सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले एकल अग्रता बनाएका छन् । समग्रमा १६-अन्डर २ सयको स्कोरमा राहुलले साविक विजेता तथा भारतीय गल्फ टुर खेलिरहेका सुबाश तामाङलाई एक स्ट्रोकले पछि पारे। राहुलले आज ६-अन्डर ६६ स्कोर गरे । पहिलो दिनका संयुक्त लिडर सुबाशले आज बोगी रहित ५-अन्डर ६७ को स्कोर जोडे । समग्रमा उनले १५-अन्डर २ सय १ स्कोर बनाएका छन् । एमेच्योर सदभाव आचार्यले बुधबार ५-अन्डर ६७ को नतिजा निकाले । समग्रमा १३-अन्डर २ सय ३ स्कोरका साथ उनी तेस्रो स्थानमा छन् । समग्रमा ११-अन्डर २ सय ५ को स्कोरमा निरज तामाङ र भुवन नगरकोटी संयुक्तरुपमा चौथो स्थानमा रहे । भुवनले आज दिनकै उत्कृष्ट ८-अन्डर ६४ को स्कोर दर्ज गरे । निरजले ४-अन्डर ६८ मा खेल पुरा गरे । भुटानका निम दोर्जी तामाङ समग्रमा ८-अन्डर २ सय ८ सहित छैटौं स्थानमा छन् । उनले आज २-अन्डर ७० खेले । उनी एमेच्योरतर्फ भने तेस्रो स्थानमा छन् । समग्रमा ७-अन्डर २ सय ९ सहित दिनेश प्रजापति सातौं स्थानमा रहने क्रममा आज ४-अन्डर ६८ को नतिजा निकाले । समग्रमा ३-अन्डर २ सय १३ सहित शुक्र बहादुर राई, सञ्जय लामा र रबि खड्का आठौं स्थानमा रहे । आज शुक्रले ३-अन्डर ६९, सञ्जयले २-अन्डर ७० र रबिले १-अन्डर ७१ को स्कोर बनाए । लिडर राहुलले आज फ्रन्ट नाईनमा बोगी रहित ५-अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे । उनले पहिलो देखि तेस्रो तथा छैटौं र सातौं होलमा गरी कुल ५ बर्डी प्रहार गरे । यसपछि ११औं होलमा १ सट खेर फाल्दा १५औं र १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए । सुबाशले फ्रन्ट नाइनमा ३-अन्डर ३३ र ब्याक नाइनमा २-अन्डर ३४ खेले । यो क्रममा उनले तेस्रो, चौथो, नवौं, बार्हौं र तेर्हौ होलमा बर्डीको सफलता प्राप्त गरे । सदभावले दोस्रो, तेस्रो, सातौं र नवौं होलको बर्डीले फ्रन्ट नाइन ४(अन्डर ३२ मा सकाए । यसपछि ११औं होलमा डबल बोगी खेपे । तर लगत्तै १२औं होलमा इगलको सफलता प्राप्त गरे भने १८औं होलको बर्डीले ब्याक नाइन १-अन्डर ३५ मा सकाए । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित चार दिने प्रतियोगितामा हालसम्मकै सर्वाधिक १६ लाख नगद पुरस्कार राशी रहेको छ । विजेताले उपाधि सहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने खेलाडीले १ लाख ८५ हजार, तेस्रोले १ लाख २५ हजार, चौथोले १ लाख ५ हजार र पाँचौं हुनेले ९२ हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र रहने सबै प्रोफेसनल खेलाडी नगद पुरस्कारको हकदार बन्नेछन् । चार दिने प्रतियोगितापछि असार ७ गते (शनिबार) प्रो-एम प्रतियोगिता हुनेछ । जहाँ २५ जना प्रोफेसनल र १०० जना कर्पोरेटस्तरका एमेच्योर खेलाडीले भाग लिनेछन् ।
‘महाभोज’ले उठायो सहकारी ठगीको सामाजिक यथार्थ, दर्शकहरू भावुक र आक्रोशित
काठमाडौं । सहकारी ठगीको पीडा र त्यसले सिर्जना गरेका चुनौतीहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली फिल्म ‘महाभोज’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ। राजधानीमा सोमबार विशेष प्रदर्शन गरिएको यस फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ। फिल्मले सहकारी संस्थाहरूमा हुने ठगी र भ्रष्टाचारलाई उजागर गर्दै नेपालको आर्थिक अवस्था र सामाजिक पक्षलाई छुन खोजेको छ। हेर्नेहरूले फिल्मले मात्र मनोरञ्जन नभई शिक्षाको पनि काम गरेको बताएका छन्। एक दर्शकले भने, ‘चलचित्रले समाजमा भएको अन्यायलाई यति नजिकबाट देखायो कि म भावुक भएको छु।’ विशेष शोमा सहभागी साहित्यकार अमर न्यौपानेले फिल्मले कानूनी व्यवस्थाको कमजोरीमाथि प्रश्न उठाएको टिप्पणी गरे। ‘संविधान र कानूनका कारण हामी लोकतान्त्रिक गणतन्त्रमा छौं तर सहकारी पीडितलाई न्याय नपाएको अवस्था फिल्मले देखायो। यो यथार्थले हामीलाई सोच्न बाध्य पार्छ,’ उनले भने। अभिनेता हरिवंश आचार्यले भने, ‘जनताको पैसा कसरी दुरुपयोग हुन्छ भन्ने कुरा फिल्मले अत्यन्त स्पष्ट देखाएको छ। नेताहरूको भ्रष्टाचारलाई पर्दामा ल्याएको छ।’ सरोज खनालले फिल्मको सन्देशलाई गहिरो ठहर गर्दै भने, ‘गोली चलाएर मान्छे मारेको भन्दा मर्न बाध्य बनाउनेलाई ठूलो हत्यारा मान्नु पर्छ। ‘महाभोज’ले यही कुरा उजागर गरेको छ।’ फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने लगायतका कलाकारहरूले अभिनय गरेका छन्, जसले कथालाई प्रभावकारी बनाएको छ। जितु नेपालले फिल्मको विषयवस्तु मार्मिक र सत्यतामा आधारित रहेको बताए । ‘महाभोज’ले नेपाली समाजका गम्भीर समस्यालाई पर्दामा ल्याएर दर्शकलाई सोच्न प्रेरित गरेको छ र यसले नेपाली सिनेमा क्षेत्रमा नयाँ मिसिल कायम गरेको छ ।
तेस्रो सुपर ओभरमा नेदरल्याण्ड्ससँग नेपाल पराजित
काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्याण्डससँग पराजित भएको छ । स्कटल्याण्डको टिटउट रङ्गशालामा सम्पन्न खेलमा नेपाल नेदरल्याण्डसँग तेस्रो सुपर ओभरमा पराजित भएको हो । खेलको निर्धारित २० ओभरको खेल टाई भएपछि त्यसपछिका दुई सुपर ओभर पनि टाई भएको थियो । तेस्रो सुपर ओभरमा भने नेदरल्याण्ड्सले नेपाललाई पराजित गरेको हो । पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएर २० रनको लक्ष्य दिँदा जवाफमा नेदरल्याण्ड्सले पनि १९ रन बनाएको थियो । त्यसैगरी दोस्रो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १७ रन बनाएको थियो । जवाफमा नेपालले पनि १७ रन जोडयो र खेल फेरी तेस्रोपटक सुपर ओभरमा पुग्यो । तेस्रो सुपर ओभरमा भने नेपालले रन जोड्न सकेन । पहिलो बलमा कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंह त्यसपछि दुई बल डट खेलेर चौथो बलमा आउट भए । एक रनको लक्ष्य पाएको नेदरल्याण्ड्सले पहिलो बलमा छक्का प्रहार गरेर जितेको हो । त्यसअघि निर्धारित २० ओभरको खेलमा एक सय ५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ३५ बलमा सर्वाधिक ४८ रन बनाए । त्यस्तै कुशल भूर्तेलले ३४ तथा रुपेश सिंहले १९ रन जोडे । नेपालले जितका लागि अन्तिम बलमा पाँच रन आवश्यक थियो । तर नन्दन यादवले काइल क्लेनका बलमा चौका प्रहार गरेपछि खेल टाई भएको थियो । नेदरल्याण्ड्सका डानियल डोरामले तीन विकेट लिए भने विक्रमजित सिंहले दुई विकेट लिए । त्यस्तै काइल क्लेइन, बेन फ्लेचर र जाँच लायनले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि तेजा निदामनुरुले सर्वाधिक ३५ रनको योगदान दिए । उनले ३७ बलमा एक छक्का प्रहार गदै ३५ रन बनाएका हुन् । त्यस्तै विक्रमजित सिंहले ३० रन बनाए । उनले २९ बलमा दुई छक्काको सहयोगमा ३० रन बनाएका हुन् । सकिब जुल्फिकरले २५, माइकल लेभिट २० तथा म्याक्स ओ डाउडले १९ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादवले दुई तथा कुशल भूर्तेल र ललित राजवंशीले समान एक/एक विकेट हात पारे । यस सिरिजअन्तर्गत हिजो भएको पहिलो खेलमा भने नेदरल्यान्ड्स स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो ।