै शरीर परिवर्तन भयो, शारीरिक अंगहरू परिवर्तन हुन थाले । उनको शारीरिक बनावट र विचार फरक हुँदै गयो । उनलाई आफ्नो शरीरप्रति हजार प्रश्न गर्न मन लाग्थ्यो । म को हुँ ? किन मेरो भावना फरक छ ? किन म केटीप्रति आकर्षण हुन्छु ? भन्ने विषयमा बुझ्न मन थियो । तर, हजार प्रश्नको उत्तर आउँथ्यो, ‘तँ छोरी होस् छोरी भएर बस् ।’ यस्तै भन्नेहरूको जमात समाजमा ठूलो थियो । यस्तै प्रश्न र उत्सुकताबीच एक दिन उनको बुवाले सोधे,’ ‘छोरी तिम्रो हरेक क्रियाकलाप फरक देख्छु, कपाल कटाइ, हिँडाइ बसाइ किन यस्तो ?’ समोनलाई त्यो दिन मेरो कुरा पनि सुन्ने कोही छ भन्ने लाग्यो । समोन जीसी ‘म त्यो दिन यति खुसी भएँ कि शब्दमा व्यक्त गर्न सक्दिनँ,’ उनले भने, ‘हजारौं प्रश्न अनि अन्यौलताले भरिएकाे म मेरै बुवाले सोध्दा मैले सबै कुरा भनिदिएँ, बुवाले यो कुरा सहर्ष स्वीकार्नुभयो ।’ उनका बुवा आफै शिक्षक छन् । सोच पनि क्रान्तिकारी थियो । बुवाले सहर्ष स्वीकारे पनि आमालाई भने गाह्रो भयो । ‘मैले छोरी नै जन्माएकी हुँ, यो कसरी हुन्छ, छरछिमेकीले के भन्लान् भन्दै आमालाई सुरुमा स्वीकार्न गाह्रो भयो,’ उनले विगत सम्झँदै भने । विस्तारै परिवार अनि छिमेकीलाई समोन पारलैंगिक पुरुष भएको थाहा भयो । त्यसपछि उनी गाउँ छोडेर काठमाडौं लागे । पढाइको सिलसिलामा काठमाडौं आएपछि उनलाई अझै आफ्नो बारेमा बुझ्न सजिलो भयो । भन्छन्, ‘अहिले मजस्ता पारलैंगिक पुरुषहरूको हक अधिकारीका लागि आवाज उठाउँदै आएको छु, तर यो समाजले हामीलाई बुझन अझै मिहिनेत गर्नुपर्छ ।’ कालीकोटका अनु शाहीको अनुभव पनि उस्तै छ । उनलाई पनि आफ्नो शरीर र आफ्नो विचारमा किन फरक भन्ने सानैदेखि लाग्थ्यो । यौनिक तथा लैंगिक अल्पसंख्यक हुन्छन् भन्ने समेत उनलाई थाहा थिएन । एसईई दिइसकेपछि काठमाडौं आएका उनी दाइको मोवाइल हात पर्नेवित्तिकै म जस्तै पनि कोही हुन्छन् त भन्दै गुगलमा सर्च गर्थे । धेरै कुरा फेला नपारेपनि केही कुरा फेला पारे । उनले आफू लेस्बियन हो कि भन्ने अनुमान गरे । तर एउटा पारलैंगिक पुरुषको अन्तर्वार्ता उनले जब सुने त्यसपछि थाहा पाए कि म त 'पारलैंगिक पुरुष’ रहेछु । आफ्नो प्रश्नको उत्तर पाएपछि अनु खुसी भए । त्यसपछि उनले यो समुदायका बारेमा खोज्न थाले । विस्तारै सबै कुरा थाहा हुँदै गयो । ‘म को हुँ भन्ने त थाहा भयो, ठूलो अन्यौलता हट्यो,’ उनी भन्छन्, ‘समस्या अर्को थपियो, अब मेरो परिवार, समाज अनि आफन्तलाई कसरी चिनाउने ?’ उनीसँगै बसेकी दिदीलाई अनुको व्यवहारले गर्दा शंका लागिसकेको थियो । केही आशंका परिवारका अन्य सदस्यलाई पनि थियो । परिवारमा समस्या नभए पनि समाज, आफन्तहरूलाई कसरी यो कुराको जानकारी दिने भन्ने ठूलो पीर थियो । अनुले आफू पारलैंगिक पुरुष भएको कवितामार्फत जानकारी गराए । अनु साहित्यमा पनि उत्तिकै सक्रिय छन् । अहिले पनि गीत, गजल, मुक्तक लेखिरहन्छन् । केही वर्ष पहिले भएको साहित्य रियालिटी शोमा उनले आफ्नो विषयमा कविता लेखेर आफ्नो पहिचान बनाए । त्योभन्दा अगाडि छोरी भनेर चिनिरहेको समाजले त्यसपछि उनलाई पारलैंगिक पुरुष भनेर चिन्न थाल्यो । धेरै जनाले उनलाई फोन गरे, आफन्तहरूले पनि थाहा पाए । अनु शाही ‘परिवारमा त दिदीलाई थाहा भइसकेको थियो, आमाबुवाले पनि शंका गरिरहेका थिए,’ उनी भन्छन्, ‘जब मैले रियालिटी शोमा आफ्नो कविता भनें त्यसपछि परिवार आफन्त सबै छर्लङ्ग भए, मैले लेखेको कविताले मेरो पहिचान दियो ।’ लैंगिक तथा यौनिक अल्पसंख्यक भन्ने विषय आजभोलि सुनिन थाले पनि त्यहाँ भित्रको कुरा धेरैजसोलाई थाहा छैन । अहिले पनि यो समुदायलाई अन्यको रूपमा धेरैले चिन्छन् । यहाँभित्र पारलैंगिक पुरुष, महिला, लगायतका थुप्रै व्यक्ति छन् । उनीहरू सबै फरकफरक समुदायमा पर्छन् । अनु यस्ता विषय पाठ्यक्रममा समावेश नहुँदा धेरैले थाहा नपाएको बताउँछन् । पाठ्यक्रममा पनि महिला र पुरुषमात्र भनिँदा आफूहरूको पहिचान नभएको उनीहरू बताउँछन् । अस्पतालमा पुग्दा सबैभन्दा पहिले नाम, उमेर अनि लिंग सोधिन्छ । लिंगमा पनि महिला, पुरुष र धेरैसम्म भए अन्य भनेर राखेको हुन्छ । ‘अन्य छ, अन्यमा बस्न मन लाग्दैन, नाम लेख्दा अनि उमेर लेख्दा समस्या पर्दैन तर सेक्स लेख्दा जहिले अन्याय भएको महसुस हुन्छ, त्यहाँ जेण्डर लेखेको भए ट्रान्समेन लेख्थें होला,’ उनले भने । सामाजिक समस्या कतिपय ट्रान्सम्यानलाई परिवार भित्रबाट पहिचानमा समस्या हुन्छ भने घरमा द्वन्द्व गरेर बाहिर निस्केकालाई समाजले सहज रूपमा बाँच्न दिँदैन । हरेकले अनेकौं नाम उपनाम दिएर अपमान गरिरहेका हुन्छन् । समाज र पारिवारिक डरले धेरैजसो ट्रान्सम्यान अहिले पनि महिलाकै दर्जामा बस्न बाध्य छन् । समोन भन्छन्, ‘म आफ्नो पहिचानमा आएपछि घरभित्रको कोठामा केही समस्या आएन तर समाजमा मलाई गर्ने अनि हेर्ने व्यवहार फरक भयो ।’ महिला पुरुषलाई भगवानले बनाएको हो भने हामीलाई पनि भगवानले नै बनाएको हो भनेर कसले बुझिदिने ? कपाल काटेर ठाडो बनाउने बित्तिकै कस्तो केटी भएर नि केटा जस्तो के ... हो भनेर गिज्याउँथे, उनलाई हेरेर हाँस्थे । महिला शौचालयमा जाँदा महिलाहरू तर्सिने, पुरुष शौचालय जाँदा पुरुष तर्सिने । सधैं यही समस्या भोग्दा दुई वर्षसम्म कलेजमा पानी नै पिइनँ, शौचालय नै गइनँ । २ वर्षसम्म शौचालय प्रयोग नगर्दा पारलैंगिक पुरुषलाई समाजमा मात्र होइन, शौचालयमा पनि उस्तै समस्या हुन्छ । लगभग सबै ठाउँमा महिला, पुरुष अनि अपांगता भएका व्यक्तिका लागि शौचालयको सुविधा हुन्छ । तर पारलैंगिक पुरुष, महिला