त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु
कीर्तिपुर । कीर्तिपुरस्थित क्रिकेट मैदानको प्यारापिटमा सिट जडान कार्य सुरु भएको छ । रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा बनाउन र रातमा खेल सञ्चालन गराउन गत फागुनदेखि काम सुरु भएको हो । यसको पहिलो चरणमा १० हजार दर्शक अट्ने गरी प्यारापिट निर्माण र आठ वटा फ्लडलाइट जडान गरिँदैछ । निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो सेतो खैरो हरियो नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् । प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।
आज आषाढ शुक्ल एकादशी, तुलसीको बिरुवा सारिँदै
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिक रूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ । वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ । तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ । चार महिनासम्म विधि पूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधि पूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।
देशभर ११ लाख २३ हजार सुकुम्बासी, भूमिहीन सुकुम्बासीको संख्या १ लाख ६७ हजार
काठमाडौं । भूमि समस्या समाधान आयोगले नेपालमा देशैभरि जम्मा ११ लाख २३ हजार ६५० सुकुम्बासी रहेको जनाएको छ । आयोगले वडास्तरमा संकलन गरी प्रारम्भिक रूपमा तयार पारेको तथ्याङ्कमा सुकुम्बासीहरूको उक्त संख्या देखिएको हो । आयोगका अध्यक्ष हरिप्रसाद रिजालका अनुसार सुकुम्बासीहरूको कुल संख्या बुझ्न सजिलो होस् भन्ने उद्देश्यले विभिन्न उपसमूहमा विभाजन गरिएको छ । सुकुम्बासीहरूलाई अव्यवस्थित वसोबासी, भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी तीन वर्गमा वर्गीकरण गरिएको छ । देशभरमा ८ लाख ६७ हजार ३५५ जना अव्यवस्थित बसोबासी रहेको तथ्याङ्कले देखाएको छ । आयोगका अध्यक्ष रिजालका अनुसार यस्ता बसोबासीलाई व्यवस्थापन गर्ने मापदण्डसमेत आयोगले बनाइसकेको छ । ‘अव्यवस्थित वसोबासीको हकमा अहिले उहाँहरू जहाँ बसिरहनुभएको छ, सोही स्थानमै उहाँहरूलाई उपलब्ध गराइनेछ । यसवापत यस्ता अव्यवस्थित बसोबासीले आफू बसेको जग्गामा राज्यले तोकेको राजस्व तिरेपछि उक्त जग्गा आफ्नो बनाउन सक्नेछन्,’ उनले भने । देशभरको कुल तथ्याङ्कमा भूमिहीन दलितको संख्या ८८ हजार ५०९ रहेको छ । उनीहरू बसेको स्थानको जग्गा उनीहरूलाई नै दिइने अध्यक्ष रिजालले बताए । तर उक्त जग्गा बाढी, पहिरो जोखिमयुक्त, विद्यालय, वा कसैको निजी जग्गा परेमा त्यसको वैकल्पिक व्यवस्थापन पनि गरिने जनाइएको छ । भूमिहीन सुकुम्बासीहरूको संख्या १ लाख ६७ हजार ८०६ रहेको छ । उनीहरूको पनि उपयुक्त स्थान खोजी व्यवस्थापन गर्ने गरी आयोगले गृहकार्य गरिरहेको छ । नेपालमा सबैभन्दा धेरै भूमिहीनको संख्या भएको जिल्ला कैलाली रहेको छ। अध्यक्ष रिजालका अनुसार १ लाख ३० हजार सुकुम्बासी कैलालीमा रहेका छन् । दोस्रोमा रुपन्देही रहेको छ जहाँ ७६ हजार ६५७ जना सुकुम्बासी रहेका छन् । तेस्रोमा दाङ रहेको छ जहाँ ७० हजार ३८९ जना सुकुम्बासी रहेको आयोगले उपलब्ध गराएको तथ्याङ्कले जनाएको छ । झापामा ५१ हजार ८८८ जना सुकुम्बासी रहेका छन् । यसैगरी बाँके र बर्दियामा क्रमशः ४६ हजार ५५२ जना र ४५ हजार ६०८ जना सुकुम्बासी रहेका छन् ।