किसान भन्छन् - देशमै पर्याप्त छ, तिहारमा फूल आयात गर्नुपर्ने अवस्था छैन

काठमाडौं । नेपालीहरूको महान पर्व तिहार नजिकिँदै गर्दा बजारमा मखमली र सयपत्री फूलको माग तीव्र रुपमा बढेको छ । झिलिमिली बत्ती, देउसी भैलो र फूलमालाको रौनकले सजिने यो पर्वमा फूल व्यवसाय समेत फस्टाउँदै गएको देखिन्छ । तिहारमा मखमली फूललाई विशेष महत्व दिइन्छ ।  अर्कोतर्फ सयपत्री फूल मन्दिर, घर र पूजापाठहरुमा प्रयोग हुने भएकाले यसको माग झनै उच्च हुन्छ । यही मागलाई मध्यनजर गर्दै मकवानपुरका कृषक परम्परागत खेती छाडेर व्यवसायिक फूल खेतीतर्फ आकर्षित हुँदै गएका छन् । हेटौँडा उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडा, मनहरी, थाहा नगरपालिका लगायतका क्षेत्रहरूमा सयपत्री र मखमली फूल खेती विस्तार भइरहेको छ ।  अघिल्ला वर्षहरूमा प्रायः घरहरुमै आफूलाई आवश्यक फूल उत्पादन हुन्यो । तर यस वर्ष तिहार चाँडो परेकाले गाउँघरमा फूल उत्पादन पर्याप्त नभएको र यस्तो अवस्थामा व्यावसायिक फूल खेती गर्ने किसानहरु राम्रो आम्दानी हुने आसामा रहेका छन् । फूल उत्पादनले आत्मनिर्भरता त बढाएको छ नै साथै आयात प्रतिस्थापनमा समेत योगदान पुर्याइरहेको छ । नेपालमा माग धान्न अघिल्ला वर्षहरूमा भारतबाट फूल आयात गरिन्थ्यो । तर अहिले स्थानीयस्तरमै उत्पादन बढ्न थालेपछि आयात गर्न नपर्ने र सरकारले बजार व्यवस्थापन गरे नेपालमै हाल प्रशस्त फुल उत्पादन गरीएको हुँदा माग धान्न सकिने नेपाल सयपत्री फूल उत्पादक संघका अध्यक्ष बालकृष्ण चौलागाईंले बताए ।  देशभरमा सबैभन्दा बढी काठमाडौं उपत्यकाका सयपत्री र मखमली फूलको खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ । देशभरमा झन्डै पचास लाख रुपैयाँभन्दा बढीको फूलको कारोबार तिहारको समयमा हुने गर्छ । काठमाडौंमा त्यसको ६० प्रतिशत फूल खपत हुन्छ । विगतका वर्षहरुमा ७५ प्रतिशत फूल नेपालमै उत्पादन हुने र २५ प्रतिशत फूल भारतबाट आयात गर्ने गरिएको थियो ।  तिहार पर्वसँगै देशभर फूलको माग उच्च हुँदै गएको बेला कृषकले व्यावसायिक फूल खेतीबाट कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याइरहेका छन् ।  

नेपालको अपराजित यात्रा, ओमानलाई ३८ रनले हरायो

काठमाडौं । आइसीसी टी-२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ ।  ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान २/२ विकेट लिए ।  सन्दीप लामिछानेले एक विकेट लिए । त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा २ चौका र १ छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले २ छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए ।  ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान २/२ विकेट लिए । यसअघि नै टी-२० विश्वकपमा स्थान बनाइसकेको नेपाल ८ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।  दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ । अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ ।

चौथो ‘एनिभर्सरी’ मनाउँदै टेनएक्स क्लब, नेपाली र अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति

काठमाडौं । क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको छ । असोज ३० गते बिहीबार ठमेलमा रहेको नाइट क्लब टेन एक्सले चौथो एनिभर्सरी मनाउने भएको हो । वार्षिकोत्सवमा विभिन्न सांगीतिक समूह तथा कलाकारले आफ्नो प्रस्तुती दिने भएका छन् । दि जेनसीस ब्याण्ड,स्पाइसी एन्जल्सको प्रस्तुती र अन्तर्राष्ट्रिय डिजे समर्न, डिजे रह्न र डिजे नानीको समेत प्रस्तुती रहने  छ । विगतका वार्षिकोत्सव जस्तै गरेर यस वर्ष पनि भव्य र सभ्य बनाउने गरी तयारी गरिरहेको  क्लबका सीईओ पौरख मर्दन बस्न्यातले जानकारी दिए । चार वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लब टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को प्रस्तुती दिदैँ आएको छ । ‘तीन वर्षको अवधिमा हामीले पार्टीको चाहना राख्नेहरूको इच्छा पूरा गर्दै आएका छौँ,’क्लबका सीईओ बस्न्यात भन्छन् । उनका अनुसार क्लबमा ५० भन्दा बढी कर्मचारी कार्यरत छन् । क्लब टेन एक्समा नेपालका चर्चित डिजे तथा गायक-गायिकाले प्रस्तुति दिएका थिए । गायक अनिल सिंह, कालीप्रसाद बास्कोटा र एकदेव लिम्बू जस्ता थुप्रै नेपालका कलाकारले आफ्नो प्रस्तुती दिइ सकेका छन् ।