र अन्यका लागि शौचालयको समेत व्यवस्था हुँदैन । अनुले यही समस्याले दुई वर्षसम्म कलेजको शौचालय प्रयोग गरेनन् । ‘महिला शौचालयमा जाँदा महिलाहरू तर्सिने, पुरुष शौचालय जाँदा पुरुष तर्सिने सधैं यही भोग्दा जान मनै लागेन,’ उनले भने । महिनावारीका कुरा फिलिङ पुरुषको भए पनि पारलैंगिक पुरुष प्रायः पाठेघर र योनी भएकै व्यक्ति हुन्छन् । उनीहरूले आफ्नो भावनाअनुसार आफूलाई पुरुष देखाउन खोजेपनि नियमित महिनावारी हुन्छ । यस्तो अवस्थामा धेरैलाई असहज अनुभव हुन्छ । ‘नचाहेरै पनि हामीले यो भोग्नैपर्छ,’ अनु भन्छन्, ‘हाम्रो, सोच, विचार भावना फरक हो तर, योनी र पाठेघर भइसकेपछि हामी पनि महिनावारी हुन्छौं, तर बिडम्वना, हामी जस्ता व्यक्तिलाई सरकारले कहिल्यै न सुन्यो, न देख्यो ।’ अनु पहिलो पटक महिनावारी हुँदा निकै गाह्रो अनुभव गरेको बताउँछन् । उनलाई पहिलो पटक महिनावारी हुँदा स्वीकार्न गाह्रो भयो । ‘म छोरा हो किन महिनावारी भएँ ?’ उनले आमालाई प्रश्न पनि गरे । भन्छन्, ‘सानैदेखि जोसँग महिनावारी छ, पाठेघर छ त्यो व्यक्ति महिनावारी हुन्छ भनिएको भए म सहज रूपमा यसलाई स्वीकार्थें तर यहाँ यसो भनिएन, सिकाइएन पनि जसले गर्दा स्वीकार्न समस्या भयो ।’ महिनावारी हुँदा प्याड किन्न जाँदा पनि तलदेखि माथिसम्म हेरिन्छ । कतिपयले हेर्नेमात्र होइन बोल्छन् पनि । आफ्नै लागि हो कि कसको लागि किन्न आएको हेर्दा केटाजस्तो आवाज, केटीको जस्तो पनि भन्थे । हेर्ने तरिका बोल्ने शब्दले पनि आफूहरूमाथि विभेद हुने गरेको उनी बताउँछन् । उनी ७ कक्षामा पुग्दा बल्ल परिवारले महिनावारी भएको थाहा पायो । कुनै समय उनलाइ यो कुरा स्वीकार्न गाह्रो लाग्थ्यो । तर बढ्दै बुझ्दै जाँदा उनले स्वीकारिन् । अहिले उनलाई यो सामान्य लाग्छ । महिनावारी हुँदा सनोमको अनुभव भने फरक छ । उनी कक्षा ५ मा पढ्दै गर्दा पहिलो पटक महिनावारी भए । उमेर पनि सानै थियो । त्यो बेला उनलाई आफू ट्रान्सम्यान हुँ भन्ने थाहा थिएन । अहिले पनि महिनावारीलाई लाजको विषय मानिन्छ । उनलाई पनि यही लाज लाग्यो । उनी लाजले कसैलाई नभनेर लुकाएर बसे । उनी ७ कक्षामा पुग्दा बल्ल परिवारले महिनावारी भएको थाहा पायो । कुनै समय उनलाइ यो कुरा स्वीकार्न गाह्रो लाग्थ्यो । तर बढ्दै बुझ्दै जाँदा उनले स्वीकार गरे । अहिले उनलाई यो सामान्य लाग्छ । महिनावारी रोक्न आषैधी धेरैजसो पारलैंगिक पुरुष अनुभवमा मात्र होइन, आफूलाई देख्दा र हेर्दा पनि पुरुष जस्तै देखिन पाऊँ भन्ने चाहना राख्छन् । यसकै लागि उनीहरूले स्वदेश, विदेशबाट महँगो शुल्क तिरेर हर्मोनको औषधी खाइरहेका हुन्छन् । तर अनु र समोनले अहिलेसम्म कुनैपनि हर्मोन लिएका छैनन् । यौनिक तथा लैंगिक अल्पसमुदायभित्र विभिन्न समुदायका व्यक्ति छन् । यस भित्रका विषय बुझ्न धेरै अध्ययन गर्नुपर्ने हुन्छ । ‘कतिपयले महिनावारी स्वीकारेका छैनन्, महिनावारी रोक्न विभिन्न किसिमका हर्मोन औषधी लिरहेका छन् । दारीजुँगा होस्, छाती नहोस् भनी स्तनको सर्जरी पनि गरिरहेका हुन्छन् । महिनावारीलाई नबुझेर औषधी खाँदा विभिन्न किसिमका समस्या पनि भएको छ’, अनु र सनोम भन्छन्, ‘हामी हामी नै भएर बाँच्नुपर्यो । यो अधिकारी परिवार साथीभाइ समाजले दिनुपर्यो ।’ हर्मोन लिएर झट्टा हेर्दा पुरुषजस्तै देखिने ट्रान्सम्यानलाई अर्कै समस्या छ । उनीहरूको नाम कागजात एउटा र झट्ट हेर्दा अर्को देखिने कारण पनि यस्तो समस्या हुने गरेको छ । साथै शिक्षा, स्वास्थ्य रोजगारबाट समेत उनीहरूले वञ्चित हुनुपरेको छ । अहिले पनि समाजमा महिनावारी महिलाको मात्र भनिएको छ । पारलैंगिक पुरुष अनु र सनोम जस्ता पारलैंगिक पुरुषहरू यो विषय महिला नभइ पाठेघर भएका सबै व्यक्तिको हो भन्ने अभियानमा छन् ।
६१ लाख रुपैयाँ पारिश्रमिक लिएपछि केदार घिमिरेले भने- राज्यलाई तिर्नुपर्ने कर तिर्छु
काठमाडौं । टेलिशृङ्खलामा ‘माग्ने बुढा’को उपनामले परिचित अभिनेता केदारप्रसाद घिमिरेले राज्यलाई कर तिर्नु कलाकारको दायित्व भएको बताएका छन् । चलचित्र ‘माग्ने राजा’को पहिलो झलक (फस्टलुक) सार्वजनिक गर्न शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अभिनेता घिमिरेले अन्य क्षेत्रका पेसाकर्मीझैँ कलाकारले पनि देशमा समृद्धिका लागि आफ्नो दायित्व पूरा गर्नेबाट पछाडि हट्न नहुने बताए । ‘मैले लिएको पारिश्रमिकको चर्चा भइरहँदा मैले आफ्नो दायित्व भुलेको छैन । म आफ्नो पारिश्रमिक बुझेपछि राज्यलाई तिर्नुपर्ने कर तिर्छु, किनकि देश विकासमा हामीले पनि अन्य पेसाकर्मीझैँ तत्परता र सहभागिता देखाउनु आवश्यक छ । हामीले आफ्नो दायित्व नभुलेमात्र सरोकारवाला निकायलाई चलचित्र क्षेत्रलाई समृद्ध बनाउने विषयमा झक्झकाउन सक्छौँ,’ उनले भने । चलचित्र ‘माग्ने राजा’मा ६१ लाख रुपैयाँ पारिश्रमिक बुझ्ने चर्चा चलेपछि कलाकारको दायित्व र सुविधाका विषयमा अभिनेता घिमिरेले चर्चा गरेका थिए । उक्त चलचित्रका निर्देशक ऋषि लामिछानेले कलाकार घिमिरेको लगनशीलता र बजार मूल्य हेरेर पारिश्रमिक दिएको बताए । ‘कलाकार घिमिरेले माग राख्नुभयो होला तर हामीले उहाँको लोकप्रियता र बजारको अस्तित्व हरेर लगानी गरेका हौँ । उहाँलाई गरिएको लगानीबाट निर्माताले मुनाफा कमाउनुहुन्छ भने त्यसमा कसैले आपत्ति मान्नुपर्ने ठाउँ छैन,’ निर्देशक लामिछानेले भने । आफूले आफूलाई राजा ठान्ने स्वभाव रहेको एक व्यक्तिको कथालाई चलचित्र ‘माग्ने राजा’मा प्रस्तुत गरिएको उनको भनाइ छ । सामीप्यराज तिमल्सेनाको लेखन रहेको चलचित्रमा कलाकार घिमिरेसँगै वर्षा शिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरीलगायतले अभिनय गरेका छन् । उक्त चलचित्रलाई कलाकार मुनाल घिमिरेले निर्माण गरेका हुन् । चलचित्र ‘माग्ने राजा’ आगामी भदौ ६ गतेदेखि नेपालसहित विदेशमा पनि प्रदर्शन हुनेछ ।
