केराबारीबाट ५५ राउण्ड गोली बरामद

भद्रपुर । यहाँको कमल गाउँपालिका–७ रङ्गपुर स्थित केराबारीबाट ५५ राउण्ड गोली फेला परेको छ । स्थानीय ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले गएराति केराबारीमा सेतो बोरामा गोली फेला पारेको बारे जानकारी गराएपछि गोली बरामद गरिएको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।   पाण्डेको सूचनाअनुसार आज बिहान इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा एसएलआर राइफलका ५५ राउन्ड गोली बरामद गरेको उनले बताए । 

दर्ता नभएका पशु औषधि आयात गरेको आरोपमा कम्पनी सञ्चालक पक्राउ

काठमाडौं । दर्ता नै नभएका पशु औषधि अवैध रूपमा आयात गरेको आरोपमा कान्तिपुर भेट डिष्ट्रीब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छिन् । नेपाल प्रहरीले जनाएको अनुसार, सुवेदीले भन्सार शुल्क लाग्ने गरी औषधि आयात गर्न सिफारिस पत्र कीर्ते बनाएर अवैध रूपमा पशु औषधि भित्र्याएको आरोपमा पक्राउ गरिएको हो । कानुनी प्रक्रिया अन्तर्गत लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भइसकेको र त्यसकै आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सुवेदीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हिजो (शुक्रबार) काठमाडौंको शंखमुलबाट उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

नेपालमा गैरआवासीय नेपालीहरूको एक खर्ब लगानी भित्रियो : एनआरएनए

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालमा करिब एक खर्ब बराबरको लगानी भित्रयाएको छ । एनआरएनएले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो तथ्यांक सार्वजनिक गरेको हो ।  आफ्नो २२ औं स्थापना दिवसको अवसर पारेर आयोजित्र पत्रकार सम्मेलनमा बोल्दै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले नेपालको अर्थतन्त्रमा ठूलो सुधार ल्याउनका लागि आफूहरुले जोड दिएको बताए । उनले गैरआवासीय नेपालीहरुले आफूले सिकेको सीपको पनि नेपालमा अधिकतम उपयोग गर्न सक्दो प्रयास गरिरहेको बताए । नेपालमा आफूहरु लगानी बढाउन प्रतिवद्ध रहेको पनि अध्यक्ष केसीको भनाई थियो । उनले भने,  ‘हामीले कमाएको केही अंश मात्रै पनि नेपालमा पठायौ भने नेपालको अर्थतन्त्रमा धेरै ठूलो सुधार हुन्छ र गर्न सकिन्छ भन्ने हाम्रो पहिलो एजेण्डा हो । अहिलेको अवस्थामा नेपालमा १ खर्ब भन्दा बढि गैरआवासीय नेपालीहरुको शिक्षा क्षेत्रमा, बैकिङ क्षेत्रमा, कृषि क्षेत्रमा, हाइड्रो क्षेत्रलगायतका विभिन्न क्षेत्रमा लगानी छ । यदि नेपालमा कुनै पनि दुर्गम ठाउँमा पनि आधुनिक, सफा क्याफे देख्नुहुन्छ भने त्यो गैरआवासीय नेपालीले खोलेको छ ।’ एनआरएनले आफूहरुले विश्वभर नेपालको पहिचान दिलाउन महत्वपूर्ण योगदान दिएको पनि दाबी गर्दै आएको छ । अध्यक्ष केसीले राजदुतावास नभएको ठाउँमा पनि नेपालीहरुले आफ्नो देशको पहिचान गराउने काम गरेको जिकीर गरे ।