‘सुरक्षा थ्रेट’ बढाउँदै लुटिएका हतियार र भागेका कैदी

काठमाडौं । जेनजी आन्दोलनमा लुटिएका हतियार र जेलबाट भागेका कैदीहरुले सुरक्षा चुनौती थपेका छन् । सरकारले आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको बेला थप सुरक्षा चुनौती बढेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।  गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा देशभरबाट १ हजार २४७ हतियार लुटिएका थिए । यी हतियारमध्ये ३०३ वटा राइफलहरू हालै झापाको दमकमा फेला परेका छन् । तर, अझै पनि ९०० भन्दा बढी हतियार हराइरहेका छन । जसले सुरक्षा निकायको लागि गम्भीर चिन्ता उत्पन्न गरेको छ । प्रहरीका अनुसार अझै ९ सयभन्दा बढी हतियार हराएका छन् । यस घटनाले सुरक्षा गम्भीर असर पु¥याएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।  यस्तै, देशभरका विभिन्न कारागारबाट १३ हजार ५५८ कैदी फरार भएकोमा अहिले सम्म ७ हजार ७३५ कैदी मात्रै फर्किएका र  पुनः पक्राउ परेका छन् । विभिन्न अभियोगमा कैद भुक्तान गरिरहेका ५ हजार ८२३ कैदिबन्दी अझै फरार छन् ।  केहीले स्वेच्छाले आत्मसमर्पण गरे भने केहीलाई सुरक्षा बलले पक्राउ गरेपनि यस घटनाले देशैभरि सुरक्षा चुनौती सिर्जना गरेको हो ।  आगामी निर्वाचन र दलहरुका सार्वजनिक गतिधिहरुमा यी घटनाहरूको प्रभाव गम्भीर हुन सक्छ । पूर्वडिआईजी अशोक श्रेष्ठले इन्सास, एसएलआर, जिएसजी र वेव्ली एण्ड स्कट ग्रेनेड लन्चर जता घातक हतियार समाजमा रहनु सुरक्षका लागि ठूलो चुनौती भएको बताएका छन् । विज्ञहरुले समयमा हतियार नियन्त्रण र फरार कैदीलाइ पक्राउ नगरे राजनीतिक गतिविधीमा कमी आउने र मतदानमा सर्वसाधारण सौहार्द वातावरण नभएर सहभागी नहुने चिन्ता व्यक्त गर्छन् ।  गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सुरक्षा समितिको बैठकमा यस बिषयमा व्यापक छलफल भएको बताएका छन् । उनले सौहार्द वातावरणमा निर्वाचन गर्न सरकार लागिपरेको बताए ।  यी हुन् लुटिएका हतियार -INSAS 1B1 राइफल भारतीय डिजाइनमा आधारित, 5.56×45mm क्यालिबरको राइफल  –SLR (सेल्फ लोडिङ राइफल): 7.62×51mm क्यालिबरको पुरानो डिजाइनको राइफल  –303 राइफल ब्रिटिश डिजाइनको, 7.7mm क्यालिबरको राइफल –GSG-522 कार्बाइन 22 क्यालिबरको सेमिअटोमेटिक कार्बाइन  –Webley & Scott Schermuly 37mm ग्रेनेड लञ्चर– कम दूरीका लक्ष्यमा प्रहार गर्न प्रयोग हुने  -Ishapore 1A1 राइफल भारतीय डिजाइनको, 7.62×51mm क्यालिबरको राइफल –Lee-Enfield राइफल ब्रिटिश डिजाइनको, 7.62mm क्यालिबरको राइफल  –पिस्तोल र ग्यास गनहरू– नजिकको दूरीका लागि प्रयोग हुने 

पूर्वएआईजी देवेन्द्र सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध गलत प्रचार गरेको आरोपमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ। 'सुवेदीले विभिन्न सामाजिक सञ्जालमार्फत प्रचण्डको निवासमा घर जलाइने घटनाअघि दुई करोड रुपैयाँ दुई ट्रकमा लुकाइएको जस्ता पूर्णतया गलत र तथ्यहीन समाचार प्रचार गरिरहेका छन्,' उजुरीमा उल्लेख छ । झुटो सामग्री फैलाएर भ्रम सिर्जना गर्नुका साथै चरित्रहत्या समेत भएको उजुरीमा जनाइएको छ। डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग संयोजकको सचिवालयले गरेको छ । उजुरीमा सुवेदीले संयोजक  दाहाल निवासबाट घर जलाइनुभन्दा दुई दिन पहिले नै दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाएको कुरा गलत र तथ्यहीन भएको  उल्लेख छ ।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते गर्ने तयारी अगाडि बढेको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत शुक्रबार निर्वाचन आयोगका आयुक्तहरूसँग छलफल गरेका थिए । आयोगका आयुक्तहरूले यस अवसरमा निर्वाचन माघ ११ गते गर्ने तयारी रहेको जानकारी दिएका थिए । प्रधानमन्त्री सुशीला कार्कीले पनि यही असोज २१ गते आयोगका आयुक्तहरूसँग भेटघाट गर्दै निर्वाचन तयारीबारे छलफल गरेकी थिइन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त डा. जानकीदेवी तुलाधर र सगुन शमशेर जबरा उपस्थित थिए । आइतबार प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भएको भेटमा पनि राष्ट्रिय सभा निर्वाचनको तयारीबारे विस्तृत छलफल भएको थियो । यस क्रममा अध्यक्ष दाहालले आयोगसँगको भेटबारे जानकारी दिएका थिए ।