'२० लाख प्रभावित हुने अनुमान, विपद् व्यवस्थापनमा तयारी र समन्वयमा जोड'
काठमाडौं । मुलुकमा यस वर्षको मनसुन प्रारम्भ भइसकेको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । यस वर्षको मनसनुजन्य विपद्बाट देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका २० लाख नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुने आकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य योजनालाई कार्यान्वयनमा ल्याइसकेको छ । विपद् पूर्वतयारी, प्रतिकार्यलगायत विषयमा केन्द्रित रहेर प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टसँग गरिएकाे कुराकानीको सम्पादित अंश : विपद्बाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि प्राधिकरणको तयारी कस्तो छ ? यस पटकको मनसुनमा २० लाख नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुने अनुमान गरिएको छ । त्यसमध्ये दुई लाखलाई कुनै न कुनै रूपमा राहत व्यवस्थापन गर्नुपर्छ भनेर तयारी गरिरहेका छौँ । स्थानीय तहमा स्वयंसेवकलाई तालिम दिइरहेका छौँ । आमसञ्चार माध्यमबाट विपद्सम्बन्धी सूचना स्थानीय जनतासमक्ष पुर्याउनका लागि सहकार्य गरेर अगाडि बढिरहेका छौँ । नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाली सेनालाई तयारी अवस्थामा राखेका छौँ । विपद्का बेलामा सबैभन्दा नजिक स्थानीय सरकार रहेको हुन्छ । प्रदेश सरकार र स्थानीय तहलाई पनि तयारी अवस्थामा रहन आग्रह गरेका छौँ । यसपटक विपद् व्यवस्थापनमा निजी क्षेत्रलाई पनि सँगसँगै लिएर जाने योजना बनाइएको छ । डुबान भएको अवस्थामा उद्धारका लागि डुङ्गा र दक्ष जनशक्तिको आवश्यकता पर्छ । त्यसका लागि र्याफ्टिङ एसोसिएसनसँग समन्वय गरेका छौँ । विपद्का समयमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत ‘बोट’ र चालकलाई परिचालन गर्ने सहमति भएको छ । नेपाल यातायात व्यवसायी महासङ्घसँग पनि प्राधिकरणले विभिन्न चरणमा छलफल गरेको छ । महासङ्घमार्फत सम्भावित जोखिम क्षेत्रमा यातायात सञ्चालन नगर्न निर्देशन दिन आग्रह गरेका छौँ । विगतका वर्षमा पनि विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाइन्थ्यो । तर गत वर्षकै उदाहरण हेर्दा त यही उपत्यका र आसपासकै क्षेत्रका बासिन्दाको समयमा नै उद्धार हुन सकेन । भनेपछि अब यो वर्षको कार्ययोजनाको प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भनेर विश्वास दिलाउने आधार के