नेपाल कतारसँग ४ विकेटले पराजित

काठमाडौं । आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनौटअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ । सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले कतारलाई जीतका लागि १२३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा कतारले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । यसरी, कतारको जीतमा इनाम उल हकले सर्वाधिक ४१ रन बनाए भने कम्रान खानले २२, जाहिर इब्राहिमले १२ तथा मुहमद तानभिरले ११ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसीले १ विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको साझेदारी गरे तापनि त्यो जितका लागि पर्याप्त भएन । कप्तान खड्काले व्यक्तिगत २८ बनाउँदा उपकप्तान मल्लले २३ रन जोडे । यस्तै, सोमपाल कामीले ११ सन्दीप लामिछानेले ९ तथा शरद भेषवाकरले ७ रन जोडे । कतारका इकबाल हुसेनले ३ विकेट लिए भने तमोर साजाद र नुमान सर्वारले दुई/दुई विकेट लिए । इनवाल हुसेनको नाममा भने एक विकेट रह्यो । अब नेपालले आफ्नो दोस्रो खेल भोलि मलेसियासँग खेल्नेछ । यसखेलसँगै दुई खेल खेलेको कतारको यो पहिलो जीत हो । हिजो भएको पहिलो खेलमा कतार सिङ्गापुरसँग ३३ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनौटमा सहभागिता जनाउनेछन् । रासस

पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने

कास्की । पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा  उक्त प्रतियोगिता गर्न लागेकाे हाे । कम्युनिष्ट पार्टी (नेकपा) कास्की तथा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको आयोजनामा पोखरा–८ बगालेटोलस्थित सोंपाल समाज भवनमा ‘प्रथम पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ गर्न लागिएको सङ्घका अध्यक्ष सञ्जीबहादुर कोइरालाले बताएका छन् । विगतका वर्षमा प्रदेश तथा जिल्लास्तरीय प्रतियोगिता गरिएकामा यसवर्षदेखि राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागिएको र यसबाट सङ्घीय सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० तथा प्रदेश सरकारको आन्तरिक पर्यटन वर्षलाई सफल बनाउन टेवा पुग्ने विश्वास आयोजकको छ । गत वर्षसम्म खुला र भेट्रान्सतर्फ गरी चार इभेण्टमा प्रतिस्पर्धा गराइएकामा यस वर्षदेखि पुरुष डबल्स राष्ट्रिय इभेण्ट पनि थपिएको छ । राष्ट्रियतर्फ ४५ प्लस भेट्रान्स तथा ५५ प्लस खुला र गण्डकी प्रदेशस्तरीय पुरुष डबल खुल्ला तथा पुरुष डबल्स खुला कास्की जिल्लास्तरीय गरी पाँच इभेण्टमा प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ । राष्ट्रिय खुल्लामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः रु ५० हजार, ३० हजार तथा रु १० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्नेछन् भने खुल्ला गण्डकीस्तरीय ४५ प्लसमाथि प्रथम, द्वितिय र तृतीय हुने समूहले क्रमशः नगद रु ३० हजार, २० हजार, १० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैगरी, ५५ प्लस भेट्रान्स खुल्लातर्फ प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः नगद २० हजार, १५ हजार र १० हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने प्रतियोगिता प्रचारप्रसार समितिका संयोजक लक्ष्मण न्यौपानेले जानकारी दिएका छन् । प्रतियोगितामा २६० खेलाडीले भाग लिने अनुमान गरिएको छ । रासस

तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने

काठमाडौं । असोज १० र ११ गते कपिलवस्तुको तिलौराकोटमा ‘कपिलवस्तु श्री राष्ट्रिय खुल्ला शारिरीक सुगठन प्रतियोगिता–२०७६’ हुने भएको छ । शारिरीक सुगठन तथा फिटनेश संघले उक्त कार्यक्रमको आयोजना गरेको हो । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजकले यस्तो जानकारी गराएको हो । कपिलवस्तुको तिलौराकोटलाई विश्वभरि चिनाउने उद्देश्यले गर्र्न लागिएको उक्त प्रतियोगितामा कम्तिमा पनि एक सय जनाले प्रतिष्पर्धा गर्नेछन् । ६ तौल समूहमा (५५, ६०, ६५, ७०, ७५, ७५+) गराईने प्रतियोगिताकै विजेता हुनेलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरिनेछ । यसरी, उक्त प्रतियोगितामा आफ्नो वजन समूहमा विजेता हुनेहरुलाई क्रमशः पन्ध, दश र पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिने पनि संघका अध्यक्ष जीवन गिरीले जानकारी दिएका हुन् । प्रतियोगितामा जम्मा १३ लाख लाग्ने बताउँदै गिरीले अहिलेसम्म कार्यक्रम सफल तुल्याउनको लागि कपिलवस्तु नगरपालिकाले पाँच लाख सहयोग प्रदान गरिसकेको र अन्य संघ, संस्था र गाउँपालिकाहरुले पनि सहयोगको प्रतिबद्धता रहेको बताएका छन् ।