यू–१९ एशिया कप – नेपालले जित्यो टस
काठमाडौं । श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा घरेलु टोलीविरुद्वको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । श्रीलङ्काको आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्का विरुद्वको खेलमा जीत निकाल्ने आशासहित मैदानमा उत्रेको छ । तर, नेपालले श्रीलङ्कालाई अहिलेसम्म हराउन सकेको छैन । पछिल्ला पाँच खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । सन् २०१६ मा श्रीलङ्कामा नै भएको यू–१९ एशिया कपमा नेपाल आयोजक श्रीलङ्कासँग एक रनले पराजित भएको थियो । नेपालको प्लेइङ सेटमा रोहित पौडेल, रसिद खान, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, रीत गौतम, पवन सरार्फ, सूर्य तामाङ र हरिबहादुर चौहान रहेका छन् । रासस
नादेज्दा कपमा सहभागी हुने महिला फुटबल टोलीलाई बिदाइ
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कीर्गिस्तानमा आयोजना हुने ‘नादेज्दा कप २०१९’ फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली महिला फुटबल टोलीलाई आज बिदाइ गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेश सिलवाललगायत एन्फा पदाधिकारीले १८ खेलाडीसहित २४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । सो टोली बिहीबार कीर्गिस्तान प्रस्थान गर्नेछ । उक्त कपका लागि आयोजक कीर्गिस्तानसहित नेपाल, उज्वेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालले आयोजक कीर्गिस्तानसँग यही भदौ २२ गते खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ । त्यस्तै नेपालले दोस्रो खेल यही भदौ २३ गते उज्वेकिस्तानसँग र २४ गते ताजिकिस्तानसँग खेल्नेछ । लिगचरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको अन्तिम चरणको भदौ २६ गते हुनेछ । सहभागी १८ सदस्यीस्य टोलीमा एन्जिलातुम्बापो सुब्बा, अञ्जना राना मगर, पुनम जर्घामगर, हीराकुमारी भुजेल, अम्रिता जैसी, दीपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत, मञ्जलीकुमारी योञ्जन, सरु लिम्बू, सावित्रा भण्डारी, नीरु थापा, रेखा पौडेल, अनिता केसी, गीता राना, कविता धिमाल, विमला चौधरी र इन्दिरा राई छन् । त्यसैगरी, अन्य सहभागीमा मुख्य प्रशिक्षक हरि खड्का, सहायक प्रशिक्षक अरुणा गुरुङ, गोलरक्षक प्रशिक्षक अस्मिता खवास, फिजियोथेरापीस्ट नविना श्रेष्ठ, टोली चिकित्सक डङ्गोल महर्जन र व्यवस्थापक पेमाडङ्गोल लामा छन् । रासस
१३औँ सागका लागि ३५ क्रिकेट खेलाडी छनोट
काठमाडौं । आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडीको नाम आज सार्वजनिक गरेको हो । नेपाली टोलीको बन्द प्रशिक्षण भने यही भदौ १५ गतेदेखि शुरु हुनेछ । प्रारम्भिक टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदीप ऐरी, सुनिल धमला, शौरभ खनाल, ललित सिंह भण्डारी, विक्रम सोब, इशान पाण्डे र करण केसी छन् । त्यसैगरी, छनोट हुने अन्य सदस्यमा मोहम्मद आरिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन सरार्फ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आशिफ शेख, सुसन भारी, अनिलकुमार शाह र अभिनास बोहोरा छनोटमा परेका छन् । त्यस्तै, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, नन्दन यादव, रोहितकुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र शाहब आलम रहेका छन् । साग खेलकूद आगामी मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुँदैछ । रासस