छ त ? विगतमा नहुनु भनेकै हाम्रा लागि पाठ थियो । गत वर्ष किन सकिएन ? कसरी सक्नुपथ्र्यो ? समीक्षा गरेर यो वर्ष हामीले प्रतिकार्य कार्र्ययोजना बनाएका छौँ । विगतका कमजोरीलाई केलाएका छौँ । गत असोज १०, ११ र १२ गतेको भारी वर्षाका कारण सबैभन्दा बढी क्षति पुगेको थियो । कार्ययोजनाको एउटा भाग नै असोजको सिकाइ के रह्यो भनेर समीक्षा गरिएको छ । विगत १५ दिनदेखि सशत्र प्रहरीले सिंहदरबार, धोबीखोला, थापाथली वरपर घुमिरहेको छ । विपद् स्वयम्सेवक बनाउने, कसरी उद्धार गर्ने भनेर अनुगमन गर्नुभएको छ । तसर्थ, विगतबाट पाठ सिकेर यस वर्ष पूर्वतयारीमा जोड दिएका छौँ । विपद् व्यवस्थापनका सम्पूर्ण तयारी भए पनि कहीँकतै अन्तरनिकाय समन्वयमा चुकिरहेका हुन्छौँ । समन्वयमा कहाँ समस्या भइरहेको छ ? सबै ठाउँमा जानकारी जाने तर कतातिर केन्द्रित हुने भन्ने हुँदा समन्वयमा समस्या भइरहेको हो । बाढीपहिरोबाट अवरुद्ध सडक सञ्चालन गर्न सडक विभाग रहेको छ । सुरक्षाकर्मीलाई आवश्यक उपकरण कसरी व्यवस्थापन गर्ने भनेर जोडेको छौँ । विपद्को प्रभावकारी व्यवस्थापनको जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसिरहेको छ । सकेसम्म कम धनजनको क्षति कम होस् भनेर समन्वयलाई बढाइरहेका छौँ । तल्लो स्तरसम्म प्राधिकरणको आफ्नै संयन्त्र त छैन । यस्तो अवस्थामा समन्वयन बढाउनका लागि कतिको चुनौती हुँदोरहेछ नि ? प्राधिकरणको आफ्नै संरचना नभए पनि स्थानीय विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश विपद् व्यवस्थापन समिति रहेका छन् । ती निकायसँग समन्वय गर्ने काम प्राधिकरणले गरिरहेको छ । विपद्मा हामीले निर्देशन दिन्छौँ र कार्यान्वयन ती निकायहरूले गर्छ । अन्तरमन्त्रालय तथा अन्य सरकारी निकायबीच समन्वय कसरी बढाउने ? समन्वय नभएको भन्ने त होइन । समन्वय भन्ने कुरा कतिको सम्पर्क बढाउनुहुन्छ त्यसमा भर पर्ने कुरा हो । हामीले सञ्चार मन्त्रालयसँग पनि छलफल गरिरहेका छौँ । सम्पर्क बढाइरहेका छौँ । उहाँहरूले दूरसञ्चारसँग समन्वय गर्नुहुन्छ । यस्तै अन्य निकायसँग पनि सम्पर्क बढाइरहेका छौँ । जुन समन्वयले यस वर्षको मनसुनमा विपद्बाट हुन सक्ने क्षति कम होस् भनेर लागिरहेका छौँ । जलवायु परिवर्तनको असरस्वरूप नसोचिएको विपद्का घटनाहरू भइरहेका छन् । यस्तो अवस्थामा विपद् व्यवस्थापनका योजना के–कस्तो बनाउन आवश्यक पर्ला ? नेपालमा मात्रै नभएर विश्वभर नै जलवायु परिवर्तनको घटना बढिरहेका छन् । गतवर्ष पनि टीकाभैरव क्षेत्रमा बढी पानी पर्दा उपत्यकामा ठूलो क्षति भयो । त्यस्तै भीषण पानी अन्य क्षेत्रमा पनि परेको भए विपद्का घटना अझ बढ्न सक्थ्यो । कञ्चनपुरको दोधरा चाँदनीमा गतवर्ष ‘रेकर्ड ब्रेक’ वर्षा भयो । नेपालसँगै विश्वभर