नेपाली सेनाले लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठी गर्ने

काठमाडौं । सरकारको सन् २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५/७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिसकेको जानकारी दिएका छन् । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गर्दै उक्त कार्यलाई सफल तुल्याउन विभिन्न कार्यक्रमका साथ प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । प्रधानसेनापति थापाले भने, “नेपाली सेनाले पनि उक्त कार्यक्रमलाई सफल तुल्याउन केही योगदान गर्नुपर्छ भनेर बहुर्राष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथा आरोहण, जङ्गल सफारी र लामो पदयात्रा, उच्च तथा समथर भूभागमा सहासिक खेल ट्राइथलन र म्याराथनजस्ता प्रतियोगिता सञ्चालन गरिनेछ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यसम्बन्धी सेमिनार, गोरखाको ऐतिहासिक लिगलिगे दौड र प्यारा ग्लाइडिङजस्ता खेलकूदका माध्यमबाट नेपाल भ्रमणमा मित्रराष्ट्रका सेनालाई आकर्षण गरिने जनाउँदै प्रधानसेनापति थापाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सेनाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए । रासस

पोखरामा दक्षिण एशियाली खेलका लागि ह्याण्डबल प्रशिक्षणको शुभारम्भ

चिप्लेढुंगा । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत ह्याण्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन् । उक्त प्रशिक्षणमा परिषद्का सदस्य गुरुङले खेलाडीलाई शुभकामना दिँदै राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । गुरुङले तोकिएकै समयमा नेपालमा साग हुने बताएका हुन् । उनले खेलाडी र प्रशिक्षकलाई भत्तालगायतका सुविधा थप गर्न परिषद्ले गृहकार्य थालेको समेत जानकारी दिए । कार्यक्रममा नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुङले खेलाडीलाई आफ्नो अनुशासनमा रही पदक जितेर राष्ट्रिय गौरव बढाउन ह्याण्डबल खेलाडीलाई आग्रह गरेका छन् । सागअन्तर्गत बन्द प्रशिक्षणका लागि २८ महिला र २८ पुरुष गरी ५६ खेलाडी पहिलो चरणको छनोटमा परेका छन् । सागको महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा २०७६ मङ्सिर १५ देखि २४ सम्म हुनेछ । रासस

सिन्धुपाल्चोकमा तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन हुने

काठमाडौँ । गत वर्ष झैं यस वर्षपनि सिन्धुपाल्चोकमा तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ को आयोजना हुने भएको छ । ‘साहसिक खेलकुद हाम्रो अभियान,धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान’ भन्ने विषयलाई आत्मसात गर्दै खेलकूद विकास समिति सिन्धुपाल्चोकले साउन ३० गते तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ को आयोजना गर्ने भएको हो । खेलकुद विकास समिति र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजनाको बारेमा जानकारी गरेको हो । पोखरीको उचाईको हिसावले विश्वको नवौं स्थानमा पर्ने पाँचपोखरी क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न,धार्मिक साँस्कृतिक रुपले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन र नेपाल भ्रमण वर्ष २०२० लाई साथ दिन कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । समितिका अध्यक्ष टासी शेर्पाले कार्यक्रको आयोजनाले पाँचपोखरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सुधार र त्यस क्षेत्रलाई सबैले चिन्न र बुझ्न पाउने बताए । उनले कार्यक्रमको आयोजनाका लागि करिब १४-१५ लाख रुपैयाँ खर्च हुन सक्ने अनुमान गरेको बताए । प्रदेश नम्बर तीनका प्रदेशसभा सदस्य निमा लामाले पाँचपोखरी क्षेत्र धार्मिक एवमं साँस्कृतिक रुपले महत्वपूर्ण भएको बताउँदै यसको प्रचार प्रसार र संरक्षणले राज्यलाई धेरै नाफा पुगने बताए । उपत्यकाबाट सबैभन्दा नजिकको पर्यटकिय स्थल पाँचपोखरी र हेलम्बु भएको बताउँदै उनले यसको प्रवद्र्धनका लागि प्रदेश सरकारबाट हुन सक्ने सहयोग गर्न तयार रहेको बताए । यस्तै पूर्व कानुनमन्त्री तथा प्रतिनिधी सभा सदस्य शेर बहादुर तामाङले यस कार्यक्रमले पर्यटक बढाउन र मुलुकको सम्बृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै पाँचपोखरी साँच्चीकै स्वर्गिय ठाउँ भएको उल्लेख गरे । तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ को प्रतियोगितामा १ सय ५५ जनाले भागलिन सक्ने अनुमान आयोजकले गरेको छ । प्रतियोगितामा प्रथम धावकलाई पचास हजार, दोस्रोलाई तीस हजार, तेस्रोलाई बीस हजार, चौथोलाई दश हजार र पाँचौ हुने धावकलाई पाँच हजार पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिता पाँचपोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २१ किमीको रहेको जनाएको छ । प्रतियोगितामा विभिन्न संघ सस्थाले सहकार्यको भूमिका खेल्ने भएका छन् ।