नै नसोचिएको घटना भइरहेका छन् । जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि नेपालमा यसको असर सबैभन्दा बढी परिरहेको छ । तसर्थ, नेपालले जलवायु न्याय पाउनुपर्छ । हामीलाई जलवायुजन्य हानिनोक्सानीस्वरूप रकम उपलब्ध गराउनुपर्ने तथा जलवायु अनुकूलनको क्षमता बढाउनका लागि धनी तथा विकसित मुलुकले सहयोग गर्नुपर्छ भनेर पैरवी गरिरहेका छौँ । विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली अति नै महत्वपूर्ण हुन्छ । नेपाल, चीन र भारतबीच अन्तरदेशीय पूर्वसूचना प्रणालीमा सहकार्य गर्ने कुरा अघि बढेको थियो । त्यो विषय अहिले कहाँ पुगेको छ ? पूर्वसूचना प्रणालीकै कारण गत वर्ष धेरै स्थानमा नागरिकको जीउधनको रक्षा भएको छ । अन्तरदेशीय पूर्वसूचना प्रणालीमा सहकार्यका बारेमा जेनेभामा आयोजित ‘ग्लोबल प्लाटफर्म फर डिजास्टर रिस्क रिडक्सन’ (डिपिडिआरआर) को बैठकमा कुरा राखेका छौँ । सन् २०१५ को एक अध्ययनअनुसार ४७ वटा हिमताल विस्फोटका नजिक छन् । त्यसमध्ये २५ वटा चीनमा, २१ वटा नेपालमा र एक वटा भारतमा पर्छ । अब २५ वटा तालमा के भइरहेको छ भन्ने कुरा हामीले पूर्वसूचना पाएनौँ भने नेपाली नागरिकको जीउधनको रक्षा गर्न सक्दैनौँ । नेपाल छिरेपछि मात्रै हामीले थाहा पाउने भयौँ । यही कुरा मैले डिपिडिआरआरका प्रमुखलाई राखेपछि उहाँले चिनियाँ पक्षसँग भेट गराउनुभयो । चिनियाँ पक्षसँग मैले विषय राखेँ । तपाईहरूसँग सूचना र प्रविधि पनि छ । नेपाली नागरिकलाई जोगाउनका लािग पूर्वसूचना चाहिन्छ भनेर कुरा राखेपछि उहाँहरूले त्यो सम्बन्धमा चिनियाँ सरकारसँग छलफल गर्ने बताउनुभयो । संयुक्त राष्ट्र सङ्घको विपद् व्यवस्थापनसम्बन्धी निकायको यस क्षेत्र हेर्ने अधिकारीको नेपाल भ्रमणका क्रममा छलफल भएको छ । यसका लागि नेपालस्थित विपद्सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय निकाय र प्राधिकरणका प्रतिनिधिले संयुक्त प्रस्ताव बनाएर चीन सरकारलाई पठाउने तयारी भइरहेको छ । समन्वयका लागि युएनडिआरआरलाई अघि राख्न खोजेका छौँ । संयुक्त राष्ट्र सङ्घीय निकायको माध्यमबाट हुँदा काम छिटो चाँडो होला भनेर त्यसो गर्न लागेको हौँ । गृहमन्त्रालयबाट परराष्ट्र मन्त्रालय हुँदै नेपाल सरकारले चिनियाँ पक्षसँग छलफल गर्नेछ । छिमेकी राष्ट्रका विपद् व्यवस्थापनसम्बन्धी निकायसँग प्राधिकरणको छलफल हुन्छ कि हुँदैन् ? विभिन्न क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चमा विपद्सम्बन्धी छलफल भइरहेको हुन्छ । विपद्का समयमा सबै छिमेकी मुलुकले नेपालमा विभिन्न सहयोग गरिरहेका हुन्छन् । नेपालका सुरक्षा निकायलाई विपद् व्यवस्थापनमा सबल र सक्षम बनाउँदै उनीहरूलाई अन्तरराष्ट्रिय विपद् प्रतिकार्यमा खटाउने सम्भावना कस्तो रहन्छ ? विपद्मा जाने टिमले इन्टरनेशनल सर्च एण्ड रेस्क्यू एडभाइजरी ग्रुप (इन्साराग) सम्बन्धी मापदण्ड पूरा गर्नुपर्छ । त्यो मापदण्डमा नपुग्दासम्म नेपालले मेडिकल सहयोग गर्ने मात्रै हो । जस्तै केही समयअघिको भूकम्पमा म्यानमारमा नेपाली सेनाको स्वास्थ्य टोली सहयोगका लागि गएको थियो । अहिले तत्कालै हाम्रा सुरक्षाकर्मी त्यस्ता विपद्मा जाने अवस्था छैन । त्यसका लागि अहिले इन्साराग गाइडलाइन बनाउँदैछौँ । त्यो गाइडलाइन कार्यकारी समितिबाट पास भइसकेको छ । कार्यकारी परिषद्बाट पास भएर कार्यान्वयनमा आएपछि सर्च एण्ड रेस्क्यू टिम तयार हुन्छ । त्यसका लागि केही पाठ्यक्रम पास भइसकेको छ । परिषद्बाट इन्सारागमा जाने भनिसकेपछि सबै पाठ्यक्रम पारित गरेर नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीबाट त्यसअनुसारको टिम बनाइन्छ । यसबाट अहिले अन्तरराष्ट्रिय क्षेत्रमा शान्ति स्थापनार्थ नेपाली सेनाको जुन पहिचान छ, त्यसैगरी विपद्को समयमा नेपाली सुरक्षाकर्मी आयो भने उद्धार गर्छ भनेर राष्ट्रको प्रतिष्ठा बढ्छ । अर्को, विभिन्न परिस्थितिमा काम गरेर आइसकेपछि उहाँहरूको विशेषज्ञता पनि बढ्छ । यसबाट जस्तुसकै विपद् पर्दा उद्धार गर्न सहयोग पुग्छ । यही कारणले नेपाल इन्सारागमा सहभागी हुन खोजेका हौँ । अन्त्यमा, यहाँको सन्देश के छ ? हामी सबै प्रकारका विपद्को उच्च जोखिममा छौँ । पूर्वतयारीमा हाम्रो ध्यान पुगेकै छैन । जहिले पनि विपद् आउँदा सबैभन्दा पहिलो ‘रेस्पोन्स’ गर्ने भनेको स्थानीय समुदायले नै हो । विसं २०७२ को भूकम्पलाई हेर्ने हो भने पनि ८० प्रतिशत उद्धार स्थानीयले गरेको छ । उन्नाइस प्रतिशत उद्धार नेपाली सुरक्षाकर्मी र एक प्रतिशत अन्तरराष्ट्रिय सुरक्षाकर्मीले गरेको हो । अर्थात् पहिलो ‘रेस्पोन्डर’ स्थानीय समुदाय हो । स्थानीय समुदायभित्र जनचेतना जगाउन सक्यौँ र उहाँहरूलाई आवश्यक पर्ने आधारभूत सीप दिन सक्यौँ भने विपद् व्यवस्थापन प्रभावकारी हुन्छ । विपद्को सूचना सङ्कलन गर्ने, समुदायमा प्रवाह गर्ने, जटिसक्दो छिटो सुरक्षित स्थानमा भेला हुने गरी स्थानीय समुदायमै पूर्वतयारी गर्नुपर्छ । विपद्का समयमा आवश्यक पर्ने आधारभूत सामग्रीको जोहो समुदायले नै गर्नुपर्छ । स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने हो भने विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । विपद् प्रतिरोधी पूर्वाधार निर्माण गर्नुपर्छ । विपद् जुनसुकै बेला आउन सक्छ, विपद् रोक्न सकिँदैन । त्यसपछि क्षतिपूर्ति दिने राज्यको दायित्व हो, तर विपद्सँग जुध्नसक्ने समुदाय हामीले निर्माण गर्न सक्नुपर्छ । यति हुँदा मात्रै विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । रासस